विश्वव्यापी रूपमा सञ्चालन भइरहेको ‘ग्लोबल मनी विक २०२५’ को सन्दर्भमा नेपाल धितोपत्र बोर्डको तालिकाअनुरूप भिजन सेक्युरिटिज् प्रालिले मुलुकका विभिन्न स्थानमा वित्तीय साक्षरता र धितोपत्र कारोबारसम्बन्धी कार्यक्रमहरू सम्पन्न गरेका छन्।
स्टक ब्रोकर एशोसिएसन अफ नेपालको समन्वय र पाठ्यसामग्रीको आधारमा आयोजना गरिएका यस्ता कार्यक्रमहरू उपत्यका बाहिरका ९ तथा उपत्यकाभित्रका ३ शाखाबाट सम्पन्न गरिएको कम्पनीले जनाएको छ। यस वर्षको नाराअनुसार बालबालिका तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रम सामुदायिक र निजी विद्यालय तथा क्याम्पसमा केन्द्रित थिए।
चैत्र ५ गते भैरहवाको सनसाइन कलेजबाट सुरु भएका कार्यक्रम क्रमशः ईलाम, चन्द्रौटा, पोखरा, धनगढी, सुर्यविनायक, कावासोती, ललितपुर, वनेपा, दमौली र म्याग्दीका शैक्षिक संस्थाहरूमा सञ्चालन भएका थिए। कार्यक्रममा विद्यार्थीहरूलाई धितोपत्र बजार, शेयर कारोबार, वित्तीय योजना, लगानीको अवधारणा लगायतका विषयमा जानकारी दिइएको थियो।
यस किसिमका कार्यक्रमहरू धितोपत्र बजारको क्षेत्रीय विस्तार, युवाहरूमाझ वित्तीय सचेतना र साक्षरताको विकासमा सघाउ पुग्ने बताइएको छ। यद्यपि उपत्यका बाहिरका स्थानमा धितोपत्र कारोबारसम्बन्धी जानकारी न्यून भएकाले यस्ता प्रयासहरू अझ सघन र बारम्बार हुनुपर्ने सरोकारवालाहरूको भनाइ छ।
भिजन सेक्युरिटिज् प्रालिका प्रमुख सञ्चालन अधिकृत प्रकाश अधिकारीका अनुसार कम्पनीले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै शेयर बजारको विकासमा योगदान पुर्याउने तयारी गरिरहेको छ।