प्रविधिमा आधारित लजिस्टिक सेवा प्रदायक कम्पनी उपाय ले नेपालमा पहिलोपटक थर्ड पार्टी लजिस्टिक्स वेयरहाउस सेवा सुरु गर्ने घोषणा गरेको छ । कम्पनीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३, साँगामा आधुनिक वेयरहाउस निर्माण गर्न लागेको हो ।
चैत १० गते काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीले १ अर्ब २० करोड रुपैयाँ अनुमानित लागतको परियोजना सार्वजनिक गर्दै ९५ करोड रुपैयाँ को सहवित्तीयकरण कर्जा व्यवस्थापन सम्पन्न गरेको जानकारी दिएको हो । कर्जा व्यवस्थापन सिटिजन्स बैंक इन्टरनेसनलको नेतृत्वमा र माछापुच्छ्रे बैंकको सहकार्यमा गरिएको हो ।
सिटिजन्स बैंकले ५० करोड आवधिक कर्जा, ५ करोड बैंक ग्यारेन्टी र ५ करोड क्यास क्रेडिट गरी कुल ६० करोड, तथा माछापुच्छ्रे बैंकले ३५ करोड कर्जा लगानी गर्नेछ । बाँकी लगानी प्रवद्र्धक र अन्य लगानीकर्ताबाट जुटाइनेछ, जसमा डोल्मा इम्प्याक्ट फण्ड–२ लगायतले स्वपुँजीमा लगानी गर्नेछन् ।
उक्त वेयरहाउस १८ रोपनी (१ लाख वर्गफुट) क्षेत्रफलमा निर्माण हुनेछ, जसको ४५,००० वर्गफुट ग्राउन्ड कवरेज हुनेछ । यसले बिल्ट–टु–सूट, ई–कमर्स, खुद्रा व्यापार, वस्त्र, जुत्ता, सौन्दर्य सामग्री, अटो पार्ट्स लगायतका वस्तुहरूको भण्डारण सेवा दिनेछ ।
यो वेयरहाउस ग्रेड ए प्री–इन्जिनियरड बिल्डिङमा निर्माण गरिनेछ, जसमा भूकम्प प्रतिरोधी संरचना, हाई डेन्सिटी र्याकिङ, मल्टी–टायर सेल्भिङ र बिल्ट–टु–सूट सुविधा रहनेछ । निर्माण कार्य २०२५ अप्रिल देखि सुरु भई २०२६ को अन्त्यसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
कार्यक्रममा उपायका सह–संस्थापक रञ्जीव श्रेष्ठले नेपालको कुल गार्हस्थ उत्पादनको २० प्रतिशत लागत लजिस्टिक्स क्षेत्रमा जाने गरेको उल्लेख गर्दै प्रविधि, पूर्वाधार र दक्षताको माध्यमबाट त्यसलाई घटाउने लक्ष्य लिएको बताए ।
त्यसैगरी, नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी सन्तोष कोइरालाले लगानीयोग्य पैसा प्रशस्त भए पनि यस्ता ठूला परियोजनाहरूको अभाव रहेको बताउँदै उपायको पहलले आर्थिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा डोल्मा फन्ड, प्रगति इन्ट्रा सोलुसन्स, विभिन्न बैंक तथा विकास संस्थाका प्रतिनिधि, लगानीकर्ता र सम्भावित ग्राहकहरूको उपस्थिति रहेको थियो ।