सिरहामा अज्ञात समूहद्वारा ट्रान्सफर्मर चोरी, विद्युत् आपूर्ति अवरुद्द हुँदा दैनिकी प्रभावित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2025 | 08:22:42 AM मा प्रकाशित

nepal oil ltd

सिरहाको नवराजपुर गाउँपालिका–२ मा राखिएको महत्त्वपूर्ण विद्युतीय ट्रान्सफर्मर अज्ञात समूहद्वारा चोरी भएको छ । करिब चार वर्षअघि कमला सिँचाइ आयोजनाअन्तर्गत रु एक करोडभन्दा बढी लागतमा जडान गरिएको ५० एम्पियर क्षमताको ट्रान्सफर्मर बिहीबार राति चोरी भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।

स्थानीय बासिन्दा रामपुजन मुखियाले दिएको जानकारीअनुसार, विगतमा घर र पसलका साना चोरीका घटना भइरहँदा अहिले ट्रान्सफर्मरजस्ता महत्त्वपूर्ण पूर्वाधारसमेत चोरी हुन थालेपछि सर्वसाधारणमा त्रास बढेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले अज्ञात समूहले ट्रान्सफर्मर तोडफोड गरी बाहिरी फलामे भाग फालेर भित्रको तामा र बिजुलीका तारहरू चोरी गरेको बताए । घटनापछि प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र रूपमा अघि बढाएको छ ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार चोरीको तरिका हेर्दा विद्युतीय उपकरणसम्बन्धी तालिम प्राप्त वा दक्ष समूहको संलग्नता हुनसक्ने देखिएको छ । ट्रान्सफर्मर चोरीले उक्त क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुनुका साथै सिँचाइ तथा अन्य दैनिक क्रियाकलापमा समेत प्रभाव परेको छ ।

घटनापछि स्थानीय बासिन्दाहरूले सुरक्षित र प्रभावकारी निगरानी तथा चोरी नियन्त्रणका लागि सम्बन्धित निकायसँग तत्काल पहल गर्न माग गरेका छन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved