
तनहुँ जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य छिम्केश्वरीमा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययन सुरु गरिएको छ । छिम्केश्वरी पर्यटन विकास समितिको नेतृत्वमा तथा केडी मेटल वर्कसप काठमाडौँका इञ्जिनियरहरूको सहभागितामा आइतबारदेखि सम्भाव्यता अध्ययन थालिएको हो ।
समितिका अध्यक्ष कृष्णमान तामाङले समुन्द्री सतहदेखि दुई हजार १३४ मिटर उचाइमा रहेको छिम्केश्वरीमा मोनोरेल सञ्चालन गर्न सकिए तनहुँको पर्यटनमा नयाँ युगको सुरुवात हुने दाबी गरे । उनले छिम्केश्वरी माई मन्दिरसम्म अशक्त, अपाङ्गता भएका तथा वृद्धवृद्धालाई सहज यात्राको व्यवस्था मिलाउन छ सय मिटर दूरीमा मोनोरेल योजना अघि बढाइएको बताए । हाल पहिलो चरणमा नापजाँच कार्य अगाडि बढाइएको र लागतसहितको प्रारम्भिक प्रतिवेदन एक साताभित्र आउने जानकारी उनले दिए ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानले छिम्केश्वरीलाई प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार विकासमा प्राथमिकता दिइएको बताए । उनका अनुसार सडक स्तरोन्नति, खानेपानी अभावको समाधान, विद्युत् र मोबाइल नेटवर्क व्यवस्थापनमा पनि क्रमशः सुधार हुँदै गएको छ । खानेपानी आयोजना निर्माणका लागि करिब रु १० करोड बजेट विनियोजन भइसकेको र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी अन्तिम चरणमा रहेको उनले जानकारी दिए ।
वार्षिक एक लाख पर्यटक आउने तथ्याङ्क रहेको छिम्केश्वरीमा विशेषगरी फागुपूर्णिमा र नयाँ वर्षको अवसरमा पर्यटकको भीड लाग्ने गरेको छ । मन्दिर जीर्णोद्वारसँगै धार्मिक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो गन्तव्यबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ्रे हिमाल सहजै अवलोकन गर्न सकिन्छ ।