हुण्डी र अवैध सुन प्रकरणमा १८ अर्बको अर्को काण्डको पर्दाफास, कारोबारमा परिवारनै संलग्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2025 | 08:14:51 AM मा प्रकाशित

nepal oil ltd

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले  एक वर्ष अघिको हुण्डी र अवैध सुन प्रकरणमा संलग्न अर्को ठूला गिरोहको पर्दाफास गरेको छ। सीआईबीले एक सातासम्म ११ जिल्लामा सञ्चालन गरेको अपरेशनबाट झन्डै १८ अर्ब रुपैयाँभन्दा बढीको अवैध कारोबार पत्ता लगाएको हो।

बैशाख ७ देखि १३ गतेसम्म सञ्चालन गरिएको अनुसन्धानमा करिब १८ अर्ब रुपैयाँ बराबरको अवैध कारोबार भेटिएको सीआईबीका प्रवक्ता तथा एसपी सुधीरराज शाहीले जानकारी दिए। अनुसन्धानमा बाबु–छोरा, आमा–छोरा र श्रीमान–श्रीमतीजस्ता पारिवारिक सम्बन्ध भएका व्यक्तिहरू समेत संलग्न रहेको खुलेको छ।

यस प्रकरणमा संलग्न भएको आरोपमा मोरङ, महोत्तरी, सर्लाही, सप्तरी, पर्सा, नवलपरासी, चितवन लगायतका जिल्लाबाट २१ जना अभियुक्तलाई पक्राउ गरिएको छ। पक्राउ परेका प्रमुख अभियुक्तहरूमा मोरङका वीरेन्द्रप्रसाद साह, दीपेन्द्रप्रसाद साह, महोत्तरीका श्रवणकुमार साह, सप्तरीका तारालाल यादव, धनुषाका निरोजकुमार महतो, अलिता देवी महतो, प्रकाश सिंह, अरुणकुमार साह, सञ्जिवकुमार महतोलगायत रहेका छन्।


प्रहरीका अनुसार गिरोहले भन्सार छली, अवैध सुन कारोबार र कर छलीबाट आर्जन गरिएको रकमलाई विभिन्न डिजिटल वालेट तथा मनी ट्रान्सफर कम्पनीमार्फत वैधानिक बनाउने प्रयत्न गर्दै आएका थिए। अवैध रकमलाई खातामा राखी रेमिट्यान्स भुक्तानीजस्तो देखाई कारोबार गरिन्थ्यो।

सीआईबीले हालसम्म १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ बराबरको अवैध कारोबार प्रमाणित गरेको छ। साथै अन्य संलग्नहरूलाई पनि पहिचान गरेर पक्राउ गर्ने प्रक्रिया तीव्र बनाइएको छ।

सीआईबीका अधिकारीका अनुसार अवैध कारोबारले मुलुकको वित्तीय प्रणालीमा गम्भीर असर पार्ने भएकाले यससम्बन्धी अनुसन्धान अझ कडाइका साथ अगाडि बढाइनेछ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved