मनोज भारती: जो धोका र अभावले उद्यमी बने, कोरियनका गालिले गतिला मालिक

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 05, 2020 | 12:35:44 AM मा प्रकाशित

laxmi  sunrise bank

परदेश जानेहरु रोजगारीको अभावमा नै गएका हुन् भनेर किटान गरिन्छ । केही मात्रामा यो तथ्यले पनि वास्तविकता बोकेको होला । तर, सबै विदेश गएकाहरु रोजगारीको अभावमा नभई केही केही भने सीप र काम गर्नुपर्छ भन्ने मनोविज्ञानको अभावमा पनि विदेश पुगेका हुन्छन् । कतिपय भने स्वदेशमा जागिर नपाउँदा व्यवसायी अथाव उद्यमी बन्ने आँट र जाँगर नभएर विदेशिन्छन् ।

यी तथ्यका दर्बिला उदाहरण हुन्, मनोज भारती । विगतमा स्वदेशमै उद्यमी बन्ने सपना नदेखी जागिर खाने दौडमा लागेका उनी जागिर नपाएपछि अन्ततः वैदेशीक रोजगारीमा हानिए । कोरियाको ६ वर्षे लामो बसाईपछि उनमा नेपाली माटोसँगै खेलेर उद्यमी बन्ने सपनाको टुसा पलायो । त्यही टुसा बढेर आजभन्दा ७ वर्ष अघि काठमाडौँको नागार्जुङ नगरपालिका वडा नम्बर ६ मा उम्रिएको हो फिटवेल गार्मेन्ट प्रा.ली। 

कठोर विगत 

मानिस सफलताका सोपान चढ्दै गर्दा विगतका कठोर त्यागले भूमीका खेलेका हुन्छन् । मनोज भारतीको जीवनमा पनि आर्थिक अभावका कयौँ घुम्तीहरु आईपरे । ती घुम्तीहरु छिचोल्दै उनी सफल उद्यमीको सूचीमा दर्ज भएका छन् ।

२०३१ सालमा चितवनमा जन्मिएका हुन् मनोज । उनी २ वर्षको हुँदा नै उनको परिवार बाराको निजगढमा बसाई सरे। अहिले पनि उनका माता पीता निजगढमा नै छन् । बुबा प्रहरीको जागिरे भएपनि ठूलो परिवार भएका कारण आवश्यकताहरु पूरा गर्ने सामथ्र्य थिएन । उनका बुबा आमाका ३ भाइ छोरामध्ये उनी माइलो छोरा। हाल दाई पनि उद्यमी छन् भने भाई सशस्त्र प्रहरीको डिएसपी।

विद्यालय शिक्षाको औपचारिकता अर्थात् प्रवेशीका परीक्षा (एसएलसी) सम्म निजगढमा पढेका उनी नेपाल प्रहरी बनेर देशको सेवा गर्न चाहान्थे । त्यही अभिलाषा बोकेर उनी काठमाडौँ आए । मिनभवन क्याम्पसमा १२ कक्षासम्म पढे । तर त्यसपछिको पढाई पूरा गर्न उनलाई आर्थिक अभावले तगारो बनेर छेकिरह्यो । 

तर त्यसपछिको पढाई पूरा गर्न उनलाई आर्थिक अभावले तगारो बनेर छेकिरह्यो

औपचारिक शिक्षा आर्जनको सपना बीचमै छोडेर २ पटकसम्म प्रहरीमा भर्ती हुने प्रयास गरे । तर उनी सफल भएनन् । पैसा खुवाएर खाएको जागिर देशको सेवा हुनै सक्दैन भन्ने कुरा मस्तिष्कमा खेल्न थालेपछि उनले तेस्रो प्रयास गरेनन् । त्यसपछि उनी अरु काम खोज्न तर्फ लागे ।

उनले ठेला ठेल्ने काम पनि गरे, तर पैसा पाएनन् । सानैदेखि अरुलाई दुःख दिएको सहन नसक्ने उनले त्यो दुःखको कमाई नपाएपछि होटलको काम गर्न थाले । रेष्टुरेन्टमा काम गर्दा पनि उनले पैसा पाएनन् । त्यसपछि उनलाई श्रम बेच्न विदेश जानुपर्ने रहेछ भन्ने लाग्यो, र कोरिया जाने सोच बनाए । करिब २ दशकअघि ३ लाख ५० हजार रुपैयाँ तिरेर उनी कोरिया गए । 

२ दशकअघि ३ लाख ५० हजार रुपैयाँ तिरेर उनी कोरिया गए

कोरियाले कामप्रतिको लगाव सिकायो

कोरिया गएपछि पनि उनका खुशीका दिन आउन समय लाग्यो । काममा खट्नेहरुलाई दिईने इज्जतले केही प्रेरणा दिएपनि मान्छेहरुमा कामकै कारणले गरिने विभेदले उनलाई भावुक बनायो ।

‘कोरियामा मान्छेहरुलाई बाख्रा बस्तु जस्तो व्यवहार गरिँदो रहेछ, तर कामको आधारमा’ मनोज भन्छन्, ‘कामको लागि बाख्रा खसीको बिक्रि गरेजसरी मान्छे छान्दा रहेछन्, यो देखेर म धेरै रोएँ ।’

उनले काँचो छाला उत्पादन गर्ने कम्पनीमा काम सुरु गरे । तर ६ महिनामा नै कम्पनी बन्द भयो । अब कहाँ कसरी काम गर्ने भन्ने अन्यौलता रहेकै बेला उनले नट बोल्ट उत्पादन गर्ने कम्पनीमा काम पाए । तर दुर्भाग्य, यो कम्पनी पनि बन्द हुन पुग्यो । त्यसपछि भने उनले ‘पेन्टिङ कम्पनी’ मा काम गर्न थाले । यो कम्पनीमा भने उनले लामो समय अर्थात् नेपाल फर्किने बेलासम्म काम गरे ।

‘कोरियामा कामको धेरै नै महत्व छ, सकेसम्म छिटो काम गरेकै कारण उनीहरु सफल भएका छन्’ मनोज भन्छन्, ‘उनीहरुको कामप्रतिको लगावले मलाई प्रभावित बनयो, मूलुकले छिटो आर्थिक समृद्धि हाँसिल गर्नुको पछाडी नागरिकको श्रम जोडिँदो रहेछ भन्ने थाहा भयो । त्यसैले मैले पनि नेपाल फर्केर देशमै काम गर्ने सोच बनाएँ ।’


पार्टनरबाट धोका

नेपाल फर्किने सोच पलाउनासाथ नै उनले आफ्ना साथीसँग नेपाल आएर केही उद्यम गर्ने योजना सुनाएका थिए । जब उनी नेपाल फर्किए, त्यसपछि गाडी खरिद बिक्रिको काम थाले । तर उनलाई यसमा चित्त बुझेन र गार्मेन्ट उद्योग चलाउने योजना बनाए । आफू र अरु ४ जना साथीसँग मिलेर सुरुमा २५ लाख रुपैयाँ लगानीमा गार्मेन्ट उद्योग सुरु गरे।

२५ लाख लगानीबाट उद्योग सुरु भएको भएपनि एक वर्षसम्म सबै जनाले फेरि पाँच पाँच लाख लगानी थपिसकेका थिए । तर उद्योग उभो लाग्नुको सट्टा ओरालो लाग्दै गयो । साथीले लगानी थप्न छोडेपछि मनोज एक्लैले थप लगानी गर्दै एकलौटी ५० लाख लगानी पुर्याए । तर उद्योग फस्टाउने छाँटकाट देखिएन । अन्ततः बन्द गर्ने मनस्थितिमा पुगे ।‘पार्टनहरुबाँट सोचेको जस्तो सहयोग पाउन सकिन, उहाँहरुले समय दिन नसक्दा एक वर्षमा नै सबै लगानी डुबेर बन्द गर्नुपर्ने अवस्था आउनै लाग्या थियो’ मनोज विगत सम्झिँदै भन्छन् ।

पुनः एकपटक प्रयास गरौँ भन्ने लागेर साथीसँग मिलेर महाबौद्धमा आफ्नो गार्मेन्टमा उत्पादन हुने बस्तु बिक्रि गर्न पसल पनि खोले । त्यसपछि भने उनले पार्टनरसीपमा नभई एकलौटी उद्योग चलाउने निर्णय लिए । सोही अनुरुप लगानी थप्दै र कोरियामा सिकेको समयको महत्वलाई आत्मसाथ गर्दै काम अघि बढाए । दोस्रो वर्ष केही आम्दानी बढाउन सकेकोमा हौसिएका उनी विगत ३ वर्षदेखि घाटामा छैनन् । उनले लगानी बढाएर एकलौटी ५ करोड पुर्याइसकेका छन् ।

सय जनालाई रोजगारी

राष्ट्रप्रेम व्यवहारमा देखिनुपर्छ भन्ने उदाहारण पनि हुन् मनोज भारती । कोरियाबाट नै उनले आफ्ना देशका दाजुभाई र दिदिबहिनीलाई गर्ने व्यवहार कस्तो हुनुपर्छ भनेर सिकेका थिए । त्यसै अनुसार उनले मातृभूमीको मायालाई व्यवहारमा उतार्ने जमर्को गरे । उनीसँग अमेरिकाको भिसा पनि थियो । तर उनले अमेरिकाको भिसा छोडेर सफल उद्यमी बन्ने सपना र आत्मविश्वास बोकेर नेपालमै बसे ।

गार्मेट उद्योग सुरु गर्दा नै उनले संकल्प गरेका थिए की, म नेपालीलाई मात्रै कामदारका रुपमा राख्छु र रोजगारी सिर्जना गर्छु । उनी आफ्नो संकल्पबाट कहिल्यै बिचलित नभई आज सय जना नेपालीलाई रोजगारी दिईरहेका छन् । 

गार्मेट उद्योग सुरु गर्दा नै उनले संकल्प गरेका थिए की, म नेपालीलाई मात्रै कामदारका रुपमा राख्छु र रोजगारी सिर्जना गर्छु । उनी आफ्नो संकल्पबाट कहिल्यै बिचलित नभई आज सय जना नेपालीलाई रोजगारी दिईरहेका छन्

‘हाम्रो विशेषता स्वदेशीलाई दिईएको रोजगारी पनि हो’ प्रशन्न मुद्रामा मनोज भन्छन्, ‘हाम्रा दाजुभाईले रोजगारी नपाईरहेको बेलामा भारतबाट कालिगढ ल्याउने कुरा मन परेन, त्यसैले सुरुमा नजानेकाहरुलाई सिकाएरै पनि नेपालीलाई मात्रै काम दिन्छु भनेर लागे, आज सय जना दाजुभाई तथा दिदीहरु मलाई सहयोग गरिरहनु भएको छ ।’

सामाजिक सक्रियता

उनलाई खान, लाउन र बिरामी पर्दा उपचार गर्न आर्थिक अभाव नहोस् भन्ने बाहेक अरु लोभ छैन । त्यसैले त आम्दानी हुनासाथ कहिले कामदारलाई गाडी चढाएर घुमाउन लैजान्छन् भने कहिले गरिब दुखीहरुको सहयोगमा पैसा र समय खर्चिन्छन् । बारा निजगढको लायन्स क्लबको अध्यक्षसमेत भएका उनी २०७६ सालमा राष्ट्रिय उद्यमी पुरस्कारबाट पुरस्कृत भए । त्यतिबेला उनले पुरस्कार वापत प्राप्त गरेको ५० हजार रुपैयाँ सुधार गृहका बालबालिकालाई लत्ता कपडा सहयोगमा खर्चिए ।

आफूले उच्च  शिक्षा हाँसिल गर्न नपाएको प्यास उनी गरिब बालबालिकामार्फत मेट्न चाहान्छन् । त्यसैले कोरिया गएकै वर्ष साथीहरुसँग मिलेर हरेक वर्ष  पाँच पाँच जनालाई पढाउने अभियानको सुरु गरेका थिए । निजगढकै गौरिशंकर स्कुलले विद्यार्थी छनौट गरिदिन्छ, अनि उनी शुल्क तिरिदिन्छन् । हरेक वर्ष छनौटमा परेकालाई कक्षा १२ सम्म पढाउने जिम्मेवारी पनि उनले लिएका छन् ।

हरेक वर्ष छनौटमा परेकालाई कक्षा १२ सम्म पढाउने जिम्मेवारी पनि उनले लिएका छन् 

कोभिड–१९ को संक्रमणका कारण काठमाडौँमा कोठा लिएर बस्नेलाई एक महिनाको भाडा छुट दिन प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गर्नासाथ उनले आफ्नो घरमा रहेको समता स्कुललाई भाडा छुट दिए । बजारमा रगत अभाव रहेको खबर सार्वजनिक भएपछि उनले आफ्नो गार्मेन्टमा काम गर्नेहरुसँगको छलफलमा रक्तदान कार्यक्रमको आयोजना गराए । ४२ जनाले रक्तदान गरे ।

‘मलाई आम्दानीको ५० प्रतिशत सामाजिक काममा खर्च गरौँ भन्ने लाग्छ’ मनोज भन्छन्, ‘अब एउटा आश्रम खोलेर परिवार बिहिन भएका बुढा बा आमाको सेवा गर्न पाए हुन्थ्यो भन्ने छ, हेरौँ कति सफल भइन्छ ।’

हजार जनालाई रोजगारी दिने लक्ष्य

उनले आफूले कमाएको सबै पैसा यही खन्याएका छन् । थप लगानी जुटाउन उनलाई राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधब ढुंगेलले सहयोग गरिरहेका छन् । केही समयमा नै ५० वटा मेसिन थपेर थप मानिसलाई रोजगारी दिने लक्ष्य छ उनको ।

‘मलाई कम्तीमा एक हजार जनालाई रोजगारी दिन मन, अहिले छोराले अनलाईन विजनेश पनि सुरु गरेको छ, त्यसो हुँदा मार्केटिङमा केही सहयोग पनि पुग्छ भन्ने लागेको छ’ उनी भन्छन्, ‘सरकारले विदेशबाट फर्किएकालाई ५ प्रतिशत ब्याजमा सहुलियत कर्जा दिने नियम बनेको छ, यो कर्जा लिने प्रयासमा छु । यसका लागि युवा परिषद्का उपाध्यक्ष माधब ढुंगेलले पनि पहल गरिदिरहनु भएको छ ।’

हाल ट्याकसुट, टि–सर्ट, मास्क, पीपीई, खेलकुदका ड्रसहरु, र्याङकोट र झोला उत्पादन गरिरहेको यो गार्मेन्टले जुत्ताको प्लान्ट थप्ने योजना बनाएको छ । अहिले मासिक न्युनतम्मा ३ देखि अधिकतम् ५० लाखसम्म अम्दानी गर्दै आएका मनोजको थप लगानी गरेर थप मानिसहरुलाई रोजगारी दिने लक्ष्य मूलुकको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षासँग पनि जोडिएको छ ।

बैंकले ऋण दिए ठुलो व्यवसायी बन्ने विश्वास 

धनको पछाडी लागेर जीवन ब्यतित गर्नुहुदैन तर आर्जन गरेको धन अरुको हितमा खर्च गर्नुपर्छ भन्ने सोच भएका भारती आफुलाई पुगिसरी भएपनि आगामी दिनमा ठुलो व्यवसायी बन्ने चाहना रहेको बताउँछन। 

मारवाडी समुदाय तथा बिदेशी लगानीका संस्थाले सजिलै ऋण पाउने तर आफुहरुको राम्रै धितो हुँदा पनि ऋण नदिने बैंकहरुको यस्तो व्यवहारप्रति असन्तुष्ट रहेका भारती भन्छन, बैंकहरुले मेरो धितोले धान्ने बराबरको ऋण दिए म ठुलो व्यवसायी बन्छु। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved