विद्यार्थीमाथि बल्छी थाप्दै विदेशी सम्बन्धनवाला कलेजहरू, न कानूनी मान्यता न त विद्यार्थीको सुरक्षा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2022 | 09:49:49 AM मा प्रकाशित

laxmi  sunrise bank

कक्षा १२ को रिजल्ट आइसकेपछि उच्च शिक्षाका लागि पढ्न खोज्ने विद्यार्थीहरूलाई बल्छी थाप्न शिक्षालाई माफियाकरण गरिरहेका विदेशी सम्बन्धन प्राप्त 'गैर-कानूनी' शिक्षण संस्थाहरूले विभिन्न हत्कण्डा अपनाइरहेका छन् ।

विशेष गरेर विदेशी मुद्रा अपचलन र राजश्व ठगी गरेर जसरी पनि पैसा कमाउन लागिपरेका यस्ता शिक्षण संस्थाहरूसँग न त गुणस्तरीय कोर्स छ, न त यिनीहरूले पढाउने गरेको पाठ्यक्रमको वैधता नै छ ।

उच्च शिक्षा संचालनसम्बन्धी निर्देशिका २०५९ को मापदण्ड विपरित चलिरहेका यस्ता संस्थाहरूमा पढेका सयौं विद्यार्थीहरू थप उच्च शिक्षाका लागि योग्य नभएका उदाहरणहरू बर्गेल्ती छन् ।

काठमाडौँमा आफ्नै १ रोपनी जग्गा हुनुपर्ने निर्देशिकाको मापदण्डविपरित राजधानीको थापाथलीको एउटा फ्ल्याटमा संचालित ब्रिटिश कलेजविरुद्ध राजश्व विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको छ ।

बेलायतमा फी उठाउने तेस्रो एजेन्ट खडा गरेर ब्रिटिश कलेजले राष्ट्रबैंकमार्फत पाउण्ड सटही गरेर बेलायत पठाउने गर्छ ।

त्यति मात्र होइन, बेलायतको युनिभर्सिटीबाट ३ वर्षे कार्यक्रम संचालनको अनुमति लिएर पनि ४ वर्षे कोर्ष चलाइरहेको छ । थपिएको एक वर्षको कोर्ष नेपालमा गैर-कानूनी देखिन्छ । थपिएको एक वर्षको कोर्ष र उक्त कोर्षका लागि लिइने रकमको समेत कुनै वैधता छैन ।

विद्यार्थीसँग महँगो रकम लिने गरेको भएपनि ब्रिटिश कलेज विद्यार्थीको सुरक्षाप्रति कतिसम्म लापरवाह छ भन्ने कुरा २०७५ साल माघमा भएको एउटा घटनाले पुष्टि गर्छ ।

कलेजले २०७५ साल माघ २९ गते २६ जना विद्यार्थीलाई दुबई भ्रमणमा लागेको थियो । उक्त भ्रमणमा रहेका १९ वर्षीय गौरव श्रेष्ठको समुद्रमा डुबेर मृत्यु भयो । समुद्रमा पौडी खेल्न गएका श्रेष्ठलाई नलिई कलेजको गाडी होटेल पुगेको थियो । कलेजको लापरवाहीले गौरवको ज्यान गएको भन्दै त्यहाँको प्रहरीले प्रतिवेदन नै तयार पारेको थियो ।

त्यसपछि न त गौरवको शवलाई नेपाल ल्याउन कलेजले सहयोग गर्यो, न त सहजै क्षतिपूर्ति दिन तयार भयो । बरू विद्यार्थी आफैं डुबेको भन्दै कलेजले गैर-जिम्मेवारीपूर्वक विज्ञप्ति निकाल्यो । पछि १० लाख क्षतिपूर्ति दिएर घटना सामसुम पारियो ।

त्यतिबेला घटना अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका तत्कालीन प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले श्रेष्ठको मृत्युमा कलेजले लापरबाही गरेजस्तो देखिएको बताएका थिए

उनले भनेका थिए, ‘श्रेष्ठको समुद्रमा डुबेर मृत्यु भएको देखिन्छ। पौडी खेल्न गएका विद्यार्थीलाई कलेजले जति गार्जेनसिप दिनुपर्ने थियो, त्यस्तो गरेजस्तो देखिन्न। भ्रमणमा लगेपछि विद्यार्थीको जिम्मेवारी सम्बन्धित कलेजले लिनुपर्छ , तर यो घटनामा कलेजले जति जिम्मेवारी लिनुपर्ने हो, त्यति लिएजस्तो देखिँदैन।’

ब्रिटिश कलेजले एकातिर न कानून मानेको छ, न त विद्यार्थीको शैक्षिक भविष्य सुनिश्चित गरेको छ, न त विद्यार्थीलाई कुनै सुरक्षा नै दिएको छ ।

ब्रिटिश कलेज चलाउने बाग्लुङका राजन र महेन्द्र (कँडेल दाजुभाइ)ले बेलायतमा पनि गैर-कानूनी संस्था खोलेर विद्यार्थीको भविष्य खेलवाड गरिरहेका थिए । अहिले बेलायत सरकारले उनीहरूको उक्त संस्था बन्द गरिदिएको छ ।

तर नेपालमा भने उनीहरूले कानून आफ्नो हातमा लिएर खुल्लम खुला शिक्षालाई माफियाकरण गरिरहेका छन् । यसबारे शिक्षा मन्त्रालय मौन छ भने अख्तियार र राजश्व अनुसन्धान विभागले पनि छानबिन अघि बढाउन सकिरहेका छैनन् ।   

भिडियो - 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved