
गुल्मी क्षेत्र नम्बर २ मा सत्तारूढ
गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीले आफूले
जितेर संघीय संसदमा प्रतिनिधित्व गर्न पाए कुनै पनि विकास आयोजनाहरूलाई लगानीको
मोडेलमा लैजाने गरी नीति नियमबारे पैरवी गर्ने बताएकी छन् ।
गुल्मी क्षेत्र नम्बर १ को सिमलटारीमा
चुनावी ग्राउण्ड जिरो रिपोर्टिङका क्रममा पुगेको बिजपाटी टीमसँग संक्षिप्त
कुराकानी गरेकी झाँक्रीले गठबन्धनकै आधारमा आफूले जित हासिल गर्ने दाबीसमेत गरिन्
।
'मैले माग्ने होइन, लगानी गर्ने हो भन्ने ढंगबाट आवाज उठाएकी छु,'
उनले भनिन्, 'आयोजनाहरूमा वित्तीय मध्यस्थताकर्ता नेपाल सरकारको हुने गरी विधेयक
पनि तयार गरेको थिएँ तर त्यो अघि बढ्न सकेन । हामीले जति पनि विकास आयोजना गर्छौं, यो लगानीले रिटर्न गर्नुपर्छ भन्ने मेरो मान्यता
हो ।'
उनले निर्वाहमुखी कृषिलाई व्यावसायिक
बनाउन आफूले पहल गरिरहेको दाबीसमेत गरिन् । 'कि त हामीले निर्वाहमुखी कृषि
गरिरहेको ठूलो जनसंख्यालाई व्यवसायीक बनाउन पर्यो कि त निर्वाहमुखी कृषिबाट नै आत्मनिर्भर
हुनुपर्यो,' उनले भनिन्, 'निर्वाहमुखीबाट आत्मनिर्भर हुन सकिन्न । व्यवसायीक
हिसाबले अघि बढ्ने सम्भावना मैले प्रशस्त देखेको छु ।'
झाँक्रीले गठबन्धनकै बलमा आफूले जित
हासिल गर्ने बताइन् । उनले भनिन्, 'यो प्रतिगमन र अग्रगमनबीचको लडाईं हो । म
पार्टी विभाजन भइसकेपछि गाउँ वस्तीमा पुगें, २५ वर्षसम्म यहाँको प्रतिनिधित्व
गर्दैगर्दा दिएका चिल्ला वचन र पूरा नगरिएका काम हेर्दा सुन्दा म सही समयमा आएको जस्तो
लाग्यो ।'
उनले थपिन्, 'सबै हिसाबले गठबन्धनका
संरचनाहरू मेरो पक्षमा छन् र म उत्साहित छु ।'
उनले लामो समय सँगै एमालेमै राजनीति
गरिरहेका प्रतिस्पर्धी गोकर्ण बिष्टले चिन्दिन भनेकोमा आफ्नो चित्त दुखाइ रहेको
बताईं । 'हामी उद्देश्य र गन्तव्यले फरक-फरक ठाउँमा भयौं । मैले मित्रवत
प्रतिस्पर्धा भनिरहेको थिएँ, तर उहाँले चाहिँ म चिन्दिन भन्नुभयो रे, अलिकति दुख लाग्यो,' उनले भनिन् ।
उनले अलपत्र अधुरा र अपूरा रहेका
आयोजनाहरूलाई सम्पन्न गर्ने र केही इकोनोमी गेम चेन्जर परियोजनाका बारेमा केही
आइडियाहरू कन्सिभ गरेको बिजपाटीलाई बताइन् ।
'यहाँ युवाहरूलाई स्वरोजगार बनाउन
सक्ने प्रशस्त आधारहरू छन् । त्यसलाई केही पोलिसी चेन्ज गरेर अघि बढाउनु पर्नेछ, मैले जितेर संघीय सांसदको प्रतिनिधि बनेपछि त्यो
कार्यभार पूरा गर्छु,' उनले भनिन् ।
हेर्नुहोस् भिडियो -