जिल्लानगर उपाध्यक्षका लागि किशोर प्रधानको टिम नै किन रोजे ? दिनेश श्रेष्ठको विचार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2020 | 12:24:42 PM मा प्रकाशित

laxmi  sunrise bank

निजि क्षेत्रका व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको ५४ औं  साधारणसभा तथा चुनाव यहि साउन २५ र २६ गते हुँदैछ। निर्वाचनको मिति नजिकिंदै गर्दा चुनावी सरगर्मी बढेको छ। 

वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा स्वत: अध्यक्ष हुने व्यवस्था भएकाले मुख्य प्रतिस्पर्धा वरिष्ठ उपाध्यक्षमा केन्द्रित भएको छ। वरिष्ठ उपाध्यक्षमा हाल एशोसियट उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र जिल्लानगर उपाध्यक्ष किशोर प्रधानले उम्मेद्वारी घोषणा गरिसकेका छन् भने दुवैले आ आफ्नो टिम घोषणा समेत गरिसकेका छन्। 

किशोर प्रधानको प्यानलबाट आसन्न निर्वाचनमा जिल्ला नगर उपाध्यक्ष पदका लागि हाल महासंघको बागमती प्रदेशको अध्यक्ष रहेका दिनेश श्रेष्ठले उम्मेद्वारी घोषणा गरिसकेका छन्।  महासंघमा २०११ देखि २०१३ सम्म बस्तुगत तर्फ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका श्रेष्ठ २००१ देखि नै महासंघको कार्यसमिति सदस्य रहेर योगदान पुर्याउदै आएका छन्। 

नेपाल उद्योग बाणिज्य संघ काठमाडौंका अध्यक्ष समेत रहेका श्रेष्ठसंग लामोसमयदेखि महासंघ तथा व्यवसायीका अन्य छाता संगठनको जिम्मेवारी लिएर काम गरेको अनुभव छ।  महासंघको आसन्न निर्वाचनमा जिल्लानगर तर्फको उम्मेद्वारी किन र निर्वाचनमा किशोर प्रधानको टिममा नै किन भन्नेबारे बिजपाटी डटकमले श्रेष्ठसँग कुराकानी गरेको छ। 

श्रेष्ठ भन्छन, 

लामो समयदेखि व्यवसायमा लागेर व्यवसायीको हकहितमा काम गरेको मान्छे नै महासंघको कुनै जिम्मेवारीमा बस्ने हो। जिल्लाका व्यवसायीहरुको समस्या सरोकारवालासँग पुर्याउन, सरकारसँग लबी गर्न सक्षम व्यक्ति नै केन्द्रमा रहेर जिम्मेवारी लिएर काम गर्ने हो। 

हाम्रा जिल्लाका व्यवसायीहरुले कसले कति काम गरेको छ भन्ने कुरा राम्रोसँग बुझ्नु भएको छ। उहाँहरुले सक्षम नेतृत्त्व छनौट गर्नुहुन्छ भनेर नै आसन्न निर्वाचनमा जिल्ला नगर तर्फबाट उपाध्यक्षमा मेरो उम्मेद्वारी हो। 

कोभीडका कारण सबै जिल्लामा पुगेर उहाँहरुलाई भेट गर्ने अवस्था छैन। यद्दपी प्रविधिको सहयोग लिएर जिल्लाका व्यवसायीहरुको अप्ठ्यारो सुन्ने, त्यहाँ आवश्यक सहयोग गर्ने कुराहरु निरन्तर भईरहेका छन्। 

किशोर प्रधानको टिममा नै किन ?

यो टिममा व्यवसाय गरेका र व्यवसायीका दुख बुझेका र लामोसमय देखि व्यवसायीको हकहितका लागि काम गरेका अनुभवी र जिम्मेवारी व्यक्तिहरु हुनुहुन्छ। त्यसमा पनि यो टिमलाई आगामी अध्यक्ष शेखर गोल्छाले आफुलाई काम गर्न सहज हुने टिम भन्नु भएको छ। 

व्यवसायीको समस्यालाई नजिकबाट चिनेको र समधानको उपाय खोज्न सक्नेहरु यो टिममा भएकाले पनि मैले यो टिम रोजेको हो। हालै मात्र जारि भएको मौद्रिक नीतिमा सुझाब पठाउदा हामीले कोभीड १९ का कारण व्यवसायीलाई परेका समस्या मात्र भनेनौं त्यसको समधान पनि बताएका थियौं र त्यहिअनुसार नीति आएको छ। 

बैंकलाई मात्र भार नपर्ने गरि ब्याज घटाएर, उनीहरुको लागत पनि घट्ने र व्यवसायीलाई पनि राहत हुनेगरि हामीले सल्लाह सुझाब दिएका थियौं र अहिले त्यहि अनुसार नीति आएको छ। यसले पनि म र हाम्रो टिमले व्यवसायीको समस्यालाई कति नजिकबाट चिनेका छौं भन्ने पुष्टि हुन्छ। 

गोल्छाको टिममा किन ?

यो तिन बर्षको नेतृत्त्व भनेको शेखर गोल्छाले नै लिने हो त्यसमा कुनै दुई मत नै छैन। अबको तीन बर्ष काम गर्नको लागि कस्तो टिम चाहिन्छ भनेर निर्णय लिने अधिकार उहाँ  (गोल्छा) लाई दिनुपर्छ भन्ने अधिकांश साथीहरुको  भावना छ। 

बिगतमा आबद्ध नभएकाहरुपनि निर्वाचन नजिकिंदै गर्दा गोल्छाको टिममा जोडिंदै जानु भएको छ। अध्यक्ष एक्लैले मात्र धेरै केहि गर्न सक्नुहुन्न भन्ने बुझेर अहिले धेरै व्यवसायि साथीहरु उहाँ गोल्छाको टिममा जोडिएर हामीलाई साथ दिंदै हुनुहुन्छ।  

गोल्छा एक्लैले केहि गर्न सक्नुहुन्न भन्ने बुझेर नै उहाँले रोजेको टिमलाई अहिले व्यवसायीहरुले साथ दिंदै हुनुहुन्छ त्यहि भएर म पनि गोल्छालाई साथ दिएर व्यवसायीको हक हितमा काम गर्छु भनेर यो टिममा जोडिएको  हुँ। 

के कुरामा प्रतिस्पर्धी भन्दा उत्कृष्ट 

बागमती प्रदेशको अध्यक्ष भएर काम गर्दा मैले व्यवसायीको समस्यालाई धेरै नजिकबाट नियालेको छु। यसले हिजो भन्दा म अहिले बढी अनुभवि छु र व्यवसायीको कुरालाई नजिकबाट चिनेको छु भन्ने लागेको छ। 

अहिले देशभरका व्यवसायी तथा जिल्लानगरका अध्यक्षहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गरिरहेको छु यसले पनि मलाई उहाँहरुको मुद्दा बुझ्न र  सरोकारवालासँग लबिंङ गर्न सहज भएको छ। आसन्न निर्वाचनमा न्यायमुर्ति भनेको जिल्लानगर अध्यक्षहरु नै हुनुहुन्छ। म अभियन्ता जस्तो मात्रै हुँ। मलाई कुन स्तरमा राख्ने भन्ने उहाँहरुकै निर्णयमा भर पर्छ।  मैले अहिलेसम्म गरेको काम हेरेर नै उहाँहरुले आसन्न निर्वाचनमा मलाई सहयोग गर्ने हो। 

जिल्ला नगर उपाध्यक्षमा उम्मेदवारी किन ?

सबल सक्षम र आत्मनिर्भर जिल्ला बनाउने प्रमुख काम बाँकी छ। जिल्लाका उद्योग बाणिज्य संघ स्वायत्त संस्था हो। केन्द्र र उद्योग बाणिज्य संघबीच सेतुको काम गरेर दुवैबीच राम्रो सम्बन्ध कायम गर्नलाई अहिलेसम्म कुनै व्यवस्था भईसकेको छैन। 

त्यसैले अहिले साथीहरुले सहयोग गरेर मलाई जिम्मेवारी दिनुभएको अवस्थामा केन्द्र तहमा एउटा कोष खडा गरेर जिल्लाका उद्योग बाणिज्य संघका कार्यक्रमलाई सहयोग गर्ने र साना साना जिल्ला उद्योग बाणिज्य संघलाई सक्षम बनाउने योजना छ।  

जिल्लामा अध्यक्ष भईसकेपछि जुन प्रेम सद्भाव कायम हुनुपर्ने हो त्यो अहिले हराएर गएको छ। यसलाई कम गर्न म प्रदेश अध्यक्ष हुँदा त्यहाँ यो सद्भाव कायम रहने गरि केहि काम गरेको थिए र अहिले केन्द्रबाट पनि त्यहि कामलाई निरन्तरता दिने योजना छ। देशभरकै पुर्व अध्यक्षहरुको एउटा साझा प्ल्याट फर्म बनाउने र महासंघमा रहेर काम गर्नुभएका र जिल्ला उद्योग बाणिज्य संघबीच सद्भाव कायम गर्ने योजना बनाएको छु। 

त्यस्तै सबै भन्दा महत्त्वपूर्ण कुरा, सरकारले बनाएका धेरै नीति नियम व्यवसायीमैत्री बनिरहेका छैनन्। यसले गर्दा व्यवसाय गर्न कठिनाई भईरहेको छ। अहिले उपभोक्ता हित संरक्षण ऐन ल्याईएको छ, अर्को बैंकबाट ऋण लिएर व्यवसाय गरेका व्यवसायीलाई बनाइएको कानुनमा व्यवसायीलाई सुरक्षा दिने कानुन बन्न सकेको छैन। 

त्यस्तै सिमित दायित्व भनेर एउटा निकायले व्यवसाय अनुमति दिएको हुन्छ तर सरकारको अर्को निकायले व्यवसायीको दायित्व असिमित बनाइदिएको अवस्था छ। एउटा कम्पनी कालोसुचिमा पर्यो भने उसले संचालन गरेका अन्य सबै कम्पनी कालोसुचिमा राख्ने, पीजी नभई बैंकले ऋण नदिने जस्ता कठिनाई हटाउन सरकारसँग मेरो कार्यकालमा कुरा गर्ने सोच बनाएको छु। 

यो जिम्मेवारी पुरा गर्नको लागि ठाउँमा पुर्याउन साथीहरुलाई अनुरोध गरिरहेको छु र मलाई बिश्वास पनि छ उहाँहरुले मलाई सहयोग गर्नुहुन्छ र जिम्मेवारी दिनुहुन्छ। यो मेरो लागि आइरन गेट हो अहिले जिम्मेवारी पाएको अवस्थामा भोलि नेतृत्वमा पनि पुग्न सक्छु र व्यवसायीको हितको लागि काम गर्न सक्छु भन्ने मेरो बिश्वास छ र साथीहरुको सहयोगको पनि पूर्ण बिश्वास छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved