'बैंकको ऋणले टिक्न सकिदैन, सफ्ट लोन उत्तम विकल्प हो' व्यवसायी बतासको विचार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 16, 2020 | 11:57:18 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पर्यटकीय शहर पोखरामा आफ्नो बलियो पकड बनाएको संस्था हो बतास अर्गनाइजेसन। आफ्नो व्यवसाय बिस्तारको क्रममा बतासले काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरुमा आफ्नो बलियो उपस्तिथी जनाईसकेको छ। 

बिशेषगरि अटो क्षेत्रमा काम गर्ने संस्थाको रुपमा चिनीएपनि बतास अर्गनाइजेसनले बिभिन्न व्यवसायमा हात हालेको छ। विकेन्द्रीकरणको नीतिलाई पछ्याउदै बतास अर्गनाइजेसनले पछिल्लो समय होटल, पर्यटन, रेमिट, हायर पर्चेज, सूचना तथा प्रविधि लगायतका धेरै क्षेत्रमा लगानी गरेको छ। 

बतास अर्गनाइजेसन हिमाल रेमिटको लागि नेपालका लागि प्रिन्सिपल एजेन्ट हो भने यस अर्गनाइजेसनले पशुपति विकास कोष नजिक तिलगंगामा शतप्रतिशत शाकाहारी र पूर्ण आध्यात्मिक वातावरणमा ८० वटा कोठा भएको होटल आनन्द संचालन गरिरहेको छ। 

बिगतमा अटो क्षेत्रले चिनिएको बतास अर्गनाइजेसनले पछिल्लो समयको सम्भावना बोकेको सूचना तथा प्रविधि उद्योगमा पनि लगानी बढाएको छ। यहिअनुसार बतासले नेपालभर डिजिटल होर्डिङ बोर्ड राख्ने अभियान थालेको छ भने बिज्ञापन एजेन्सीमा समेत हात हालेको छ। 

मलेसियाको पेट्रोनस लुब्रिकेन्ट्सको आधिकारिक बिक्रेता रहेको बतासले नारायणगढ चितवनमा लुब्रिकान्ट प्लान्ट राखेर पछिल्लो ६ महिनादेखि लुब्रिकान्ट उत्पादन तथा वितरण गर्दै आएको छ। दुबई तथा भारतमा ठुलो बजार रहेको भारतीय ब्राण्डको कपि राइट लिएर नारायणघाटको सिजी ग्राम नजिक बतासले लुब्रिकान्ट उत्पादन गर्दै आएको छ। 

बिभिन्न व्यवसायमा हात हालेको बतास अर्गनाइजेसनमा ७५० प्लसले रोजगारी पाएका छन्।  तर कोभिड १९ का कारण साना तथा मझौला व्यवसाय प्रभावित भईरहेका बेला बतास अर्गनाइजेसन जस्ता संस्थामा परेको प्रभाव कस्तो छ भन्नेबारे धेरैलाई चाँसोको बिषय बनेको छ। 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपालमा चैत ११ देखि सुरु भएको लकडाउनले बतास अर्गनाइजेसनमा पारेको प्रभाव, आगामी दिनमा सरकारले लिनुपर्ने नीति लगायतका बिषयमा बिजपाटी डटकमले बतास अर्गनाइजेसनका प्रबन्धक निर्देशक शान्त राज बताससँग कुराकानी गरेको छ। 

प्रबन्धक निर्देशक बतास भन्छन;-

चीनको बुहानमा कोरोना देखिएपछि हामि मानसिक रुपमा तयार थियौं। तर बतास अर्गनाइजेसन ठुलो जिम्मेवारी बोकेर अगाडी हिँडेको संस्था भएकाले बिश्वब्यापी महामारीको रुप लिएको कोरोनाका कारण प्रभावित त भएकै छ। 

बतास अर्गनाइजेसनको कर्मचारी र ब्याज खर्च ठुलो छ। अहिलेको परिवेशमा कुनै राज्यको कुनै राहत वा सहयोग बिनानै अगाडी बढ्नु पर्दा पक्कै पनि अवस्था कठिन छ। 

हामीले चाहेर नचाहेर पनि केहि कर्मचारीलाई बेतलबी विदामा राख्न बाध्य भएका छौं। हिजोदेखि हामीसँग रहेका सबैको घरमा सकेसम्म चुल्हो  बलोस भनेर केहिलाई रोस्टरमा राखेर पनि काम दिएका छौं। 

अहिलेको आम्दानीले कम्पनी चल्न सक्ने अवस्था छैन, यो अवस्था कहिलेसम्म लम्बिन्छ भन्नेपनि अन्यौल नै छ

अहिलेको आम्दानीले कम्पनी चल्न सक्ने अवस्था छैन र अर्कोतर्फ यो अवस्था कहिलेसम्म लम्बिन्छ भन्नेपनि अन्यौल नै छ। सरकारले मौद्रिक नीति मार्फत केहि राहत दिने प्रयास नगरेको होइन। अहिले तिर्नुपर्ने किस्तालाई एक बर्षपछि वा निश्चित अवधिपछि तिर भनेर समस्यालाई केहि पर सारेको छ तर एकदिन त सावाँ किस्ता त तिर्नुनै पर्छ। त्यसैले समस्या सार्ने काम पनि आफैंमा समाधान त होइन। 

हाम्रो जस्तो सँस्था मात्र नभई कुनै पनि व्यवसायले आफ्ना कर्मचारीलाई बेतलबी बिदामा राख्ने वा विदा दिनु त राम्रो होइन। त्यसैले अहिलेको यो कठिन अवस्थामा कर्मचारीलाई तलब दिन, सामान्य खर्च चलाउनका लागि राज्यले विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष, एशियाली विकास बैंक लगायतका सँस्थाबाट सफ्ट लोन लिएर हामि जस्तो व्यवसायलाई पनि दिएको भए यो संक्रमणसँग जुध्न सहज हुन्थ्यो। 

सफ्ट लोनको माध्यमबाट राहत आएको भए व्यवसायीहरुलाई धेरै राहत हुन्थ्यो। कम्तिमा भएका कर्मचारीलाई २५-३० प्रतिशत तलब दिएर पनि राख्न सकिन्थ्यो। तर सरकारले यो नगरी समस्यालाई पर सार्नेगरि ब्याज छुट र किस्ता भुक्तानीको अवधि थप गर्यो। 

बैंकको कर्जाले कहिलेसम्म तलब खुवाउने ?

बैंकबाट कर्जा लिएर कर्मचारीलाई कहिलेसम्म तलब खुवाउने भन्ने चुनौती छ। यो समस्या बतासको मात्र नभई सिंगो व्यवसायी सबैको हो। बतासमा धन्न कर्मचारीले साथ दिएका छन्। कम्पनी बाँच्नुपर्छ हामीले कहाँबाट के कम्प्रोमाइज गर्नुपर्छ भनेर कर्मचारी साथिहरुले यो संकटमा साथ दिनुभएको छ। जबकी यो भावना कम्पनीले कर्मचारीलाई दिनुपर्थ्यो। 

आज दिनुपर्ने पैसा १२ महिनापछि दिए हुन्छ भनिएको छ तर सरकारले दिएको यो राहत भेन्टिलेसनमा राखे जस्तो मात्र हो। अब रुस लगायतका देशहरुले कोरोना बिरुद्दको खोप बनाएको भन्ने सुनिएको छ। डिसेम्बर अन्तिमसम्म पनि कोरोना बिरुद्दको खोप आयो भने इकोनोमी रिभाइभ हुन्छ र तिब्र गतिमा पुरानै लयमा फर्किन्छ तर डिसेम्बरसम्म पनि कोरोना बिरुद्दको खोप आउँन सकेन र अवस्था अहिलेकै रह्यो भने हाम्रो इकोनोमी कोल्याप्स हुन्छ। तर पनि अवस्था यस्तै रह्यो भने सरकारले फेरी मौद्रिक नीति वा अन्य कुनै उपाय मार्फत राहतका केहि प्याकेज ल्याउला भन्नेमा आशावादी नै छौं। 

राज्यले व्यवसायीलाई दिन सक्ने भनेको ब्याजमा सहुलियत र कर्मचारी खर्चमा साथ र सहयोग हो। पहिलो त्रैमासमा दुई प्रतिशत ब्याज घटाउने भनियो र यसले समस्यालाई केहि समाधान गरेको छ तर यो पर्याप्त छैन। अब सरकारले आफ्ना बिभिन्न कोषमा राखेको पैसा व्यवसायीलाई मापदण्ड बनाएर सफ्ट लोन दिनुपर्छ। 

आजको दिनमा बैंकमा फिक्स डिपोजिट राखेर, सहकारीमा राखेर, सुन किनेर, जग्गा किनेर पैसा थुपार्ने होइन। अझैं पनि सरकारको पोलिसी ब्याज खाने छ भने यसले अर्थतन्त्रलाई सहयोग गर्दैन। 

व्यवसायीलाई सफ्ट लोन दिनु नै आजको उत्तम विकल्प

सरकारको बिभिन्न कोषमा रहेको पैसा निश्चित मापदण्ड बनाएर व्यवसायीलाई सफ्ट लोन दिनु नै आजको उत्तम विकल्प हो। सफ्ट लोन पाएको अवस्थामा व्यवसायीले कम्तिमा कर्मचारी खर्च धान्न सक्छ र यसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्छ। 

कोरोनाबाट बच्नलाई लकडाउन होइन अर्थतन्त्रलाई चलायमान बनाउने तर्फ सोच्नुपर्यो। मानिसहरुले आफुसंग भएको पैसा जग्गा, फिक्स डिपोजिट र सुनमा गएको छ। यसलाई निरुत्साहित पार्ने काम गर्नुपर्छ। तर सफ्ट लोन दिएर भएपनि अर्थतन्त्रको गतिविधि चलायमान बनाउनुपर्छ। 

अर्कोतर्फ सरकारले लकडाउन नगरी सवारीमा सार्वजनिक सवारीको विकल्प दिनुपर्छ। नेपालमा पनि सिंगापुर जस्तै मोडालिटी हुनुपर्छ। प्रत्येक १५ मिनेटको वाल्किंङ डिस्टेन्स मा स्टेशन छ, मानिसहरुको पहुँचमा सार्वजनिक सवारी छ। त्यसैले त्यहाँ निजि सवारी साधनमा चर्को राजश्व तिर्नुपर्छ। 

कोरोनाको संकटमा अटो क्षेत्रमा दुई पांग्रेको बिक्रि बढेको छ।  यसले सरकारले सार्वजनिक सवारीमा उचित विकल्प दिन सकेन भन्ने देखिन्छ। मानिसहरु भौतिक दुरी कायम गर्न तथा कार्यलय पुग्न सहज होस् भनेर दुईपाङ्ग्रे किन्नेको संख्या बढेको छ। चार पाङ्ग्रेका लागि पनि चाँसो दिनेहरुको संख्या बढेको छ। 

तर नेपालमा रेमिट्यान्समा जुन प्रभाव पर्छ भनेर विश्लेषण गरिएको थियो त्यसको ठिक उल्टो भोगाई भएको छ। रेमिट्यासको पूवानुमान गलत साबित भएको छ। बिगतको तुलनामा रेमिट्यान्स बढेको छ। जुन हिसाबमा नेपालीहरु स्वदेश फर्किन्छन भने अपेक्षा गरिएको थियो त्यसको ठिक बिपरित नेपालीहरु स्वदेश फर्किएनन भने रेमिट्यान्सपनि अघिल्लो आर्थिक बर्षको तुलनामा बढेको छ। 

मनोबल बढाउँन कर्मचारीलाई अनलाइन तालिम तथा छलफल 

कोरोनाका कारण कर्मचारीहरुमा मानिसक समस्या नबल्झियोस, आत्मविश्वास कम नहोस भन्ने उदेश्यले बतासले आफ्ना कर्मचारीलाई र अन्य व्यवसायसँग जोडिएकाहरुलाई अनलाइन मार्फत बिभिन्न कार्यक्रम गरेका छौं। उनीहरुसँग नियमित रुपमा अनलाइन मार्फत छलफल गर्ने, योजना बनाउने, अहिलेको अवस्था विश्लेषण गर्ने, मेकानिकहरुलाई अनलाइन तालिम दिने लगायतका काम भएका छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved