रहस्योद्घाटनः यदि त्यसो भयो भने माधव–झलनाथसहित को को सकिन्छन् ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 24, 2021 | 03:06:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिता विवाद निर्वाचन आयोगमा छ । प्रतिनिधिसभा भंगपछि मूलतः दुई चिरा परेको नेकपाको नाम र चुनाव चिन्हमा दुबै पक्षले आ–आफ्नै दाबी कसेका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधब कुमार नेपालले नेतृत्व गरेको दुबै खेमा नाम र चुनाव चिन्ह आफूले पाउने दाबी गरिरहेका छन् ।

नाममा भन्दापनि चुनाव चिन्हमा भने प्रचण्ड–नेपाल समूहको ठूलै दौडधूप देखिएको छ । सूर्य चिन्ह आफूहरुको भएको भन्दै प्रचण्ड–माधब समूहले निर्वाचन आयोगमा राम्रै लविङ गरिरहेका छन् । 

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्द दायर रिटमाथि सुनुवाई जारी छ । राजनीतिक तहमा भने दुवै पक्षका दाबीलाई सर्वोच्चले खारेज गरिदिन सक्ने र आशा गरिएका दोस्रो पुस्ताको राजनीति नै सखाप हुने विश्लेषण पनि हुन थालेका छन् ।

के हुन सक्छ ?

प्रतिनिधिसभा विघटन भएपछि एक पटक राष्ट्रिसभा बैठक बस्यो । राष्ट्रियसभा सदस्यको हैसियतमा पहिलोपटक राष्ट्रिय सभाको बैठकमा प्रवेश गरेका नेकपाका उपाध्यक्ष बामदेव गौतमले उठान गरेको विषयबस्तु निकै महत्वपूर्ण मान्न थालिएको छ । 

बैठकमा बामदेवले ऋषिराम कट्टेलले नेकपाको आधिकारिताको दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको र यदि कट्टेलले आधिकारिता पाए अहिलेको नेकपा तत्कालिन एमाले र माओवादीमा विभक्त हुने बताएका थिए ।

राष्ट्रिय सभा बैठकमा बामदेवले,‘त्यो आधिकारिकताको फैसला कट्टेलका पक्षमा भए एमाले र माओवादी भन्ने दुई पार्टी पनि कित्ताकाट हुनेछन्’ भनेर आगामी दिनमा देखिन सक्ने राजनीतिक घटनाक्रमको प्रष्ट संकेत गरिसकेका छन् । 

नेपाल कम्युनिस्ट पार्टीको आधिकारीकताको मुद्दा सर्वोच्चले हेर्न नभ्याइने सूचीमा राख्दै आएको छ । निर्वाचन आयोगलाई समेत विपक्षी बनाई कट्टेलले नेकपाको आधिकारिकता आफ्नो नाममा भएको दाबी गर्दै मुद्दा दर्ता गरेका थिए । 

आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता भईसकेको अवस्थामा छ । आयोगले तत्कालिन एमालेको नवौं महाधिवेशनबाट निर्वाचित ओलीलाई अध्यक्ष मान्न सक्छ । त्यसपछि प्रचण्डको पक्षका माधवकुमार नेपाल, झलनाथ खनालसहित उनीहरुको कित्तामा उभिएका सबै पूर्वएमाले नेताको राजनीतिक जीवन धरापमा पर्न सक्छ । 

के हुँदा को को सकिन्छन् ?

माथि भनिए जस्तो अवस्था सिर्जना हुँदैन भन्न सकिने अवस्था छैन । यसकारण दुबै पक्षको प्रमुख जोड भनेको २०४८ सालदेखिको तत्कालिन नेकपा एमालको चुनाव चिन्ह सूर्य हत्याउन दुबै पक्ष जोडबलले लागेका छन् ।

‘राजनीतिक जीवन सकिने भयका कारण माधब नेपालले प्रचण्ड र आफू अध्यक्ष रहेको नेकपा आधिकारिक भएको र चुनाव चिन्ह सूर्य पनि आफूहरुहै भएको दाबी गर्दै आएका हुन्’ एक जना विश्लृषक भन्छन्, ‘सर्वोच्चले फैसला गरेर नेकपाको आधिकारिकता ऋषी कट्टेलको नाममा छ भन्दियो भने माधब नेपाल र झलनाथसहित उनीहरुसँग गएका युवा नेताहरुको राजनीतिक भविष्य उठ्न नसक्ने गरी थला पर्छ तर, प्रचण्डलाई भने कुनै असर गर्दैन, उनी आफ्नै साइजमा यथावत रहन्छन्।’ 

यदि यसो भएको खण्डमा स्वभाविक रुपमा एमालेको नेतृत्व ओलीले गर्नेछन् भने माओवादीको नेतृत्व प्रचण्डले गर्नेछन् । तर, माधब नेपाल लगायत एमाले समूहबाट प्रचण्ड समूहमा गएकाहरु प्रचण्डलाई अध्यक्ष मानेर माओवादीमा बस्लान् त ? 

सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई तत्कालिन एमाले भित्र निर्णय क्षमता भएका युवा नेताहरु मानिन्छन् । तर, पार्टी पूर्व एमाले र पूर्व माओवादीमा विभक्त भएपछि उनीहरुलाई पूर्व माओवादीको छत्रछायाँमा बस्न नैतिक रुपमा असर पर्ने देखिन्छ ।

बामदेवको तटस्थताले गरेको संकेत 

बामदेव गौतम तत्कालिन एमालेको उपाध्यक्ष हुन् । राष्ट्रिय सभामा बोलेको विषय गहिरिएर अध्ययन गर्ने हो भने पनि हिजोका एमाले र माओवादी अब आ–आफ्नै बाटोमा जान सक्ने लक्षण बामदेवले देखेका छन् । त्यही भएर उनी अहिले तटस्थ देखिएका हुन् ।

‘बामदेव तटस्थ छु भनेर अहिले कुनै पनि समूहमा औपचारिक रुपमा नलाग्नुको पछाडी ठूलो रहस्य लुकेको छ, रहस्यको रहस्योद्घाटन उनले राष्ट्रिय सभाको बैठकमा गरिसके’ एकजना विश्लेषक भन्छन्, ‘यदि सर्वोच्च र निर्वाचन आयोगबाट उनले अनुमान गरेजस्तो निर्णय आयो भने बामदेव एमालेतिर लाग्ने पक्का छ, किनकी नवौँ महाधिवेशनमा ओलीलाई सघाएका कारण उनलाई एमालेको छाता मुनि बस्न नैतिक प्रश्न पनि उठ्दैन ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved