'अर्को पुनर्बीमा कम्पनी' : कति आवश्यक ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2021 | 01:08:33 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिमा नयाँ अध्यक्ष नियुक्ति भएसँगै नयाँ पुनर्विमा कम्पनीलाई लाइसेन्स दिने बिषयले बीमा बजार तातेको छ। यसअघिका अध्यक्ष चिरिन्जीवी चापागाईले आफ्नो कार्यकालमा जीवन तथा निर्जीवन गरि १९ नयाँ कम्पनीलाई लाइसेन्स दिएझैं नयाँ अध्यक्ष सुर्य प्रसाद सिलवालले पनि झन्डै आधा दर्जन कम्पनीलाई पुनर्बीमा कम्पनीको लाइसेन्स दिन सक्ने बजार चर्चा छ। 

त्यसो त अध्यक्ष शिलवालले नेपालको बीमा बजारमा पुनर्बीमा कम्पनीको सम्भाव्यता अध्ययनका लागि बीमा समितिका सल्लाहकार एवं बीमा विज्ञ भोजराज शर्माको अध्यक्षतामा अध्ययन टोलि गठन गरेका छन्। बीमक संघका अध्यक्ष दिप प्रकाश पाण्डे, चार्टर्ड एकाउटेण्ट निराजन आचार्य सदस्य रहेको यस अध्ययन टोलिले फागुन १९ गतेदेखि अध्ययन कार्य शुरु गर्ने जनाईएको छ। 

अध्ययन गर्नका लागि १५ दिनको समय पाएको अध्ययन टोलिले कस्तो प्रतिबेदन बुझाउला त्यो  प्रतिबेदन सार्वजनिक भएपछि थाहा होला। तर तत्कालिन अध्यक्ष चिरिन्जीवी चापगाइले १९ जीवन तथा निर्जीवन कम्पनीलाई लाइसेन्स बाड्न अगाडी पनि यस्तै एक अध्ययन टोलि बनाएका थिए। नयाँ कम्पनीलाई लाइसेन्स दिने सर्तमा अध्यक्षमा ल्याईएकाले त्यो अध्ययन देखाउने दाँत मात्र भएको र अहिलेपनि पुनर्बिमा कम्पनीलाई लाइसेन्स दिन अगाडी गठन अध्ययन टोलि औपचारिकता मात्र भएको आलोचकहरुको भनाई छ। 

अन्नपूर्ण , प्रुडेन्सियल, काठमाण्डौं, जेंयुन, लगायत करिब आधा दर्जन कम्पनीले पुनर्बीमा कम्पनीको लाइसेन्सको तयारी गरिरहेका छन्। कतिपयले आन्तरिक रुपमा प्रमोटर सेयरधनीहरु जुटाउन लागेका छन् भने केहिले सार्वजनिक रुपमा नै सुचना जारी गरेर प्रमोटर जुटाउन लागेका छन्।  

भारतको त्यत्ति ठुलो बजारमा भारतमा दर्ता भएको एउटा मात्र पुनर्बीमा कम्पनी रहेकोमा २० वटा निर्जीवन कम्पनी रहेको नेपालको करिब आधा खर्बको बजारको लागि आधा दर्जन पुनर्बिमा कम्पनीको आवश्यकताबारे बहस सुरु भएको छ। 

नेपालको बजारमा कतिवटा पुनर्बिमा कम्पनी आवश्यक छन् भन्ने बिषयमा मात्र नभई समग्र बीमा बजारसँग जोडिएका बिभिन्न बिषयमा बैज्ञानिक अध्ययन हुनुपर्ने बीमा बिज्ञ तथा प्रोफेशर रबिन्द्र घिमिरे बताउछन्।  

उनि भन्छन्, "औपचारिकताको लागि मात्र अध्ययन टोलि बनाउनु भन्दा समग्र बीमासँग जोडिएका बिषयबारे अध्ययन गर्नको लागि बैज्ञानिक अध्ययन हुनुपर्छ। यस्तो बिषयको अध्ययनको लागि विशिष्ट व्यक्तिहरुको एउटा समिति बन्नुपर्छ।" 

उनि भन्छन्, "अहिलेपनि बीमा बजारमा ५०० बढी सर्भेयर र ६ लाख बढी एजेन्ट छन्, यिनीहरुलाई यस्तो लाइसेन्स कसले कुन आधारले दिईयो र यिनीहरुको क्षमता के हो भन्नेबारे अहिलेसम्म कुनै अध्ययन भएको छैन। त्यसैले सबै बिषयमा अध्ययन गर्नलाई बिशिस्ट व्यक्तिहरुको एउटा समिति बन्नु पर्छ।"

यता बीमा क्षेत्रमा लामोसमयदेखि काम गरिरहेका व्यक्तिहरु भने नयाँ पुनर्बिमा कम्पनीको आवश्यकता भन्दा पनि उनीहरुको रणनीति कस्तो छ भन्ने कुरा महत्त्वपूर्ण भएको बताउँछन्। 

नयाँ पुनर्बीमा कम्पनीहरु संचालनमा आउँदा यसले वित्तीय बजारमा रोजगारी सृजना गर्नुको साथै क्यापिटललाई पनि सजिलो बनाउने भएकाले थप कम्पनी संचालनमा आउँदा वित्त बजारलाई सकारात्मक प्रभाव पार्ने जानकारहरुको भनाई छ। तर यति भन्दै गर्दा नेपाली बजारलाई मात्र हेरेर संचालनमा आउनु भन्दा भन्दा पनि अन्तराष्ट्रिय बजारमा बिक्रीयोग्य हुनु पर्ने उनीहरुको भनाई छ। 

हाल नेपालमा संचालनमा रहेको एक मात्र नेपाल पुनर्बिमा कम्पनीलाई नीतिगत रुपमै सरकारको प्रत्यक्ष साथ र सहयोग भएकाले राम्रो कारोबार गर्न सकेको छ भने निरन्तर रुपमा व्यवसाय विस्तार गरिरहेको छ। तर अन्तराष्ट्रिय बजारमा बिक्रियोग्य हुनलाई पुनर्बिमा कम्पनीले पनि धेरै संघर्ष गर्नुपरेको बीमा बिज्ञहरु बताउँछन्। यस्तो अवस्थामा अब आउने नयाँ पुनर्बिमा कम्पनीहरु पनि अन्तराष्ट्रिय बजारमा बिक्रियोग्य भएर आउनुपर्ने जानकारहरु बताउँछन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved