देउवा सरकारको एक महिनाः मन्त्रिमण्डल खाली, संसदमा ‘दोहोरी’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2021 | 09:45:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको आज बिहिबार १ महिना पूरा भएको छ । तर, सत्ताको नेतृत्व सम्हालेको महिना दिन पुग्दासमेत देउवा ५ जना मन्त्री बोकेर हिडेका छन् ।

अहिले देउवा क्याबिनेटमा गृहमन्त्री, अर्थमन्त्री, कानुनमन्त्री, उर्जामन्त्री र स्वास्थ्य राज्यमन्त्री मात्रै छन् । बाँकी सबै मन्त्रालयको जिम्मेवारी अहिले देउवाले आफैँसँग राखेका छन् । 

सरकार गठन भएको महिना बितिसक्दा पनि मन्त्रिमण्डललाई पूर्णता दिन नसकेकोमा प्रमुख प्रतिपक्षी नेकपा एमाले मात्रै नभई सत्ता गठबन्धनको माओवादी र स्वयम् काँग्रेसका नेताहरुले देउवाको आलोचना गर्न थालिसकेका छन् । विपक्षी दलका नेताका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदबाट यस विषयमा आलोचना गर्न सुरु गरिसकेका छन् भने काँग्रेसकै गगन थापाले पनि यस सम्बन्धमा सरकारको कटु आलोचना थालेका छन् ।

देउवाले किन सकेनन् मन्त्री नियुक्त गर्न ?

मन्त्रालय भागवण्डामा गठबन्धन दलहरूबीच सहमति नै छ । तर, आकांक्षी धेरै हुँदा नेताहरुलाई मन्त्री छान्न सकस परेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक औपचारिक कार्यक्रममै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘पार्टीका ४९ जना सांसदलाई नै मन्त्री चाहिएको छ, म केही दिनदेखि मानसिक तनावमा छु’ भनेरै बोल्नुपर्ने बाध्यता आईलाग्यो ।

काँग्रेसको रामचन्द्र पौडेल पक्षले उपप्रधानमन्त्री सहित सम्मानजनक हैसियत नपाए आफ्नो समूह सरकारमा सहभागी नहुने घुर्की लगाउँदै आएको छ । 

सरकार बनाउन र देउवालाई विश्वासको मत दिलाउन भूमीका खेलेको एमालेको माधब नेपाल समूहले सरकारमा सहभागी हुने वा नहुने स्पष्ट नपार्दिदा पनि देउवालाई सकस परेको छ । माधब नेपाल अघिल्लो दिन सरकारमा सहभागी नहुने तर्क गर्छन् भने भोलीपल्ट ओलीसँग बस्न सकिँदैन, सरकारमा जान्छौँ भन्ने खालका भाषणवाजी गर्दै हिडेका छन् ।

जनता समाजवादी पार्टी (जसापा) भित्र उपप्रधानमन्त्री पाएको खण्डमा उपेन्द्र यादव आफैँ सरकारमा जाने दाउमा छन् । बाबुराम भट्टराई निकटका केही नेताहरु पनि यसपाली मन्त्री बन्ने लाइनमा छन् । 

सत्ता घटक दलहरुले नै मन्त्रीका नाम पठाउन नसकेपछि यसको दोष देउवाले खेप्नु परेको छ । 

आफ्नै सचिवालय नै छैन

सरकार गठनको एक महिनासम्म पनि देउवाले आफ्नो निजी सचिवालय पनि बनाउन सकेका छैनन् । किचन क्याबिनेटमा को जाने वा रहने भन्ने काँग्रेसको संस्थापन पक्षमा रस्साकस्सी र प्रतिष्ठाको लडाइँका रुपमा देखा परेको छ ।

महामन्त्री पूर्ण बहादुर खड्का आफ्नो पक्षका नेताहरुलाई देउवाको किचन क्याबिनेटमा पुर्याउन चाहन्छन् । काँग्रेसको प्रवक्तासमेत रहेका युवा नेता विश्वप्रकाश शर्मा नदेखिने गरी देउवाको सचिवालयमा शक्तिशाली भएर बस्न चाहेका छन् । 

केही दिन अघि ‘मलाई प्रधानमन्त्री शेरबहादुर देउवा मनपर्छ, किनभने.......’ भन्ने अभियान सुरु हुँदा पूर्णबहादुर खड्का र विश्वप्रकाश शर्माले सामाजिक सञ्जालबाटै आपत्ति जनाए । यसकारण पनि देउवाको किचन क्याबिनेटमा पुग्न नेताहरुबीच लामै कसरत भईरहेको छ भन्ने देखाउँछ ।

संसद काम बिहिन

प्रतिनिधिसभा भंगको निर्णय दोस्रो पटक पनि बदर भएपछि ब्यूँतिएको संसद अहिले सत्ता पक्ष र विपक्षको दोहोरी खेल्ने थलो मात्रै बनेको छ । संसद दोस्रो पटक पुनःस्थापना भएको १ महिना पूरा भए पनि ठोस काम केही पनि गर्न सकेको छैन । 

ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएका अध्यादेशहरु संसदमा पेश भएपनि तिनलाई पारित गराउने विषय सत्ता गठबन्धनको प्राथमिकतामा छैनन् । जसका कारण प्रतिनिधिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरु सुन्ने समय र विशेष समयमै सकिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved