एक शेयर लगानीकर्ताको वास्तविक पिडा: सेयरबजार घट्दा श्रीमतिले दिईन् डिभोर्सको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2022 | 06:50:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सुजन दाहाल

मैले शेयर बजारको बारेमा धेरै पहिला देखी नै सुनेको हुँ । तर म विजनेशको बिद्यार्थी नभएर अन्य संकायको विद्यार्थी भएकाले त्यति वास्ता गर्दिन थिए । कसैले कुरा गरे भने सामान्य ढंगले सुन्थे र हिड्थे । कोरोनाकालमा शेयर बजारको ठूलो हल्लिखल्ली भयो । सवै मानिसहरु घरमा थुनिएका अरु काम केही थिएन । समयको सदुपयोग पनि हुने पैसा पनि कमाइ हुने भनेर सेयर बजारमा छिरेका रहेछन् । प्राय अधिकांश मानिसहरु चाँही आइपिओको कुरा गर्थे । विस्तारै म पनि सेयर बजार प्रति आकर्शित हुदै गए र कम्तिमा आइपिओ सम्म भर्नु पर्छ भनेर २०७७ श्रावणबाट घरका सवै सदस्यहरुको बैकमा गएर खाता खोले र आईपिओ भर्न थाले । 

विस्तारै केही आईपिओहरु पर्दै पनि गयो । ईन्फ्रास्ट्रचर बैक जस्ता केही ठूलो आइपिओले मलाई रामो प्रतिफल दियो । लघुवित्तका केही आईपिओले त दाल भात नै खुवायो । निरन्तर आईपिओ भर्दै गए र शेयर बजारका बारेमा विस्तारै बुझ्दै पनि गए । सेयर कारोवारी साथीभाईहरुसंग सम्पर्क गरी कुराकानी गर्थे । उनीहरुको कुरा सुन्थे । शेयरमा यति कमाए र उति कमाए भनेर खुव फाइफुटी लाउथे । रवाफ नै बेग्लै थियो । हिजो सम्म सामान्य अवस्थाको आज करौडोको कुरा गर्न थाले पछि मलाई पनि मनमा छटपटी सुरु भयो । वास्तवमा सेयरमा पैसा गुमाउने चुपचाप बस्दा रहेछन् । शेयरबाट पैसा कमाउनेहरु हल्ला गर्दै हिडदा रहेछन् । 

बजार हल्लाले गर्दा मैले पनि शेयर बजार छिर्न पाए त पैसा कमाउने थिए होला भनेर सोच्न थाले । सेयरबाट भविष्यमा करौडौ रकम कमाउने र आरामको जिन्दगी विताउने भनेर सपना देख्न थाले । सेयरबाट पैसा कमाएर श्रीमति छोरोछोरीका सवै रहर र चाहना पुरा गरिदिन्छु भनेर कल्पनामा डुब्न थाले । साथीभाई इष्टमित्र, नरनाता र कुटुम्वका अगाडी सानले हिड्छु भन्ने सोच्न थाले । अहिलेको म सुजने भोली पैसा कमाए पछि सुजनबाबु हुन्छु भन्ने सम्मको क्षितिज सम्म पुगे । तर शेयरमा लागानी गर्न धेरै पैसा त म संग थिएन । फेरी सोचे कही कतैबाट उपाय निकालेर पैसाको व्यवस्था गर्छु । 

२०७८ श्रावणमा अनलाईन शेयर खरीद विक्री गर्नका लागि ब्रोकर कम्पनीबाट टिएमएस लिए । अव पैसाको प्रवन्ध गर्नु पर्ने भयो । एउटा बैकमा चिनेको मान्छे थियो त्यसलाई गएर पापड बेल्दा बेल्दा जग्गा धितो राखेर पन्ध्र लाख लिन सफल भए । त्यो पन्ध्र लाख आउने वितिकै गएर ढिलो नगरी विभिन्न कम्पनीको शेयर किने । मैले किने पछि शेयर अझ बढदै गयो । म त नाफा खाने बानी नपरेको थोरै नाफा हुने वित्तिकै बेचिहाल्थे । मैले करीव डेढ लाख जति नाफा गरे होला । त्यो नाफाको पैसा आउदा त मेरो घर नै उज्यालो भयो । श्रीमति खुसी, हिजो सम्म बुवाले सुजन भन्दै गरेकोमा बाबु खोई भन्न थाल्नु भयो । म पनि पनि दङ्ग। घर चलाउन पनि सहज भयो । परिवारमा खुसी छायो ।  

शेयर बजारबारे धेरै ज्ञान नभएको म हौसिदै गए । अलिकति कमाई भए पछि अझ पैसा थप्न पाए त अझै कमाई हुन्थ्यो भन्ने लाग्न थाल्यो । तर पैसा थिएन । श्रीमतिको गहना बेचर पैसा निकाल्नु पर्यो भनेर उसलाई भने तर श्रीमतिले मानिन । उसलाई लोभ, लालच र आश देखाउदै गए । आखिर भोली कमाएको पैसाले अझ राम्रो गहना लाउन पाइन्छ भने दिउ न त भन्ने लागेछ क्यार श्रीमति गहना बेचेर पैसा दिन तयार भईन् । श्रीमतिको गहना बेचेको छ लाख पचास हजारले एउटा फाइनान्सको शेयर उठाए । शेयर अलिकति बढिपनि हाल्यो । केही रकम कमाई भई हाल्यो । 

फेरी अझ पैसा भए त हुन्थ्यो भन्ने लाग्न थाल्यो । त्यति नै बेला सासु आमा हाम्रो घर आउनु भएको थियो । सासुले शेयरको कमाई आदीको सवै कुरा सुनिरहनु भएको थियो । सासु खुसी नै हुनु हुन्थ्यो, छोरी ज्वाँईको कमाई हुने कुराले । मौका यही हो भनेर श्रीमतिलाई सासुसंग पैसा माग्न भनेर भने । श्रीमतिले पनि पैसा मागिन र छ महिनाको लागि सासुले पनि पाँच लाख दिनु भयो । त्यो पाँच लाखको पनि शेयर किने । मेरो दुर्भाग्य त्यो सेयर किने देखी आजसम्म शेयर बजार घटेर दुई हजार भन्दा तल आइसक्यो । 

बैकबाट लिएको ऋण पन्ध्र लाख, श्रीमतिको गहना बेचेको छ लाख पचास हजार र सासुबाट लिएको पाँच लाख गरी जम्मा छब्विस लाख पचाँस हजार सवै रकम नेप्से करीव एकतिस सय भएको बेला शेयर बजारमा लगानी गरेकोमा अहिले शेयर बजारको घट्दो क्रमले मेरो जम्मा पुँजीको आधा करीव तेह्र लाखमा झरेको छ । हरेक अग्रेजी महिनाको २० तारिखमा बैकमा सावा ब्याज बुझाउनु पर्ने पिडा छ । बैकको सावा ब्याज बुझाउन पनि ऋण नै खोज्नु पर्ने अवस्था छ । 

साासुको पैसाको कारण ससुरालीसंग सम्वन्ध विग्रियो । पैसा तिर्न नसकेकाले ससुराल आइजाई नै बन्द छ । कुन मुखले सुसुराल जानु जस्तो लाग्छ । हिनताबोधले मन नै कुडिएको छ । श्रीमतिको गरगहना नभएर विवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यमा समेत जान छाडेकोे अवस्था छ । बैकको पैसा तिर्ने कुरा त छदै छ त्यो भन्दा तनाव त रातदिनको श्रीमतिको कचकच झन ठूलो छ । हरेक दिन घरमा भात खाने बेलामा श्रीमतिको गाली खानु परेको छ । घरमा जति भात खाईन्छ त्यसको दुई गुणा बढी त श्रीमतिको भनाई नै खानु परेको छ । हुदाँ हुँदा श्रीमतिको डिभोर्सको चेतावनी सम्म सहनु परेको छ । 

नेप्से कारोवार हुने हरेक दिन हतार हतार टिएमएस खोलेर हेर्यो सबै रातो मात्र हुन्छ । जब रातो मात्र देख्छु तव मनमा पिढाबोध हुन्छ । खाइ नखाई ऋणपान गरेर दुई पैसा कमाई होला, छोराछोरीको भविष्य उज्वल बनाउन सकिएला र घरव्यवहार पनि राम्रोसंग चल्ला भनेर लगानी गरेको आज सवै बालुवामा पानी हाले जस्तो भएको छ । शेयर बजारमा गरेको लगानीको उल्टो बृद्धिले परेको असरले मलाई प्रेशरको रोग उपहार दिएको छ । बेलाबेला त मलाई डिप्रेशन नै भएको हो कि जस्तो समेत लाग्न थालेको छ । 

दिनभरी घरबाहिर हुन्छु र यसोउसो गरेर मन भूल्याउछु तर बेलुकी सुत्ने बेला ऋण, श्रीमति र सासुको पैसा सम्झिएर छाति पोलेर आउछ । मनमा आगो उठेर आउछ । अव यत्रो करीव तेह्र लाख रुपयाँ कहाँबाट कसरी तिर्ने भनेर औडाहा भएर आउछ । मसंग तेत्रो पैसा तिर्ने हैसियत पनि छैन । म जस्तो सानो लगानीकर्ता त यति धेरै पिडामा छु भने म जस्ता र अझ ठूला लगानीकर्ताको हविगत आज कस्तो भएको होला । मेरो व्यथा र कथा कस्ले सुन्छ ? म र म जस्ताको पिढा कस्ले बुझछ ? चारैतिर अध्यारो मात्र देख्न थालेको छु । शेयर बजारले मर्नु न बाँच्नु को अवस्थामा पुर्याएको छ । 

धेरै हौसिएर ठूलो सपना देखेर विना ज्ञान अरुको लहलहैमा लागेर अरुले पैसा कमाएको भन्ने भ्रममा परेर मैले जे भोग्नु परेको छ अरुले भोग्न नपरोस । सेयर बजार सम्भावनाको क्षेत्र त हो तर त्यति नै जोखिमको क्षेत्र पनि रहेछ । सेयर बजार पनि एउटा लगानीको क्षेत्र हो भन्ने आत्मसाथ गरेर सरकारले यसको व्यवस्थापन राम्रोसंग गरिदिएको भए मैले जस्तोे पिढा अरु कसैले पनि भोग्नु पर्ने थिएन । नेपाल राष्ट्र बैक, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड आदी शेयर बजारका नियामक निकायहरुले अव पनि शेयर बजारलाई सम्हल्न चासो नदिने हो भने भयावह स्थितिको सामना गर्नु पर्ने हुन सक्छ र लाखौ लगानीकर्ताहरु रोडमा आउने पनि निश्चित छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved