'लगानी सम्मेलनबाट दीर्घकालिन फाइदा हुने आधार तयार भएको छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2024 | 09:54:48 AM मा प्रकाशित

laxmi sunrise bank

‘इमर्जिङ नेपाल इन्भेष्टमेन्ट समिट’ हालै सम्पन्न भएको छ । यसअघि पनि २ पटक लगानी सम्मेलन भएका थिए । तर यसपालिको लगानी सम्मेलनमा निजी क्षेत्रका ३ वटा ठूला छाता संगठनहरु सह–आयोजकको भूमीकामा रहे । यसकारण यस वर्षको लगानी सम्मेलनमा निजी क्षेत्रलाई साथमै लिएर सरकारले निजी क्षेत्रको महत्व बुझेका छौँ भन्ने जुन सन्देश दियो, यो निकै महत्वपूर्ण रह्यो ।

लगानी कुनै पनि देशको आर्थिक समृद्धिका लागि पहिलो शर्त हो । लगानी आएपछि पूर्वाधार बन्छन् ।  जुनसुकै क्षेत्रमा जति बढी लगानी आउँछ, त्यसले रोजगारी पनि उत्तिकै सिर्जना गर्छ । यसकारण हरेश देशले आफ्नो देशमा लगानी आकर्षण गर्न विभिन्न प्रयासहरु गरिरहेकै हुन्छन् । त्यहीँ सन्दर्भमा यसपालि हामीले तेस्रो लगानी सम्मेलनको सफलतापूर्वक आयोजना ग¥यौँ ।

यसपालिको लगानी सम्मेलनबाट नेपाल लगानीको उपर्युक्त गन्तव्य हो भन्ने सन्देश विश्वभरी पुगेको छ । हामीसँग लगानीका प्रचूर सम्भावनाहरु छन् । जलविद्युत, पर्यटन, वन पैदावर, उत्पादनमूलक उद्योगहरु, जडिबुटी, खानीजन्य उद्योगहरु, मिनरल्स, कृषि लगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना छ । हाम्रो देशको भौगोलिक अवस्थाले पनि उल्लेखित क्षेत्रमा लगानी गर्दा निकै फाइदा दिलाउने स्थिति छ । यसपालिको लगानी सम्मेलनबाट विश्वका ५५ देशबाट आउनु भएका सयौँ लगानीकर्ताका माझ यो कुरा पुगेको छ ।

साथै, हाम्रो देशमा भएको युवा जनशक्ति पनि अर्को फाइदा हो । हाम्रो देशको कुल जनसंख्यामध्ये ५७ प्रतिशत भन्दा बढी जनसख्ंया ‘वर्किङ एज ग्रुप’को छ । कुनै पनि क्षेत्रमा लगानी आउँछ भने ५७ प्रतिशतभन्दा बढी रहेको कामकाजी उमेर समूहले आवश्यक जनशक्तिको पूर्ति गर्छ । अन्य देशको तुलनामा हाम्रो युवा जनशक्ति बढी जाँगरिलो पनि छ । यसले पनि नेपालमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्दा कामदारको अभाव हुँदैन भन्ने देखाउँछ ।

अर्को महत्वपूर्ण कुरा भनेको नेपाल विश्वका दुइ ठूला अर्थतन्त्र भएका देशको बीचमा अवस्थित छ । भारत र चीन ठूलो अर्थतन्त्र भएका मुलुक हुन् । यी दुइ देशको जनसंख्या ३ मिलियन बढी छ । विश्वको जनसंख्याको ३५ प्रतिशत हिस्सा ओगटेका यी दुइ हाम्रा मित्र राष्ट्रहरु नेपाल र विश्वकै लागि ठूला बजार हुन् । दूरीका हिसाबले एकदमै नजिक रहेकाले यसको मुख्य फाइदा हामीले लिन सक्छौँ ।

प्राकृतिक उपचार पद्धति र नेपालको जडिबुटीको आफ्नै ऐतिहासिक महत्व छ । साथै, नेपालको अन्तराष्ट्रिय चिनारी के पनि छ भने नेपाल धार्मिक र शान्त देश हो भन्ने छ । यसलाई उपयोग गरेर हामीले ‘ग्लोबल हेल्थ एण्ड वेलनेश इन्डष्ट्रि’मा पनि लगानी ल्याउन सक्छौँ । 

अर्को हाम्रो जडिबुटीमै ‘ब्यूटी प्रोडक्ट’को ठूलो सम्भावना छ । विश्वका धेरै राष्ट्रहरुमा ‘ब्यूटी प्रोडक्ट’हरुको प्रचूर मात्रामा माग भइरहेको छ । भेनेजुयलाको एउटा टोली हामीसँग भेट गर्न आउँदा पनि उहाँहरुले नेपालको ‘ब्यूटी प्रोडक्ट’को ठूलो बजार भेनेजुयला हुन सक्छ भन्नुभएको छ । किनकी, हरेक महिलाले आफ्नो जीवनमा कमाएको कुल आम्दानीको २० प्रतिशत ब्यूटी प्रोडक्टमा खर्च गरेका हुन्छन् त्यहाँ । यसकारण हामीले हेर्दै आएका विश्व सुन्दरी प्रतियोगीताहरुमा भेनेजुयला निकै अगाडी छ ।

अर्कोतर्फ, नेपाललाई ‘मस्ट भिजिट प्लेस’का रुपमा धेरै देशले देखाइरहेका छन् । यसले पनि नेपाल पर्यटनको ठूलो आकर्षणको केन्द्रका रुपमा रहेको छ भन्ने देखाउँछ । 

अहिले ‘ग्लोबल वार्मिङ एण्ड क्लाइमेट चेन्ज’ विश्वकै सबैभन्दा ठूलो चूनौति बनिरहेको छ । यसकारण विश्व नै अहिले शून्य कार्वन उत्र्सजनमा केन्द्रित भइरहेको छ । यस्तो बेलामा हामीसँग ग्रिन हाइड्रोजनको ठूलो सम्भावना छ । 

हालै सम्पन्न भएको लगानी सम्मेलनमा नेपालका यी र यस्ता धेरै सम्भावनाहरु उजागर भएको छ । विश्वभरीबाट आउनु भएका लगानीकर्ताले नेपाल लगानीको उपर्युक्त गन्तव्य हो भन्ने सन्देश बोकेर फर्किनु भएको छ । 

सँगै, लगानी सम्मेलनकै क्रममा हामीले ‘बाइलेट्रल इन्भेष्टमेन्ट एग्रिमेन्ट फ्रेमवर्क मोडल’ पनि अपनायौँ । हाम्रो प्रधानमन्त्रीले विभिन्न देशलाई बाइलेट्रल इन्भेष्टमेन्ट एग्रिमेन्टका लागि आह्वान पनि गर्नु भएको छ । यसले विदेशी लगानीकर्ताको ‘प्रोटेक्शन’ गर्न सरकार तयार छ भन्ने देखाएको छ । यी सबै लगानीका आकर्षणलाई लिएर हामीले सरकार र निजी क्षेत्रको तर्फबाट १५० जति परियोजनाहरु प्रस्तुत गर्यौँ ।

ऐन संशोधनले निजी क्षेत्र उत्साहित

लगानी सम्मेलनकै मुखमा सरकारले निजी क्षेत्रको सुझाव अनुसार ९ वटा ऐनहरु संशोधन गरेर लगानीमैत्री वातावरण छ भन्ने सन्देश दिएको छ । संसद बैठक नभएको बेलामा अध्यादेशमार्फत सरकारले जुन काम गर्यो, त्यसले स्वदेशी तथा विदेशी लगानीकर्तालाई एक खालको उत्साह प्रदान गरेको छ । 

यसबाट के देखिन्छ भने लगानी सम्मेलनकै क्रममा सरकारले पनि कानुनी सुधार गरेको छ र निजी क्षेत्र पनि नेपालमा लगानीका लागि बाह्य लगानीकर्तालाई आह्वान गरिरहेको छ । लगानी सम्मेलनबाटै नेपाल लगानीको आकर्षक गन्तव्य हो भन्ने कुरा पुष्टि गरेको छ । यसका लागि यहाँको निजी क्षेत्र र सरकार एकसाथ लागिरहेका छन् भन्ने सन्देश पनि प्रवाह भएको छ । यसकारण अहिले विश्व नै एक खालको आर्थिक मन्दीमा रहेका बेला नेपालले जुन उदेश्यका लागि लगानी सम्मेलनको आयोजना गर्यो, त्यो उदेश्य पूरा भएको छ ।

तत्कालको फाइदा होइन, दीर्घकालिन लाभ हेर्नुपर्छ

हामीले लगानी सम्मेलनलाई तत्काल के भयो के भएन भनेर अहिले नै सबै कुराको अपेक्षा गर्नु हुँदैन । एउटा कुरा, नेपालको निजी क्षेत्रले के राम्ररी बुझेको छ र सरकारलाई बुझाएको पनि छ भने लगानी र पानीको प्रकृति एउटै हुन्छ । जता ओरालो हुन्छ, उतैतिर बग्छ । यस आधारमा हामीले लगानीका लागि जतिसक्दो सजिलो वातावरण बनाउँदै जानुपर्छ । 

लगानी सम्मेलनका क्रममा जम्मा ६ अर्बको मात्रै सम्झौता भयो, यसकारण लगानी सम्मेलनको उपलब्धि भएन भनेर अहिले नै टिप्पणी गर्नु हुँदैन । हामीले कुन बेला लगानी सम्मेलन गर्यौँ ? हामीले विश्वलाई के सन्देश दियौँ भन्ने कुरा महत्वपूर्ण हो । कोरोना महामारी लगत्तैको रुस–युक्रेन युद्ध, मध्यपूर्वमा भइरहेको तनावको स्थितिले अहिले विश्व अर्थतन्त्र संकुचनमा छ । यस्तो अवस्थामा हामीले हाम्रो देशमा लगानीको पर्याप्त वातावरण छ, लगानीका प्रशस्त सम्भावनाहरु छन् भनेर देखाउन खोजेका हौँ । यसमा लगानी सम्मेलन सफल रह्यो ।

साथै, निजी क्षेत्रले उठाउँदै आएको कानुनी सुधारका सन्दर्भमा जति पनि प्रयत्न सरकारबाट भयो, त्यसबाहेक पनि गर्नुपर्ने धेरै छ । नेपालका सबै राजनीतिक दलहरुले भविष्यमा गर्नुपर्ने कानुनी सुधारका लागि प्रतिवद्धता जनाउनु भएको छ । 

यसकारण लगानी सम्मेलनले पहिलो पटक विदेशका लगानीकर्तामाझ नेपालका निजी क्षेत्रलाई पनि सरकारले साथै लिएर हिडेको सन्देश दिइएको छ, यसले नेपाललाई दीर्घकालसम्म लाभ दिलाइ रहनेछ । जुन हाम्रो अपेक्षा र उदेश्य पनि हो ।

तत्काल २ कुरा आवश्यक

विदेशी लगानीकर्ताले आफूले लगानी गर्दा ऐन कानुनका प्रावधानसहित २ वटा कुरा विशेष रुपले हेर्ने गर्दछन् । एउटा, कन्ट्री रेटिङ र अर्को हेजिङ । कन्ट्री रेटिङ हुने प्रक्रियामा छ । लगानी सम्मेलन अगाडी नै यसको नतिजा आउँछ भन्ने थियो, अलि ढिला भए पनि प्रक्रियामै रहेकाले यसको नतिजा चाँडै आउने देखिन्छ ।

अर्को कुरा भनेको हेजिङ हो । यसलाई पनि सरकारले लगानीमैत्री हुने गरि नियमावली ल्याउँछ भन्नेमा हामी आशावादी छौँ । सरकारले यस अनुसारको प्रतिवद्धता पनि जनाएको छ ।

‘इजी इन्ट्री’ र ‘स्मूथ एक्जिट’ महत्वपूर्ण

विदेशी लगानीकर्ताले हेर्ने भनेको एउटा ‘इजी इन्ट्री’ हो । अर्को ‘स्मूथ एक्जिट’ हो । अर्को चाहिँ ‘इजी रिपाट्रिएशन अफ प्रोफिट’ पनि हो । यी ३ वटै विषयमा नेपालको निजी क्षेत्रले सरकारलाई झकझक्याइरहेको छ । अत्यन्त गम्भिर भएर लागेको पनि छ । साथै, ‘इजी इन्ट्री’ र ‘स्मूथ एक्जिट’सहित नाफा आफ्नो देशमा लैजान कुनै असजिलो छैन भनेर बाह्य लगानीकर्तासँग नेपालको निजी क्षेत्रले अन्तरक्रिया पनि चलाइरहेको छ ।

यसकारण हामीले जुन जुन क्षेत्रमा लगानीका सम्भावनाहरु देखाएका छौँ, त्यसमा बाह्य लगानीकर्ताले आफ्नो हिसाबले अध्ययन गरिरहनु भएको छ । यसले दीर्घकालसम्म लाभ हुने गरि नेपालमा लगानी भित्रिन्छ भन्ने देखाएको छ ।

निजी क्षेत्र बाह्य लगानी ल्याउन सफल हुनेछ

हामीले जति पनि परियोजना प्रस्तुत गर्यौँ, त्यसमा सरकार र निजी क्षेत्रका परियोजना थिए । हाइड्रोपावर बढी देखिए पनि सबै क्षेत्रका प्रोजेक्टहरु समावेश छन् । पर्यटन, उत्पादनमूलक उद्योग, केवलकार जस्ता प्रोजेक्टहरु पनि समावेश छन् । हामीले जति पनि प्रोजेक्ट देखायौँ, ति सबैमा कुनै न कुनै रुपमा प्रोजेक्ट अनुसार नै वार्तालाप अगाडी बढेको छ ।

निजी क्षेत्रले जति पनि परियोजना प्रस्तुत गर्ने अवसर पायो, तिनमा कुनै न कुनै रुपमा विदेशी लगानी भ्त्रियाउन निजी क्षेत्र सफल हुनेछ । किनकी, निजी क्षेत्रका प्रोजेक्टमा पहिले नै कुनै प्रतिशत र मोडालिटीको आवश्यकता हुँदैन । हामीले ‘बी टू बी’ मिटिङमा छलफल गरेर एउटा निष्कर्षमा पुग्ने हो ।

साथै, हामीले प्रस्तुत गरेका परियोजनाबाहेक अन्य क्षेत्रमा पनि लगानीकर्ता आकर्षित हुनु भएको छ । उहाँहरुका लगानीका आ–आफ्ना क्षेत्रहरु छन् । जस्तो, चेम्बर अफ कमर्समा भारतबाट ठूलो डेलिगेशन आएको थियो । उहाँहरुले आफ्नो इच्छित क्षेत्रहरु यी यी हुन् भन्नु भएको छ । 

यसकारण हाम्रो अध्ययनले मात्रै हुँदैन । विदेशी लगानीकर्ताले आफ्नो विश्लेषण गर्छन् । भविष्यमा प्रोजेक्टको सबै मोडालिटी नै पनि परिवर्तन हुन सक्छ । नयाँ नयाँ प्रविधि भित्र्याउन सक्छन् । हामीले जति पनि परियोजनाहरु शोकेस गर्यौँ, लगानीकर्ताहरु त्यसमा मात्रै आउने होइन । शोकेस भनेको एउटा प्रक्रिया मात्रै हो । शोकेसमा राखिएका परियोजनाहरुको लगानी मोडालिटी जुन हामीले प्रस्तुत गरेका छौँ, त्यसमा लगानीकर्ताहरुले अब आफ्नो ढङ्गले अध्ययन गर्नुहुन्छ । अहिले हामीले भनेको मोडालिटी फेरिन पनि सक्छ । जुन ठाउँमा जुन परियोजना भनेर हामीले देखाएका छौँ, त्यो भन्दा राम्रो अर्को ठाउँ भेटिन पनि सक्छ । त्यसको डीपीआर पनि बन्छ । 

चर्चित अनुहार आएनन् भनेर सम्मेलन असफल भयो भन्न मिल्दैन

लगानी सम्मेलनकै क्रममा ६ अर्बको लगानी सम्झौता भएको छ । यो सुःखद हो । लगानी सम्मेलनकै क्रममा ठूलो सम्झौता भइहाल्छ भन्ने हुँदैन । यसैलाई देखाएर असफल भयौँ कि भन्ने कुरा अत्यन्त गलत कुरा हो । किनकी, कोभिड पछि विश्व अर्थतन्त्रमा संकुचन आएको छ । धेरै ठूला ठूला लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् । 

यसकारण चर्चित अनुहारहरु वा विश्वभरी कहलिएका ठूला लगानीकर्ताहरु आएनन् भन्दैमा सम्मेलन नै असफल भयो भन्ने हुँदैन । उहाँहरुको आन्तरिक केही कारण होला, काम होला, समय मिलेन होला । यो त हामीलाई थाहा हुने कुरा भएन । म फेरि पनि भन्छु, ठूला लगानीकर्ताहरु आएनन् भनेर सम्मेलन सफल भएन भन्न मिल्दैन । धेरै लगानीकर्ता आउनु भएको छ, कतिपयले त बस्ने ठाउँ समेत पाउनु भएन । उभिएरै हाम्रा प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेता र यहाँको निजी क्षेत्रको सम्बोधन सुन्नेपर्ने बाध्यता बन्यो । म त भन्छु, सम्मेलन स्थल नै सानो भयो । सम्मेलन स्थलमै नअट्ने गरि आएका ५५ देशका सयौँ लगानीकर्ताहरु को हुन् त ? उहाँहरुको कुनै लगानी नै छैन त ? हो, हामीले केही विश्व चर्चित लगानीकर्ताहरुलाई निमन्त्रणा पठाएका थियौँ, उहाँहरुको पनि उपस्थिति भएको हुन्थ्यो भने राम्रो हुन्थ्यो । तर, उहाँहरु आउन सक्नु भएन, यसमा उहाँहरुको आफ्नै आन्तरिक काम र परिस्थिति होला । लगानी सम्मेलनमा नआउँदैमा यहाँ लगानी गर्नै नपाइने भन्ने होइन, उहाँहरु आफ्नै ढङ्गले विश्लेषण गरिरहनु भएको पनि हुन सक्छ । 

यसकारण यो विषयलाई यति सानो रुपमा कसैले पनि हेर्नु हुँदैन । झन मिडियाले त हुँदै हुँदैन भन्छु म । जुन रुपमा, जुन समयमा लगानी सम्मेलन यति सफलतापूवर्क सम्पन्न भयो र यसबाट विश्व समुदायलाई नेपाल लगानीको उपर्युक्त गन्तव्य हो भन्ने जुन सन्देश हामीले दियौँ, यो नै महत्वपूर्ण र ठूलो उपलब्धि हो ।

(नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालसँग गरिएको कुराकानीमा आधारित)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved