बजेटमा आन्तरिक ऋणको हिस्साबारे विज्ञको चिन्ता, कसले के भने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2024 | 03:49:55 PM मा प्रकाशित

सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्अन्तर्गत दुबै सदनको संयुक्त बैठकमा पेश गरेको बजेटलाई लिएर प्रशंसा र आलोचना भइरहेको छ ।

बजेटलाई कतिपयले चमत्कारिक भनेका छन् भने धेरैले जनतामा भरोसा र विश्वास जगाउन नसकेको भनी टिप्पणी गरेका छन्। बुधार बजेटलाई लिएर रिपोर्टर्स क्लब नेपालद्वारा अर्थविद्हरुसँग साक्षात्कार कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले बाहिर बजारमा हल्ला आएको भन्दा कम आकारको बजेट आएको बताए । 

त्यस्तै, यसपटकको बजेटमा प्रधानमन्त्रीले महत्वकांक्षी परियोजनासमेत घुसाउने धेरैले अनुमान गरेको भएपनि त्यसबाट पनि बजेट जोगिएको पनि उनले बताए । उनले आगामी बजेट सन्तुलित रहेको  पनि बताए ।

उनले राजस्वको लक्ष्यसमेत चालू आर्थिक वर्षको भन्दा कम रहनु राम्रो पक्षको रुपमा चित्रण गरे । ‘हामीलाई बजारमा के भनिएको थियो भने, यसपटकको बजेट साढे १९ खर्बभन्दा घटीको आउँदैन । प्रधानमन्त्रीले महत्वकांक्षी परियोजनाहरु ल्याउनु भएको छ भनिएको थियो । जस्तो, भरतपुरमा क्रिकेट मैदान आधुनिक बन्छ भनिएको थियो ।’ 

उनले भने, ‘पहिले अध्ययन नगरिएको, प्रोजेक्ट बैंकिङअन्तर्गत नपरेका परियोजनाहरु पनि त्यसमा छिर्न थाले भने त सामान्य किसिमको बजेट तर्जुमाले त भ्याउँदैन होला भन्ने थियो । तर, बजेट आउँदाखेरी १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको  आयो ।’ 

साथै, ऋण सही ठाउँमा उपयोग हुनुपर्ने पनि उनले बताए ।राष्ट्रिय योजना आयोजका पूर्वउपाध्यक्ष समेत रहेका क्षेत्रीले बजेटमा आन्तरिक ऋणको अवस्था भने डरलाग्दो रहेको बताए । 

उनले आन्तरिक ऋणलाई सरकारले आयको स्रोतका रुपमा उपयोग गर्दाको असर निजी क्षेत्रको लगानीमा देखिने बताए । अहिले बैंकिङ सेक्टरमा करिब ६ खर्ब लगानीयोग्य रकम रहेको तथ्याङ्क प्रस्तुत गर्दैै उनले सरकारले आन्तरिक ऋणलाई पनि सही ढंगले परिचालन गर्न सक्नुपर्ने बताए । 

‘ऋण लिएर त्यसलाई सदुपयोग नगर्ने हो भने डराउन पर्ने हुन्छ । अन्तरिक स्रोतबाट करिब २ खर्ब ५० अर्ब ऋण लिन्छौं भनिएको छ । त्यसको एउटा जोखिम के हुन्छ भने बैंकहरुमा भएको पैसाले नै त्यो ऋण लिने हो’, उनले भने, ‘त्यो पैसा बैंकबाट सरकारले लिइदियो भने बैंकहरुले निजी क्षेत्रलाई कर्जा दिन नसक्ने परिस्थिति आउँछ कि भन्ने हो ।’ 

साथै, रोजगारी अभिवृद्धिका केही नयाँ कार्यक्रमसमेत बजेटमा समावेश गरिएको भन्दै उनले प्रशंसा गरे ।

त्यस्तै, पुर्वमूख्य सचिव डा विमल कोइरालाले बजेट एकदमै राम्रो आओस् र प्रशंसा गर्न पाइयोस् भनेपनि सोचेजस्तो नआएको बताए । उनले बजेटहरु मिसमास प्रकृतिको रहेको बताए ।  दूई/चार वर्षका बजेटबाट दुई चारवटा कुराहरु झिकेर केहि नयाँ शब्द राखिने प्रवृतिबाट अहिलेको बजेटसमेत मुक्त हुन नसकेको बताए । 

बजेट बनाउने हो भने साढे १७ देखि १८ खर्बभन्दा माथि जान नहुने उनको भनाइ छ । निश्चित भएका वैदेशिक सहायताका परियोजना, प्रतिवद्धता जाहेर गरिएका बाह्य ऋण र आन्तरिक ऋणको आधारबाट बजेट निर्माण गर्न आफूले सुझाव दिएको पनि उनले बताए ।

उनले प्रधानमन्त्री रोजगार कार्यक्रममाथि प्रश्न उठाए । उक्त कार्यक्रम पाँच वर्षदेखि निरन्तरतामा रहेको भएपनि त्यो प्रभावकारी नरहेको बताए । साथै, उनले बजेटमा प्रयोग भएको ‘नवप्रवर्तन’ भन्ने शब्दमाथि प्रश्न उठाए ।

नवप्रवर्तन भन्ने शब्द राख्दैमा नयाँ कुरा नआउने उनको भनाइ छ ।  बजेटमा शब्दहरुको भीडमात्रै जम्मा गरेर त्यसले सार्थकता नपाउने बताए ।

यसैगरी, अर्थविद् डा चन्द्रमणि अधिकारीले बजेटको उद्देश्य र प्राथमिकतामा हेर्दा विमति राख्नुपर्ने केही कुरा नरहेको बताए । तर, बजेटमा पुराना कार्यक्रमलाई पनि निरन्तरता दिइएको र करिब एक दर्जनभन्दा बढी नयाँ कार्यक्रम थपिएको उनले बताए । बजेटमा अहिलेसम्म बनेका प्रतिवेदनको कुनै पनि सुझाव समावेश नभएको बताए ।। 

साथै, अर्थतन्त्रको सूचक, उत्पादन, उपभोग, खर्च र आयको स्तर सबै संकुचनमा रहेको भन्दै लक्ष्य अनुसारको राजस्व उठ्नसमेत गाह्रो रहेको बताए । उनले बजेट अहिलेको जनजीविका र दैनिकीको सवालमा र व्यवसायलाई प्रवर्द्धन गर्ने गरी आउन नसकेको बताए । 

राज्यले समाजवादउन्मुख अर्थतन्त्र बनाउने भनेपनि दैनिक ५०० रुपैयाँ कमाउने मजदुरबाट पनि सामाजिक सुरक्षा कर लिएकोप्रति आपत्ति जनाए । उनले आगामी आर्थिक वर्षको बजेटअनुसार पूँजीगत खर्च ९० प्रतिशतभन्दा बढी गर्न सकिएको खण्डमा र नीतिलाई ७० प्रतिशतभन्दा बढी कार्यान्वयन गर्न सकेको खण्डमा प्रतिफल प्राप्त हुने बताए । 

त्यस्तै, अर्थविद् डिल्लीराज खनालले निरन्तरता र नयाँपनको अन्तर्विरोधबाट बजेट आएको टिप्पणी गरे । बजेटले मूल रुपमा परम्परालाई नै समेटेको उनको भनाइ छ । उनले बजेटले भरोसा र विश्वास जगाएर लक्ष्य पूरा गर्न नसक्ने आशंका व्यक्त गरे । साथै उनले नेपालको अवस्था र स्थिति, सामथ्र्यका आधारमा अहिलेको बजेट यथार्थभन्दा टाढा रहेको बताए । 

बजेटले ठूलो आकारमा अन्तरिक ऋण उठाउने लक्ष्य लिएको भन्दै उनले यसले विभिन्न प्रकारका समस्या ल्याउने बताए । उनले अहिलेको बजेट प्रणालीमा ठूलोमात्रामा सुधारको  खाँचो रहेको बताए। 

बजेटले संघीयतामाथि कन्जुस्याँइ गरेको उनको बुझाइ छ । उनले बजेटमा उल्लेख गरिएको कार्यक्रमलाई ठोस रुपमा कार्यान्वयन गर्ने कुराको प्रत्याभूति गरियो भने अपेक्षा गरिएको कुरा प्राप्त हुनसक्ने बताए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved