सरकारको चलखेल होइन भन्दै उर्जा मन्त्री खड्काले गरे कुलमान घिसिङलाई हटाउने संकेत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2025 | 04:53:44 PM मा प्रकाशित

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नभएको बताएका छन्। तर, उनले सरकारले आवश्यकतानुसार कर्मचारी राख्न र हटाउन सक्ने भन्दै घिसिङलाई हटाउने संकेत गरेका छन्।

तनहुँको डुम्रेमा बुधबारदेखि सुरु भएको डुम्रे सांस्कृतिक महोत्सव उद्घाटनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खड्काले सरकारको निर्णय प्रक्रियामा हस्तक्षेप नभएको दाबी गरे। उनले भने, “एउटा कर्मचारीलाई हटाउन सरकारले किन चलखेल गर्नुपर्छ? सरकारलाई आवश्यकता भएको बेला हटाउन सक्छ, आवश्यकतानुसार कर्मचारी राख्न पनि सक्छ।”

उनको यो अभिव्यक्तिले घिसिङको भविष्य अनिश्चित रहेको देखाउँछ। घिसिङको कार्यकालबारे विभिन्न अड्कलबाजी भइरहेका बेला मन्त्री खड्काले सरकारको अधिकारको बहस उठाउनु संयोग मात्रै नभएको विश्लेषण गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणको कार्यसम्पादन मूल्याङ्कनमा शून्य अंक प्राप्त भएको विषयमा पनि मन्त्री खड्काले घुमाउरो जवाफ दिएका छन्। सञ्चारकर्मीहरूले मूल्याङ्कनमा शून्य अंक आउनुको कारणबारे सोध्दा उनले भने, “विद्यार्थी जाँचमा अनुपस्थित हुँदा के हुन्छ? यही भएको हो। समयमै कार्यसम्पादन प्रतिवेदन नबुझाएकाले अङ्क प्राप्त गर्न नसकिएको हो।”

उनको यो भनाइले विद्युत् प्राधिकरण र सरकारबीचको दूरी झन् स्पष्ट पारेको छ। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङका पक्षमा व्यापक समर्थन रहेकै बेला सरकारको रवैया परिवर्तन हुनु संयोग मात्र नहुन सक्ने अनुमान गरिएको छ। मन्त्री खड्काले गलत गर्ने दण्डित हुने र राम्रो गर्ने पुरस्कृत हुने बताएका छन्, तर सरकारको पछिल्ला गतिविधि हेर्दा घिसिङको भविष्य अन्योलपूर्ण देखिन्छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved