एसएमई प्लेटफर्मको लागि छुट्टै प्रणाली सञ्चालनको चर्चा हल्ला मात्र हुन् - प्रवक्ता पराजुली

सीता बुढाथोकी

सीता बुढाथोकी

Mar 24, 2025 | 07:29:24 AM मा प्रकाशित

नेपालमा साना तथा मझौला कम्पनीहरूको शेयर कारोबार सुनिश्चित गर्न प्रस्तावित एसएमई प्लेटफर्म (SME Platform) अब छुट्टै प्रणालीमा नभई नेपाल स्टक एक्सचेन्ज (नेप्से)कै विद्यमान प्रणालीमै समावेश हुने भएको छ। नेप्से प्रवक्ता मुराहरी पराजुलीका अनुसार, छुट्टै प्रणाली सञ्चालनको चर्चा केवल हल्ला मात्र हुन्।

नेप्सेले हाल एसएमई प्लेटफर्मसम्बन्धी विनियमावलीको प्रारम्भिक मस्यौदा तयार गरिसकेको छ। यो मस्यौदा नेप्सेको सञ्चालक समितिमा छलफलका लागि प्रस्तुत हुने र त्यसपछि स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा पठाइने बताइएको छ। प्रवक्ता पराजुलीका अनुसार, बोर्डबाट स्वीकृति प्राप्त भएपछि प्राविधिक तयारीको काम अघि बढ्नेछ।

नेपाल धितोपत्र बोर्डले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ कार्यान्वयनमा ल्याएपछि, नेप्सेले एसएमई प्लेटफर्मको संरचना निर्माण गर्न पाँच सदस्यीय समिति गठन गरेको हो। यस समितिको संयोजक नेप्से सञ्चालक समितिका सदस्य रोशनकुमार सिग्देल रहेका छन्।

यसअघि, पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकले एसएमईसम्बन्धी नीतिगत नियमावलीलाई स्वीकृति दिइसकेको छ। उक्त नियमावलीअनुसार, एसएमई प्लेटफर्ममा सूचीकरण गर्न चाहने कम्पनीहरूको चुक्ता पूँजी अधिकतम २५ करोड रुपैयाँ भित्र हुनुपर्नेछ।

विश्लेषकहरूका अनुसार, प्लेटफर्म सञ्चालनले साना उद्यमहरूलाई पूँजी बजारमार्फत वित्त जुटाउने अवसर प्रदान गर्नेछ। यद्यपि, प्रविधि, पारदर्शिता र लगानीकर्ताको विश्वास निर्माणमा अझ गम्भीर तयारी आवश्यक रहेको उल्लेख गरिएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved