यो साताको बजारले लगानीकर्तालाई अन्योल बनाएको छ ।साताभरि नेप्से परिसूचक २२.२५ अंकले बजार घटेको छ ।
गत साताबाट निरन्तर ओरालो झर्न थालेको बजारले यो साता पनि निरन्तर ओरालो यात्रानै तय गरेको छ । यो साता शेयर बजारमा पाँच दिन भएको कारोबारमा बजार तीन दिन घट्यो भने दुई दिन मात्रै बढेको छ ।
अघिल्लो साताको अन्तिम कारोबार दिन २ हजार ७४९.५७ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७२७.३६ को विन्दुमा बन्द भएको छ। यो साता बजारमा २२.२५ अंकले ओरालो लागेको छ। अघिल्लो साता भने बजार २२४.८९ अंकले घटेको थियो ।
यसैगरी, यो साता कुल ५९.७७ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ भने अघिल्लो साता चाहिं ६४.३६ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । अर्थात् यो साता कारोबार धेरै नै घटेको छ ।
लतागर बजार र कारोबार पनि घटेकाले बजार पूँजीकरण ४३.३६ खर्ब रुपैयाँ रहेको छ । अघिल्लो साता भने बजार पूँजीकरण ४३.६६ खर्ब रुपैयाँ थियो । बजार घटेकाले बजार पूँजीकरण पनि ३० अर्ब रुपैयाँले घटेको छ । अर्थात् समग्रमा यो साता नेप्से घट्दा बजार पूँजी र कारोबार दुबै घट्न पुगेको छ।
नेप्सेको बजार ट्रेण्डलाई हेर्दा वियरिस यात्रा जस्तो देखिन्छ । कारोबार तथा भोल्युम भने घट्दै गएको अवस्था छ ।लगानीकर्ता केशव सुवेदी बजारमा उतारचढावका बीच लगातार करेक्सन आइरहेको बताउँछन् ।
उनका अनुसार अघिल्लो साता २२५ अंकले घटेको बजारमा यो साता भने २२ अंकले मात्रै करेक्सन आएकाले आगामी साता बजारमा सुधार आउने देखिएको बताउँछन् ।
बजार पनि ३ हजार विन्दुबाट ३०० अंक झरेको अवस्था छ । त्यसकारण बजारले आगामी साता बढ्ने संकेत देखाएको प्राविधिक विश्लेषणबाट देखिन्छ ।अघिल्लो साता बजारमा भएको तिव्र उतारचढावका कारण लगानीकर्ता अन्यौलमा परेका थिए ।
गत साता पनि बजारको दुई दिन मात्र बढेका कारण लगानीकर्ताले यो साता बजारमा सुधार आउने आशा राखेका छन् । लगानीकर्ताहरुले नाफा बुक गरेको हुँदा कारोबार रकम घटेता पनि बजार परिपक्व हुन थालेको बजार विश्लेषकहरु बताउँछन् ।
यो साता विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा र माइक्रोफाइनान्स समूह बढेका छन् ।समग्र बजार घट्दा पनि यो साता निर्जीवन बीमा समूह ५.०३ प्रतिशतले बढेको छ । यो समूहको एउटा कम्पनी एनएलजी इन्स्योरेन्स मूल्य टप १० कम्पनीमा परेको छ।
यो साता रकमका आधारमा उच्च कारोबार भएका कम्पनीमा गुडविल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स, अपी पावरलगायत छन् । त्यस्तै
शेयर संख्याका आधारमा उच्च कारोबार भएका कम्पनीमा अपी पावर, अरुणभ्याली हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, माथिल्लो तामाकोशी लगायत छन् ।कारोबार संख्याका आधारमा हिमालयन रिइन्स्योरेन्स, अपी पावर, माथिल्लो तामाकोशी, निफ्रा, हिमाल दोलखा हाइड्रोपावरलगायत अगाडि छन् ।
एक जना लगानीकर्ता दिपेश चापागाईं करेक्सन हुँदै उतारचढावका बीच घटबढ भएको बजार आगामी सातादेखि थप परिपक्व भएर अगाडि बढ्ने अपेक्षा गरेको बताउँछन् ।
उनका अनुसार उतारचढावको बजारले राम्रो सन्देश दिएको पनि बताएका छन् । लगानीकर्ताहरूले नाफा कमाउँदै जाँदा र नाफा बुक गर्दै जाँदा नेप्से परिसूचकमा उतारबढाव देखिएपनि नाफा कमाउने र बुक गर्नेहरूकै कारण बजार करेक्सन हुँदै माथि जाने उनको अपेक्षा छ ।