कोरोना बिरुद्धको चिनियाँ खोपको नेपालमा परीक्षणको अनुमति दिन माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2020 | 09:16:02 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनमा तेश्रो चरणको परीक्षणमा रहेको खोपलाई नेपालमा पनि परीक्षणका लागि अनुमति दिने विषयमा छलफल अघि बढिरहेको पाइएको छ। स्वास्थ्य मन्त्रालय हुँदै आएको उक्त प्रस्तावमा  नेपाल सरकार सकरात्मक देखिएपनि यो बिषय छलफलकै क्रममा रहेको अधिकारीहरुले बताएका छन्। 

पश्चिम नेपालमा रहेको  नेपालकै सबैभन्दा ठूलो भनिएको होङ्सी सिमेन्ट कार्यरत चिनियाँ कामदारमा खोपको परीक्षण गराउने प्रस्ताव गरिएको छ। सातादिन अगाडी स्वास्थ्य मन्त्रालयले उक्त विषयबारे परराष्ट्र मन्त्रालयमा पत्र पठाएको र त्यसबारे समबन्धित निकायसँग कुराकानी भईरहेको बताइएको छ। 

चीनले बनाएको कोभिड(१९ विरूद्धको खोपको तेश्रो चरणको परीक्षणका लागि चिनियाँ समूह नेपालमा आउन इच्छुक रहेको नेपालमा औषधि तथा खोपहरूको परीक्षणको नियमन गर्ने निकाय राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ।  

यसबारेमा कागजी प्रक्रिया अघि बढाउन सकिन्छ भनेर सुझाब दिएको परिषदका सदस्य सचिव डा प्रदिप ज्ञवालीले बताएका छन्। नेपालमा काम गरिरहेका चिनियाँहरूमा मात्रै नभइ नेपालीहरुमा पनि परिक्षण गर्न सकिन्छ भन्ने इच्छा आफुहरुले राखेको ज्ञवालीको भनाई छ। 

चीनको होङ्सी समूह अन्तर्गतको हङकङ रेड लायन नम्बर ३ सिमेन्ट कम्पनी लिमिटेडको ७० प्रतिशत र नेपालको शिवम सिमेन्टको ३० प्रतिशत साझेदारी रहेको होङ्सी सिमेन्टमा कार्यरत अधिकांश नेपाली कामदारहरूले खोपको परीक्षणमा सहभागी हुन इच्छा नदेखाएको बताइएको छ। झण्डै ३६ अर्ब रुपियाँको लगानी रहेको सिमेन्ट कारखानामा लगभग २०० जना चिनियाँहरू कार्यरत रहेको बताइन्छ। 

नेपाल उद्योग परिसङ्घका अध्यक्ष समेत रहेका तथा होङ्सी सिमेन्टका निर्देशक सतीश मोरले उक्त प्रस्ताव अझै छलफलको चरणमा रहेको बताए। आफुहरुले  तेश्रो चरणको परीक्षणमा रहेका चिनियाँ खोपहरू मगाउन सकिन्छ कि भनेर कोशिश मात्रै गरेको तर आफुहरु  त्यो विन्दुबाट टाढै रहेको उनको भनाई छ। 

सङ्क्रामक रोग सम्बन्धी अनुसन्धानकर्ता एवम् पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डाक्टर बुद्ध बस्न्यात कोरोनाभाइरसको खोप मात्रै नभै उपचार र सङ्क्रमण पहिचान तीनवटै क्षेत्रमा भइरहेका अध्ययन अनुसन्धानमा नेपालले पनि साझेदारी गर्नुपर्ने बताउँछन्। 

चिनियाँ खोपको तेश्रो चरणको परीक्षण यूएई, ब्राजिल र साउदी अरेबीयामा सुरु भइसकेको छ। पेरू र इन्डोनेशियाले पनि परीक्षणमा सहभागी हुने निर्णय गरेका छन्।

हालसम्म प्रारम्भिक अध्ययनमा सबैभन्दा राम्रो सङ्केत देखिएको भनिएको अक्सफोर्ड विश्वविद्यालय र ब्रिटिश स्वीडिस कम्पनी एस्ट्राजेनेकाले विकास गरिरहेको खोपको तेश्रो चरणको परीक्षण ब्राजिल, अमेरिका, दक्षिण अफ्रिका र दोस्रो चरणको परीक्षण भारत र ब्रिटेनमा भइरहेको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोभिड(१९ विरूद्ध लक्षित १७० भन्दा बढी खोपहरूबारेमा अध्ययन र अनुसन्धान भइरहेको छ।साधारण रूपमा खोप बनाउन वर्षौँको परीक्षण र उत्पादनका लागि थप समय लाग्ने भएपनि वैज्ञानिकहरूले १२ देखि १८ महिनामा कोरोनाभाइरसको खोप तयार पार्ने अपेक्षा गरिरहेको बताइएको छ। बिबिसीको सहयोगमा 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved