अमेरिकी राष्ट्रपति चुनाव: कसले जित्दा नेपालीलाई कस्तो प्रभाव ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2020 | 09:01:35 AM मा प्रकाशित

laxmi  sunrise bank

अहिले विश्वकै ध्यान मङ्गलवार नोभेम्बर ३ मा अमेरिकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनले तानेको छ। रिपब्लिकन पार्टीका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पलाई भूतपूर्व उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीका नेता जो बाइडनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। चुनावअघिका मत सर्वेक्षणहरूमा बाइडन अगाडि देखिन्छन्।

यसपालि ऐतिहासिक रूपमा करोडौँ मतदाताले हुलाकमार्फत् अग्रिम मतदान गर्न पाउने सुविधाअन्तर्गत चुनावको दिन अगाडि नै मत दिइसकेका छन्। नेपालमा पनि अमेरिकी चुनावलाई लिएर चासो छँदैछ, त्यसमाथि दशौँ हजार नेपाली मूलका अमेरिकीहरूको निम्ति त यो सोझो चासोको विषय बनेको छ।

विश्वमै सबैभन्दा धेरै सङ्क्रमित र मृत्यु भएको हुनाले यहाँ कोभिड-१९ नै यसपालि प्रमुख मुद्दा बनेको छ। यसलाई वर्तमान प्रशासनले कसरी व्यवस्थापन गरेको छ अनि त्यो सही छ कि छैन भन्ने बहस भएका छन्। कोभिडसँग जोडिएका स्वास्थ्यका अन्य मुद्दामा रिपब्लिकन र डेमोक्र्याटिक दलका अजेन्डा के छन् भन्ने पनि प्रमुख चासो बनेको छ। कोभिडकै कारण निकै अप्ठेरोमा परेको अर्थतन्त्र दोस्रो प्रमुख चासोमा छ।

अर्को प्रमुख मुद्दा आप्रवासीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने नै छ। अमेरिका संसारकै सबभन्दा धेरै आप्रवासी आउने मुलुक पनि हो। त्यसपछि धेरैले चासो राख्ने अर्को मुद्दा भनेको अमेरिकाको विश्वमञ्चमा प्रभाव र हैसियतको निरन्तरता पनि हो। ट्रम्पको कार्यकालमा अमेरिका प्यारिस जलवायु सम्झौताजस्ता बहुपक्षीय सम्झौताबाट अलग्गिएको थियो।

अमेरिकामा नेपाली र नेपालीभाषी भुटानी गरी लगभग पाँचलाख नेपालीभाषी भएको अनुमान छ। स्वभावैले अलि उदार मुद्दाहरूमा यो समुदायको केही बढी झुकाव देखिन्छ। उदाहरणका लागि योभन्दा पहिले अमेरिकी नागरिक वा गैरनागरिक नेपालीहरूले पनि आफ्ना परिवारका सदस्यका लागि यहाँको स्थायी बसोबास सुविधा वा ग्रीनकार्ड लिँदाखेरि दुई-तीन पन्नाको निवेदन दिए पुग्थ्यो।

तर अहिले १२-१५ पन्ना भर्नुपर्छ। त्यो खालको अप्ठेरोदेखि लिएर विद्यार्थीहरूले कति घण्टा काम गर्न पाउने भन्ने जस्ता विषय यो समुदायको चासोमा परेका छन्। अर्कोतिर साना व्यापार व्यवसाय गर्नेहरूका निम्ति चाहिँ सरकारले यो कोभिडका कारण परेको प्रभावबाट जोगिन के कस्तो राहत दिन सक्छ वा ऋणको ब्याजदर के हुन्छ भन्ने कुरामा ध्यान दिइरहेका छन्।

अमेरिकाभित्र ट्रम्पको थप चारवर्षे कार्यकाल भयो भने रङ्गको आधारमा गरिने राजनीति सम्भवत: अझ बढी जब्बर भएर आउन सक्छ। त्योबाहेक आप्रवासीहरूलाई हेरिने सवाल, अर्थतन्त्र र अमेरिकी-केन्द्रित रोजगारी प्रमुख भएर आउँन सक्छन्। अन्तर्राष्ट्रिय सन्दर्भमा थप चार वर्षको ट्रम्प प्रशासनको अर्थ विश्वमा अमेरिकी उपस्थिति अझै फितलो र पातलो हुँदै अमेरिकी नेतृत्वको अवस्था परिवर्तन हुनसक्छ।

बाइडन राष्ट्रपतिमा चुनिए भने चाहिँ डेमोक्र्याटिक पार्टीले अँगाल्ने उदार नीतिहरू आप्रवासी तथा देशभित्रकै जातिय सवालमा मुखरित हुनसक्छ। अन्तर्राष्ट्रिय बहुपक्षीय साझेदारीमा अमेरिका फर्कन सक्छ। अन्तर्राष्ट्रिय सन्दर्भमा चाहिँ बाइडन प्रशासनले शायद अमेरिकाको गुमेको साखलाई जोगाउने कोशिश गर्नेछन्। (बिबिसी) 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved