अमेरिकामा लगाईयो कोरोनाको पहिलो खोप, ट्रंपले दिए विश्वलाई बधाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2020 | 11:03:56 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकामा पहिलोपटक कोरोनाको खोप लगाइएको छ। आज सोमबार अमेरिकामा पहिलो पटक कोरोनाको खोप लगाइएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। 

प्रकाशित समाचारअनुसार उक्त खोप नर्स सान्द्रा लिन्ड्सेलाई लगाईएको छ। लिन्ड्से पछिल्लो १० महिनादेखि आपतकालीन अवस्थाका विरामीको उपचारमा लंग आइसल्याण्ड जेवीश मेडिकल सेन्टरमा काम गर्दै आएकी एक नर्स हुन्। 

खोप लगाएपछि आफुले राम्रो महसुस गरेको लिन्ड्सेले डाक्टरलाई प्रतिकृया दिएको फोक्सन्युजले लेखेको छ। ती नर्सलाई खोप लगाईएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रंपले ट्वीट मार्फत अमेरिकामा पहिलो खोप लगाईएको जानकारी दिंदै अमेरिका तथा बिश्वलाई बधाई दिएका छन्। तर यस खोपको प्रभावबारे उनले केहि बोलेका छैनन्।  

अमेरिकाले पहिलो खोप लगाएसँगै सबै भन्दा ठुलो खोप अभियानमा जुटेको छ। खोप लगाईएसंगै फाईजर र बायोएन्टेकले लाखौँको संख्यामा खोप निर्माण गर्ने अभियानलाई तिब्रता दिएका छन्। फाईजर अमेरिकन फर्मास्युटिकल कम्पनीले उत्पादन गरेको खोप हो भने बायोएन्टेक जर्मनी कम्पनी हो। दुवैले आपसी साझेदारीमा कोरोनाको खोप निर्माण गरेका हुन्। फाईजरको हेडक्वार्टर अमेरिकाको न्युयोर्कमा रहेको छ। यस खोपलाई अमेरिकाको 'फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन' (एफडीए) ले आपतकालीन प्रयोगको लागि अनुमती दिएको थियो। 

आज अमेरिकाका करिब १५० अस्पतालहरुमा यो खोप लगाईने बताईएको छ। खोप अभियान अन्तर्गत अमेरिकाले अबको ४ महिनासम्म करिब १० करोड मानिसहरुसम्म खोप पुर्याउने लक्ष्य लिएको छ। यो खोप ९५ प्रतिशत प्रभावकारी भएको कम्पनीको दाबी छ। बेलायतले पनि यस कम्पनीको खोपलाई अर्थात फाईजरलाई आपतकालीन प्रयोगको लागि अनुमती दिएको छ। 

अमेरिकामा कोभिड १९ को संक्रमणको कारण अहिलेसम्म करिब ३ लाख मानिसहरुले ज्यान गुमाएका छन्। कोभिड १९ का संक्रमित पनि विश्वमा अमेरिकामा धेरै देखिएका छन्। 

गत नोभेम्बरबाट अमेरिकामा कोभिड १९ का कारण मर्नेहरुको संख्या र बिरामीको संख्या बढेको हो। अहिलेपनि अमेरिकामा १ लाख ९ हजार अमेरिकनहरु कोभिड १९ का कारण अस्पतालमा भर्ना भएका छन्। 

.......................................................................................................................................................

६० लाख नेपालीलाई कोरोना खोपको 'ग्यारेन्टी'

कोरोनाको खोप व्यवस्थापनलाई लिएर अन्य देशहरु झैं नेपालले समेत सक्रियता देखाएको छ। यहि क्रमलाई निरन्तरता दिंदै नेपाल सरकारले खोप उत्पादन तथा परिक्षण गरिरहेका ७ वटा देशहरुलाई कुटनीतिक प्रस्ताव पठाएको छ। 

त्यहाँ उत्पादन तथा परिक्षण भईरहेका कोभिड १९ को खोपको उपलब्धता तथा वितरणको मोडालिटीबारे जानकारी माग गर्दै भारत, चीन, अमेरिका, रसिया, जर्मनी, अष्ट्रेलिया र बेलायतलाई कुटनीतिक प्रस्ताव पठाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ। 

नेपाल सरकारले यी ७ देश सहित अन्य देशहरुमा उत्पादन तथा परिक्षण भईरहेका कोभिड १९ को खोपबारे चाँसो लिइरहेको र त्यसको उपलब्धताबारे जानकारी माग गरिरहेको छ। 

सरकार सरकारबीच सम्झौता, मुल्यमा नेगोसियट गरेर प्रत्यक्ष खरिद वा कुटनितिक प्रकृया वा अन्य मध्ये कुन विकल्प उचित हुन्छ भनेर छलफल भईरहेको छ।  

मन्त्रालय स्रोतअनुसार कुटनीतिक प्रस्ताव पठाईएका ७ वटा देश सहित अन्य मुलुकहरुमा समेत निजि लगानीको कम्पनीले नै कोभिड १९ को खोप निर्माण गरिरहेकाले सरकार सरकारबीच सम्झौता गरि खरिद गर्ने सम्भावना कम भएकाले सिधै खरिद गर्ने मोडालिटी बारे छलफल भईरहेको छ।  

नेपालमा कोभिड १९ खोप ल्याउनलाई सरकारी निकाय मात्र सकृय गराउने वा निजि क्षेत्रलाई पनि सामेल गराउने भन्ने बिषयमा पनि टुंगो नलागेको उनको भनाई छ। 

नेपालमा २ देखि ८ डिग्री सेन्ट्रीगेट तापक्रममा व्यवस्थापन गर्न सकिने किसिमको कोभिड १९ को खोप उपयुक्त हुने भएकाले त्यहि अनुसार छलफल अगाडी बढेको  छ। 

बेलायतले प्रयोगको लागि अनुमति दिएको फाइजर–बायोएनटेकले उत्पादन गरेको कोरोना विरुद्धको खोप माइनस ७० डिग्रीसेन्ट्रीगेटमा राख्नुपर्ने, त्यस्तै मोडेर्नाको खोप माइनस २० डिग्रीमा राख्नुपर्ने भएकाले यी दुवै खोप नेपालको प्राथमिकतामा नपर्ने उनको भनाई छ। 

तर अक्सफोर्ड विश्वबिद्यालयको अस्ट्राजेनिका, भारतको भारत बायोटेक लागायतका कोभिड १९ का खोपहरु २ देखि ८ डिग्रीसेन्ट्रीगेटसम्म व्यवस्थापन गर्न सकिने भएकाले यी खोपहरु प्राथमिकतामा पर्ने उनको भनाई छ। अहिलेसम्म बिश्वभर ११ वटा देशहरुले निर्माण गरेका कोभिड १९ को खोप क्लिनिकल ट्रायलको लागि पर्खाईमा छन् भने अन्य देशहरु समेत परिक्षणको लागि लागिपरेका छन्।

कोभ्याक्सद्वारा ६० लाख नेपालीलाई खोपको सुनिश्चितता 

ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी) र विश्व स्वास्थ्य सङ्गठन मिलेर ुकोभ्याक्स सुविधाु अन्तर्गत नेपालका ६० लाख नागरिकलाई कोभिड १९ को खोपको सुनिश्चित भएको मन्त्रालयको भनाई छ। 

उक्त सुविधा अन्तर्गत नेपालले पाउने खोप सुरुवाती दिनमा शतप्रतिशत अनुदान हुने भनिएपनि अहिले केहि प्रतिशत शुल्क नेपाल सरकारले व्योहोर्नुपर्ने गरि प्रस्ताव आएको स्रोतले जनाएको छ। यसरी प्राप्त हुने खोप फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अति आवश्यक पर्नेलाई वितरण गरिनेछ। 

स्रोतको कमी नहुने

६० लाख नागरिकलाई पुग्ने खोप अनुदान वा अति सस्तोमा प्राप्त हुने भएकाले बाँकी नागरिकको लागि खोप व्यवस्थापन गर्नलाई स्रोतको कमी नहुने बताईएको छ। अहिलेपनि कोरोना कोषमा यसको लागि ३४ अर्ब रुपैयाँ भएको र फागुन मसान्तसम्मको पुँजीगत बजेट अन्तर्गत खर्च नभएको पैसा यहि प्रयोजनमा प्रयोग हुने तथा दातृ निकायबाट समेत आश्वासन आएकाले स्रोतको कमी नहुने उनको दाबी छ। 

.......................................................................................................................................................

थप

'टर्कीले यहि महिना चिनियाँ खोप सुरु गर्न सक्छ'

टर्कीले यस महिना चिनियाँ कोभिड १९ खोप सुरु गर्न सक्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। घरेलु इजाजतपत्रको विश्लेषण पुरा भएपछि टर्कीले चीनको सिनोवाक कोभिड १९ खोप दिने प्रकृया सुरु गर्ने टर्कीले जनाएको छ। 

टर्कीका स्वास्थ्यमन्त्री फरेटिन कोकालाई उद्र्त गर्दै त्यहाँको सोजुक पत्रिकाले टर्कीले यसै महिना चिनियाँ खोपको प्रयोग सुरु गर्ने जनाएको छ। कोकाका अनुसार सिनोवाकको कोरोनाभ्याक्स डिसेम्बर ११ टर्की पुग्नेछ। टर्की  र अन्य देशहरूमा तीन चरणको परीक्षण भैरहेको यो खोपलाई थप दुई हप्ता परीक्षण र विश्लेषणको आवश्यक पर्ने बताइएको छ। 

टर्कीले कोरोनाभ्याक्सको लागि गत नोभेम्बरमा नै ५ करोड डोज खरिदको सम्झौतामा गरिसकेको छ। उक्त सम्झौताअनुसार सिनोवाकले यहि डिसेम्बर र फेव्रुअरीको विचमा कोरोनाको खोप वितरण गर्नुपर्नेछ। 

..........................................................................................................................................................................................

फाइजरको कोविड १९ खोपको पहिलो डोजले नै विरामीको संरक्षण गरेको पाइएको छ। पहिलो डोज नै प्रभावकारी भएको र दोस्रो डोजले विरामी लगभग पूर्ण रुपमा सुरक्षित देखिएको तथ्यांक अमेरिकाको खाद्य तथा औषधि निकाय एफडीए ले सार्वजनिक गरेको छ। 

फाईजरको खोप आपतकालीन प्रयोगका लागि अनुमति दिने वा नदिने भन्ने बिषयमा मतदानको लागि बिहिबार डाकिएको खोपहरु र सम्बन्धित जैविक उत्पादन सल्लाहकार समिति वा एफडीए को सल्लाहकार समितिको बैठक अगाडी नै यस्तो जानकारी बाहिर ल्याइएको हो। उक्त समुहलेले उक्त खोप युरोपमा समेत आपतकालीन प्रयोगको लागि अनुमति दिने वा नदिने भन्ने बिषयमा मतदान गर्नेछ। 

५३ पेज लामो प्रतिबेदनमा एफडीए  र फाईजर दुवै ले फाईजरद्वारा निर्माण गरिएको खोपको तेस्रो तथा अन्तिम क्लिनिकल परिक्षणको डाटा तथा नतिजा समावेश गरिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। सल्लाहकार समितिका सदस्यलाई उक्त प्रतिबेदनमा उल्लेख जानकारीले निर्णय लिन सघाउने अपेक्षा गरीएको छ। 

प्रतिबेदनमा उल्लेख जानकारीलाई आधार मान्ने हो भने फाईजरको खोपलाई आपतकालीन प्रयोगको लागि अनुमती नदिन पर्ने कुनै कारण नरहेको मायो क्लिनिक भ्याकेसिन ग्रुपका संचालक डाक्टर ग्रेग पोल्याण्डको भनाई छ। 

फाईजरले यो खोप तीन हप्ताको अन्तरालमा दुई पटक प्रयोग गर्नलाई आग्रह गरिएको छ। गत नोभेम्बरमा फाईजरले कोभिड १९ को उपचारमा आफ्नो खोप ९५ प्रतिशत प्रभावकारी भएको तथ्य सार्वजनिक गरेको थियो। 

नयाँ जानकारीअनुसार फाईजरले निर्माण गरेको खोपको पहिलो डोज नै उपयोगी भएको पाइएको छ। सबै उमेर समुहका, सबै समुदायका, मोटोपना, डाइबेटिज, उछ रक्तचाप लगायतका सबैलाई फाईजरको खोपले समान रुपमा काम गरेको दाबी गरिएको छ। तर यो खोपको प्रयोग पश्चात टाउको दुख्ने, शरीर दुख्ने, मासु तथा जोर्नी दुख्ने जस्ता साइड इफेक्ट पनि देखिएको जनाईएको छ। तर खोपले कुनै पनि नकारात्मक नतिजा दिएको प्रमाण भेटिएको छैन। 

फाईजर र यसको जर्मन साझेदार बायोटेकले यो बर्ष ५ करोड र सन् २०२१ मा १ अर्ब ३० करोड डोज खोप निर्माण गर्ने आशा देखाएको छ। सम्युक्त राज्य अमेरिका र बेल्जियममा खोपको प्रयोग हुने जनाइएको छ। यो खोपको पहिलो प्रयोग बेलायतकि लन्डननिवासी ९० बर्षिय महिलामाथि भएको थियो। 

...................................................................................................................................................................................

९० वर्षीया वृद्धाले लगाइन् कोरोना विरुद्धको पहिलो खोप

बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान शुरु भएको छ । फाइजर–बायोएनटेकले उत्पादन गरेको कोरोना विरुद्धको खोप एक ९० वर्षीया हजुर आमाले लगाएर खोप अभियान शुरु भएको हो ।

मध्य बेलायतको कोभेन्ट्री निवासी ९० वर्षीया मार्गरेट कीनानलाई यो ऐतिहासिक खोप दिएर बेलायतमा खोप अभियानको औपचारिक शुरुआत गरियो ।बेलायतले फाइजर–बायोएनटेकले उत्पादन गरेको खोपलाई औपचारिक स्वीकृत गरी देशव्यापी खोप अभियान शुरु गरेको छ । पहिलो चरणमा ८० वर्षभन्दा बढी उमेर भएका, केएर होममा कार्यरत व्यक्तिहरु तथा स्वास्थ्य जोखिम उच्च रहेका स्वास्थ्यकर्मीलाई यो खोप दिइने योजना बेलायत सरकारको छ । 

विश्वभर १५ लाखभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको कोरोनाभाइरसबाट बेलायतमा पनि ६१ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । बेलायतमा १६ लाख व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका छन् । 

प्रधानमन्त्री बोरिस जोन्सनले खोप अभियान कोरोना विरुद्ध बेलायतको पहिलो र ठूलो अभियान रहेको बताएका छन्। 

बेलायतको नियामक निकायले गत बुधबार मात्र फाइजरको खोपलाई अनुमति दिएको थियो । कतिपय वैज्ञानिक समुदायले बेलायतले अलिबढी हतार गरेको बताए पनि बेलायतमा सरकारको कदमलाई स्वागत गरिएको छ । 

बेलायतले हालसम्म ४ करोड डोज खोप खरिद गर्न फाइजरसँग सम्झौता गरेको छ । यसबाट करिब २ करोड मानिसलाई खोप दिन पुग्नेछ । पहिलो चरणमा करिब ८ लाख व्यक्ति खोपबाट लाभान्वित हुने बेलायतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यही डिसेम्बर महिनाको अन्त्य सम्ममा ४० लाख डोज उपलब्ध हुने अपेक्षा बेलायतको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved