बिज्ञको नाममा इन्साईडर ट्रेडिङ्ग गर्नेलाई भारतमा कडा कारबाही, धितोपत्र बोर्डलाई गतिलो पाठ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 15, 2021 | 12:40:30 AM मा प्रकाशित

laxmi  sunrise bank

टेलिभिजन कार्यक्रम को आडमा सेयरको दोस्रो बजारमा इनसाइड ट्रेडिङ अर्थात भित्रि कारोबार गरेको आरोपमा भारतमा कार्यक्रम संचालक तथा सेयर बिज्ञलाई कारबाही भएको छ। 

नेपालको नेपाल धितोपत्र बोर्ड जस्तै भारतको सेयरबजारको नियामक सिक्योरिटीज एंड एक्सचेंज बोर्ड ऑफ़ इंडिया (सेबी) ले सीएनबीसी च्यानलमा सेयरबजारसँग सम्बन्धित कार्यक्रम संचालन गर्दै आएका हेमंत घई लाई कारबाही गरेको हो। 

सेबीले कारबाही स्वरूप घईलाई अर्को आदेश नभएसम्मको लागि कुनै पनि टेलिभिजन कार्यक्रम गर्न तथा सार्वजनिक रुपमा सेयरबजारसँग सम्बन्धित कुनै पनि अभिव्यक्ति दिनलाई रोक लगाएको छ। त्यस्तै भित्रि कारोबार गरेर कमाएको झन्डै नेपाली ५ करोड रुपैयाँ बराबरको राशि सरेन्डर गर्नलाई घईलाई सेबीले निर्देशन समेत दिएको छ। 

सिएनबिसी आवाज नेटवर्क १८ समुहको एक च्यानल हो र यस च्यानलले सेबीको निर्देशन अनुसार नै घई लाई आफ्नो च्यानलका सबै कार्यक्रम बटा निकालिएको जानकारी गराएको छ। 

अनुसन्धानको क्रममा घईले  स्टक २०(२० कार्यक्रममा सेयरबजारमा सुचिकृत कम्पनीहरुबारे जुन जानकारी दिन्थे त्यो जानकारी उनलाई पहिल्यैबाट थाहा हुने र त्यसको प्रयोग आफ्नो प्रत्यक्ष फाइदाको लागि प्रयोग गर्ने गरेको खुलेको छ। 

घई सीएनबिसी आवाजको लागि स्टक २०२०, मुनाफे कि तैयारी, पहिला सौदा, र कमाई का अड्डा जस्ता टेलिभिजन कार्यक्रम गर्दै आएका थिए। यी कार्यक्रम मार्फत घई ले साना तथा मझौला तथा नव प्रवेशी सेयरका लगानीकर्तालाई कुन सेयरमा लगानी गर्ने, कुन सेयर कहिले किन्ने र बेच्ने जस्ता बिषयबारे जानकारी दिंदै आएका थिए। 

सेबीले कुनै पनि तरिका वा प्रकृया मार्फत सेयरबजारमा लगानी गर्ने बारे सल्लाह दिनलाई हेमन्त घई माथि अर्को आदेश नभएसम्मको लागि पूर्ण रुपमा रोक लगाएको छ। यति मात्र नभई घई माथि सेयरबजारसँग सम्बन्धीत कुनै पनि रिसर्च पेपर समेत जारी गर्नलाई रोक लगाईएको छ। 

टेलिभिजन कार्यक्रममा के गर्थे हेमन्त घइ ?

सेबीले १३ जनवरीमा जारि गरेको आफ्नो आदेशमा भनेको छ, हेमन्त घई र श्याम मोहिनी घई ले एक खास समयमा टेलिभिजन कार्यक्रममा सिफारिस गरेअनुसार ठुलो संख्यामा आज किन्ने भोलि बेच्ने अन्तर्गत सेयर कारोबार गरे। जुन दिन स्टक स्टक २०२० शो मा सेयरलाई लिएर सुझाव दिईएको थियो, त्यसको एक दिन पहिले नै उनले ती सेयर खरिद गरेका थिए र कार्यक्रमको दिन तुरुन्तै उक्त सेयर बिक्रि गरिएको थियो। 

हेमन्त घई दुई खाता मार्फत कारोबार गर्दै आएका थिए। एउटा खाता उनको आमाको नाममा र अर्को खाता श्रीमतीको नाममा रहेको अनुसन्धानमा खुल्न आएको छ। 

उनले टेलिभिजन कार्यक्रममा जुन सेयर किन्नलाई भनेका हुन्थे त्यो सेयर उनले पहिले नै खरिद गरिसकेका हुन्थे र अरुलाई किन्न भनेको दिन उक्त सेयर बिक्रि गर्थे। त्यस्तै जुन सेयर बिक्रि गर्न भनेका हुन्थे उक्त सेयर उनले पहिल्यै नै खरिद गरेर बिक्रि गरिसकेका हुन्थे र बिक्रि गर्न लगाएर उक्त सेयर आफुले खरिद गर्थे। यसलाई सामान्य बोलिचालीको भाषामा पम्प एण्ड डम्प भन्ने गरिन्छ।  यस प्रकृयाबाट हेमन्त घईले मोटो रकम कमाएको सेबीको अनुसन्धानले देखाएको छ। 

यसमा हेमन्त घईले आफ्नो स्थितिको प्रयोग गरेर कसरी लाभ उठाए भन्ने देखिन्छ। घईको यस्तो क्रियाकलापलाई आम बोलिचालीको भाषामा इनसाइडर ट्रेडीङ भन्ने गरिन्छ।  

घईका दुवै खातामा १ जनवरी २०१९ र ३१ मइ २०२० को बीचमा भएको सबै कारोबारको जांच भएको थियो। इनसाइडर ट्रेडीङ जस्तो गतिबिधि माथि भारतमा मात्र नभई नेपाल लगायत विश्वभरका सेयरका नियामकको कडा निगरानी हुने गर्दछ। तर अन्य देशहरुमा इनसाइडर ट्रेडीङ गरेको आरोपमा ठुला ठुला कारबाही हुने गरेका छन् तर नेपालमा भने कारबाही भएको छैन तर यस्ता गलत क्रियाकलाप नेपालको सेयरबजारमा हुदैनन् वा भएका छैनन् भन्ने होइन। 

सेबीको आदेशको कपी सीएनबिसी टीबी १८ र न्युज ब्रोडकाष्टिङ स्ट्यान्डर्ड अथोरिटी लाई जरुरी कारबाही गर्नलाई पठाईएको छ। सेबीका पुर्व इडी जेएन गुप्ताले यस प्रक्रारको गतिबिधिलाई लिएर स्पष्ट नीति भएकाले कोहीसंग यस प्रकारको सूचना भए थाहा दिनलाई भनेका छन्। 

सेयर खेलाडीहरुले अधिकांश समय गलत सूचना दिएर सेयरको मुल्य बढाउने काम गर्छन र जव मुल्य आफुले भनेको वरिपरी आउँछ त्यो समयमा उक्त सेयर बिक्रि गरेर नाफा कुम्ल्याउने गर्छन। सेयर बिज्ञ वा टेलिभिजन कार्यक्रम वा संचार माध्यम मार्फत यसरी लगानीकर्तालाई मुर्ख बनाएर थोरै मानिसहरुले अथाह कमाईरहेका हुन्छन।

यस्तो क्रियाकलाप नेपालको सेयरबजारमा पनि प्रशस्त भेटिन्छन। नेपालको कुरा गर्ने हो भने सेयर लगानीकर्ता तथा सेयर बिज्ञहरुले नै एकातर्फ सेयर तालिम दिईरहेका छन् भने अर्को तर्फ उनीहरुले नै संचालन गरेको मिडिया तथा टेलिभिजन कार्यक्रम मार्फत सेयर शिक्षा दिइरहेका छन्। 

त्यस्तै लामोसमयदेखि सेयर कारोबार गरिरहेका व्यक्तिहरुनै अहिले कुनै अनलाइन मिडियामा रिपोर्टरको रुपमा काम गरिरहेका छन् र आफु अनुकुल हुने गरि आफुले काम गरेको मिडिया मार्फत सुचिकृत कम्पनीबारे गलत सूचना दिइरहेका छन्। 

यतिमात्र नभई इन्भेष्टमेन्ट कम्पनी तथा मर्चेन्ट बैंक संचालन गरिरहेका व्यक्तिहरुले फेक नामबाट सामाजिक संजालमा आफु अनुकुल सूचना प्रवाह गरिरहेका छन्। छरपष्ट रुपमा खुला रुपमा इनसाइडर ट्रेडिङ भईरहेको सूचना हुँदा समेत नेपालको सेयरबजारको नियामक नेपाल धितोपत्र बोर्डका अधिकारिहरुबाट कारबाहीको चाँसो देखाउन सकेका छैनन।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved