कोरोना महामारीको बीचमा चीनले गर्यो आर्थिक चमत्कार, नेपालले के सिक्ने ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 21, 2021 | 11:26:16 AM मा प्रकाशित

laxmi  sunrise bank

चीनले आफ्नो गतिविधि, निर्णय र काम गर्ने शैलीले संधै झैं विश्वलाई अचम्मित पार्दै आएको छ। सैन्य शक्तिमा असाधारण उपलब्धिदेखि लिएर आफुलाई एक सम्पन्न देश बनाउने तथा विश्वका लागि उत्पादनको हब बन्नेसम्मको यात्रा चीनले रकेटको गतिमा तय गरेको छ। 

सन् १९७९ मा अर्थव्यवस्थामा विदेशी लगानी खुला गरि आर्थिक सुधारको कार्यक्रम लागु गरेको ४० सालमा चीनको आर्थिक र सैन्य शक्तिको उपलब्धीले विश्वलाई नै अचम्मित बनाएको थियो। 

२०१९ को अन्तिम तिर चीनको वुहानबाट कोरोना भाइरस फैलिन सुरु भएदेखि चीन फेरी एक पटक विश्वको चाँसो बन्न पुग्यो। कोरोना भाइरस के हो भन्ने बारे थाहा हुँदा नहुँदै यस भाइरसले विश्वलाई नै आफ्नो चपेटामा लियो। भाइरसले विश्वलाई नै लाचार बनाइदियो र एक बर्ष विश्वका धेरै गतिविधि ठप्प बनायो। कोरोना बिरुद्धको लडाई आज पनि जारी  छ। 

कोरोनाको महामारीले आम सर्वसाधारणदेखि विश्वका कयौं हस्ती तथा धनी मुलुकलाई समेत आफ्नो चपेटामा लियो। जस कारण विश्वको अर्थतन्त्रनै आजको दिनमा अप्ठ्यारो अवस्थामा गुज्रिरहेका छन्। 

कोरोना भाइरसको नयाँ स्वरूप बेलायतमा देखिए यता सामान्यतर्फ फर्किदै गरेको नेपाल लगायत विश्वका आर्थिक गतिविधि फेरी अन्यौलको भुमरीमा फसेको छ। यद्दपी अवस्था विस्तारै सामान्य तर्फ फर्किदैछ र नेपाल लगायत विश्वका धेरै देश कोभिड १९ को पुर्ववत अवस्थामा फर्किन संघर्षरत देखिन्छन्। 

कोरोना देखिनु पुर्ववत अवस्थामा फर्किनलाई चीनले जुन उपलब्धी हासिल गरेको छ यसले फेरी अर्को पटक विश्व समुदायलाई अचम्मित बनाएको छ। पुरा विश्व कोरोना पुर्वको अवस्थामा फर्किनलाई संघर्ष गरिरहेका छन्, कतिपय मुलुकले सामान्य वृद्धिको लागि पनि संघर्ष गरिरहेका छन् । यस्तो कठिन अवस्थामा पनि चीनले आर्थिक वृद्धिका उपलब्धी देखाएर विश्वलाई हैरान बनाएको छ।  

चीनको अर्थतन्त्र जुन तिब्रताले अगाडी बढिरहेको छ यो कोरोनासँग जुधिरहेका देशहरुको कल्पना भन्दा टाढाको बिषय जस्तो बन्न पुगेको छ।  कोरोनालाई समयमै नियन्त्रण गर्न सकेकाले चीनले आफ्नो आर्थिक वृद्धिलाई पुर्ववत अवस्थामा फर्काउन सफल भएको किरिसिलका वरिष्ठ अर्थविद डीके जोशीको भनाई छ।  

उनकाअनुसार सबैभन्दा पहिले कोरोना चीनमा देखियो र चीनले नै सबै भन्दा पहिले कोरोना नियन्त्रण गर्ने देश बन्यो। पुरै समस्याको मूल कारण नै कोभिड १९ हो। अहिलेको अवस्थामा जसले कोरोना नियन्त्रण गर्न सक्छ त्यो देशले आफ्नो देशको आर्थिक गतिवधिलाई अगाडी लैजान सक्छ। यहि कारण एक तिहाई अर्थात तीन महिनाको अवधिमा नै चीनको वृद्धि नकारात्मक भयो र त्यसपश्चात विस्तारै आर्थिक वृद्धि अगाडी बढ्यो। 

आइएमएफको प्रक्षेपण: २०२१ मा ७.९ प्रतिशतले चीनको आर्थिक वृद्धि 

अन्तराष्ट्रिय मुद्रा कोष आइएमएफले सन् २०२१ को लागि चीनको आर्थिक वृद्धिको पूर्वानुमान घटाएर ७.९ प्रतिशत गरिदिएको छ। पहिले आइएमएफले चीनको आर्थिक वृद्धि २०२१ मा ८.२ प्रतिशतले हुने प्रक्षेपण गरेको थियो। 

वृद्धि प्रक्षेपणलाई घटाउनुको वावजुद चीनको ७.९ प्रतिशतको आर्थिक वृद्धि विश्वका अन्य देशका लागि कुनै पनि परिस्थितिमा प्राप्त गर्न असम्भव जस्तै छ। 

पछिल्लो बर्ष चीनको अर्थव्यवस्था २.३ प्रतिशतले बढेको छ। २०२० को सुरुवातमा कोभिड १९ को लकडाउनको कारण उत्पन्न परिस्थितिका बावजुद चीन आर्थिक वृद्धि गर्नलाई सफल भएको छ। 

चीनको अर्थव्यवस्था पछिल्लो चालिस बर्षमा पहिलो पटक २०२० मा सुस्त गतिमा अगाडी बढेको छ। तर जानकारहरु भन्छन्, चीनको जीडीपीको आकार विद्यमान मुल्यका आधारमा १० लाख करोड डलरको छ, यसमा १ प्रतिशतको मात्र वृद्धि हुँदा यसको असर अत्यन्त ठुलो हुने गर्दछ। 

२०२० मा चीनको अर्थतन्त्र सुस्त गतिमा अगाडी बढेपनि यस बर्षको अन्तिम अर्थात अक्टुबरदेखि डिसेम्बरसम्म आर्थिक वृद्धि ६.५ प्रतिशतको छ, जुन आफैंमा ठुलो उपलब्धि हो। 

वरिष्ठ अर्थशास्त्री प्रोफेसर अरुण कुमारका अनुसार चीनको अर्थव्यवस्था पुन पूर्ववत अवस्थामा फर्किनुमा तीन कारण छन्। पहिलो कारणमा कोरोनाको माहामारीमाथि नियन्त्रण, आर्थिक गतिविधि सुचारु र देशका अन्य इलाकामा कोरोना फैलिनबाट रोक्नु। 

चीनले कोरोनाको माहामारीमा पनि उल्लेख्य आर्थिक वृद्धि हासिल गर्नुका अन्य कारणहरुमा निर्यात तथा उत्पादनमा तिब्रता,  बजारमा पैसाको सहजता, घरेलु पर्यटन तथा स्वदेशी बस्तु तथा सेवाको उपयोगमा वृद्धि, अमेरिका लगायत अन्तराष्ट्रिय शक्तिराष्ट्रको दबाबको व्यवस्थापन,  एसिया प्रशान्त महासागर क्षेत्रका १५ देशहरुले नोभेम्बर २०२० मा विश्वकै सबै भन्दा ठुलो ब्यापार सन्धीमा हस्ताक्षर र त्यसमा चीनको नेतृत्त्व, युरोपियन युनियनसँग ब्यापार सम्झौता लगायत छन्। 

बर्ष २०२० को शुरुवातमा चीनको केन्द्रिय बैंकले वृद्धि तथा रोजगारलाई बढाउने गरि नीति नियम निर्माण गर्यो। पिपुल्स बैंक अफ चाइनाले पछिल्लो बर्ष फरवरीमा रिभर्स रिपो मार्फत अर्थव्यवस्थामा कुल २४२ अर्ब ७४ करोड डलर परिचालन गर्यो। 

बर्षको अन्तिममा अर्थात डिसेम्बरमा चीनको केन्द्रिय बैकले मध्यम टर्म लोन मार्फत १४५ अर्ब डलर बजारमा लगानी गर्यो।  डिसेम्बर देखि यता चीनले लगातार रुपमा त्यहाँको अर्थव्यवस्थामा केन्द्रिय बैंक मार्फत लगानी पठाउने काम गर्यो र ऋणको ब्याजदर पनि २.९५ प्रतिशतमा स्थिर राख्यो।  

एक बर्षको अन्तरालमा चीनमा २.४४ लाख डलर युवान अर्थात करिब २४४ खर्ब नेपाली रुपैयाँ बराबरको नयाँ कर्जा लगानी भयो। विशेषगरि यस्ता कर्जा साना तथा मझौला किसिमका कम्पनी तथा व्यवसायीमा लगानी भयो।  

नेपालले के सिक्ने ?

नेपाल केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले कोभिड १९ ले नेपालको अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनराबृति सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ। उक्त प्रतिवेदनमा कोरोनाको लकडाउन पश्चात ६१ प्रतिशत उद्योग व्यवसाय अझैं संचालन हुन नसकेको उल्लेख छ।  त्यस्तै २०७७ असारको सर्वेक्षणको तुलनामा ५४ प्रतिशत उद्योग व्यवसाय संचालनमा आएको प्रतिवेदनमा उल्लेख छ। 

केन्द्रिय तथ्यांक विभागले कोभिड १९ को वर्ष अर्थात २०७६/७७ मा नेपालको आर्थिक वृद्धि कति हो भन्ने कुरा यकिन रुपमा अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन। त्यसैले राष्ट्र बैंकले जारी गरेको सर्वेक्षणमा आर्थिक वृद्धि न्यून हुने भनिएको छ तर अंक तोकिएको छैन। यद्दपी जानकारहरु भने गत आर्थिक बर्ष नेपालको आर्थिक वृद्धि नकारात्मक नभएपनि शुन्यको हाराहारीमा हुने अनुमान गरेका छन्। 

नेपाल सरकारले आर्थिक बर्ष २०७७/७८ मा ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरेको छ। तर विश्व बैंकले आर्थिक बर्ष २०७७/७८ मा नेपालको आर्थिक वृद्धि शुन्य दशमलब ६ प्रतिशत हुने प्रक्षेपण गरेको छ। अन्तराष्ट्रिय मुद्रा कोष आइएमएफले पनि नेपालको आर्थिक वृद्धिबारे तथ्यांक सार्वजनिक गर्ने तयारीमा छ तर आइएमएफको प्रक्षेपण विश्व बैंक भन्दा धेरै फरक नपर्ने देखिन्छ। 

२०७७ असारको सर्वेक्षणको तुलनामा ५४ प्रतिशत उद्योग व्यवसाय संचालनमा आएको तथ्यांकले देखाएको छ। आर्थिक बर्षको ६ महिना बितिसक्दा समेत विकास खर्च अहिलेसम्म १४ प्रतिशतको हाराहारीमा मात्र छ। यस तथ्यांकलाई आधार मान्ने हो भने नेपाल सरकारले लिएको आर्थिक वृद्धिको आसपास आउँनलाई समेत  उत्पादनमा चमत्कारिक काम गर्न सक्नुपर्छ।  तर कोभिडको महामारीबाट उठ्न खोजेको नेपालको अर्थतन्त्रमा पछिल्लो अस्थिर राजनितिक बादल छाएको छ। यसलाई समेत व्यवस्थापन गरेर अगाडी बढ्न सकेमा मात्र आर्थिक गतिविधि बढ्ने अपेक्षा गर्न सकिन्छ। 

त्यस्तै माघ ६ गतेको तथ्यांकलाई हेर्ने हो भने बैंकिङ प्रणालीमा पछिल्लो ६ महिना ६ दिनमा ३४२ अर्ब निक्षेप संकलन भएको छ भने ३९० अर्ब कर्जा परिचालन भएको छ। यसलाई र बैंकहरुले बचत तथा मुद्दतीमा दिने ब्याजको पछिल्ला बिज्ञापन हेर्ने हो भने अबको दिनमा कर्जा लगानी बढ्ने देखिन्छ र त्यसका लागि सिमित निक्षेप तानातान हुने र ऋणको ब्याजदर अहिलेको तुलना केहि महँगो हुन् सक्ने देखिन्छ। यस्तोमा नेपाल राष्ट्र बैंकले बजारमा पर्याप्त तरलता औजारहरुको प्रयोग गर्नुपर्ने देखिन्छ। बैंकिङ प्रणालीमा करिब २८ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ। 

आर्थिक बर्ष २०७/७८ को ५ महिनासम्म करिब २७ अर्ब सहुलियत कर्जा तथा ८३ अर्ब पुनर्कर्जा लगानी भएको छ। तर कोभिड १९ को महामारीबाट प्रभावित उद्योग व्यवसायलाई सुचारु गर्नलाई सरकारले ल्याएको व्यवसायिक निरन्तरता कर्जा जस्ता योजनाहरु प्रभावकारी नहुँदा अझैं पनि झन्डै ४० प्रतिशत उद्योग व्यवसाय बन्दको अवस्थामा छन्। सरकारले व्यवसायिक निरन्तरता कर्जा लगायत अन्य योजनाहरु समेत प्रभावकारी रुपमा अगाडी बढाउँन सकेमात्र न्युनतम आर्थिक वृद्धि भएपनि हासिल हुन् सक्छ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved