चौधरी ग्रुपको 'द फर्न' बन्यो भारतकै सर्वाधिक ठुलो चेन होटल, अझै थपिंदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2021 | 06:11:03 PM मा प्रकाशित

laxmi  sunrise bank

द फर्न होटेल्स एन्ड रिसोर्ट सन् २०२० मा भारतको सर्वाधिक ठूलो हस्पिटालिटी सेवाप्रदायक घोषणा भएको छ । एचभीएस एनारकद्वारा प्रकाशित ‘इन्डियन हस्पिटालिटी ओभरभ्यु २०२०’अनुसार सीजी हस्पिटालिटी अन्तर्गतको  ‘द फर्न’ले गत वर्ष भारतमा सबैभन्दा धेरै व्यवसाय विस्तार गरेको छ । 

सन् २०१९ मा पनि ‘द फर्न’ पहिलो थियो । सीजी कर्प ग्लोबलको सदस्य कम्पनी सीजी हस्पिटालिटीले होटल तथा रिसोर्ट सञ्चालन गर्छ । कोरोना महामारीका कारण विश्वभर व्यापार–व्यवसायले घाटा बेहोरे पनि भारतीय होटल व्यवसाय क्षेत्रमा केही प्रगति देखिएको छ । दर्ता संख्याका आधारमा गत वर्ष त्यहाँ होटल व्यवसायमा वृद्धि भए सँगै मध्यमस्तरका होटल दर्ता तथा सम्झौताका कारण समग्र बजारमा सुधार देखिएको हो । ठूला होटलले पनि अघिल्लो वर्षभन्दा उल्लेख्य प्रगति गरेका छन् ।

मध्यमस्तरका होटल भारतमा बढी रुचाइन्छन् । सन् २०२० मा उपलब्ध कोठा संख्याका आधारमा यस्ता होटलले ४१ प्रतिशत हिस्सा ओगटेका छन्, जहाँ ठूला होटलको हिस्सा ३७ प्रतिशत छ । विलासी र सामान्य होटलको हिस्सा ११–११ प्रतिशत छ ।

एचभीएसको अध्ययनअनुसार व्यवसाय विस्तारमा द फर्न पछि म्यारियट, सरोवर होटल्स, आईएचसीएल र इन्टेली स्टे छन् । कोठा संख्याका आधारमा भने ‘द फर्न’ तेस्रो नम्बरमा छ । आईएससीएलले सर्वाधिक कोठा संख्या विस्तार गरेको छ । दोस्रो नम्बरमा विन्धाम होटेल्स छ ।

सीजी हस्पिटालिटीले कन्सेप्ट हस्पिटालिटीसँगको सहकार्यमा होटल विस्तार र सञ्चालन गर्दै आएको छ । भारतकै ठूलो चेन हुन पाउनु गर्वको कुरा भएको र यसले अझै उत्साहित बनाएको कन्सेप्ट हस्पिटालिटीका सीईओ सुहेल कन्नामपिलीको भनाई छ । 

सन् २०२१ मा विभिन्न स्थानमा थप १३ वटा होटल खोल्ने कम्पनीको योजना छ । यससँगै फर्नको चेन संख्या ८७ पुग्नेछ भने १३ होटलमा १,१५६ कोठा थपिएपछि ‘द फर्न’को कुल कोठा संख्या ५,२१७ पुग्नेछ । वर्षको शुरुवातमै द फर्न ले नयाँ शहरहरू जबालपुर, जुनागढ, मुसोरीसँगै उत्तरपूर्वी भारतको गान्तोक (सिक्किम) मा होटल विस्तार गरिसकेको छ ।

एचभीएसको अध्ययन प्रतिवेदनमा प्रतिक्रिया दिँदै सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले यसबाट आफूहरू अत्यन्त उत्साहित भएको बताए । उनले लामो समयदेखि भारतमा व्यवसाय विस्तार गरिरहेको र त्यसको प्रतिफल अहिले पाएको बताए । “गत साल सम्पूर्ण विश्व विभिन्न खाले अवरोधबाट गुज्रियो । त्यस्तो जटिल अवस्थामा पनि हामी सुस्ताएनौं । सुदूर भविष्य हेरेर काम गरिरह्यौं” उनले भने । 

उनका अनुसार दिगो पर्यटन र पर्यावरण–संवेदनशील दर्शनमा आधारित भएर सीजी हस्पिटालिटीले विश्वभर व्यवसाय विस्तार गरिरहेको छ ।

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved