बिश्व स्वास्थ्य संगठन, 'डब्लुएचओ' ले चीनको कम्पनी सिनोफार्म ले उत्पादन गरेको कोरोना बिरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमती दिएको छ। यससँगै चीन 'डब्लुएचओ' बाट कोरोना बिरुद्धको खोपको मान्यता पाउनेमा गैर पश्चिम देशहरुमै पहिलो देश बन्न पुगेको छ।
डब्लुएचओले चीनको सिनोफार्मलाई अनुमती दिएसंगै कोरोनाको खोप पाउनेमा युरोप तथा अमेरिकाहरुको सिन्डिकेट तोडिएको छ। डब्लुएचओबाट अनुमती पाएको यो खोप चीन तथा बिश्वभरका करोडौं मानिसहरुलाई पहिल्यै दिईसकिएको छ। चीनले नेपालमा समेत १० लाख डोज अनुदान स्वरूप यो खोप दिईसकेको छ भने नेपालमा समेत यो खोप लगाईसकिएको छ।
यसभन्दा अगाडी डब्लुएचओ ले फाईजर, एस्ट्राजेन, जोनसन् एण्ड जोनसन् र मोर्डेनालाई आपतकालीन खोपको रुपमा अनुमती दिइसकेको छ। डब्लुएचओ ले अहिले अनुमती दिएपनि अफ्रिका, ल्याटिन अमेरिका र एशियाका कयौं देशहरुले यस अगाडी नै चीनको खोपलाई आपतकालीन प्रयोगको लागि अनुमती दिईसकेका छन्।
अन्तर्राष्ट्रिय स्तरमा चीनमा उत्पादन भएका खोपको असर भएको सन्दर्भबारे कम डाटा उपलब्ध छन्, जस कारण यसको लाभलाई लिएर अनिश्चितता कायम नै रहेको छ। तर डब्लुएचओ ले शुक्रबार सिनोफार्मको खोपको सुरक्षा, प्रभावकारिता र गुनास्तारियतालाई मान्यता दिएको छ।
डब्लुएचओले अनुमती दिनुका साथै यसको दुई डोज १८ बर्ष भन्दा माथिको आयुका मानिसहरुलाई दिनु पर्ने सुझाव समेत दिएको छ। डब्लुएचओ ले आगामी दिनमा चीनको अर्को कम्पनी सिनोभ्याकको खोपबारे पनि निर्णय लिन सक्ने बताईएको छ। त्यस्तै रुसद्वारा उत्पादन भइरहेको खोप स्पुतनिक भी को मुल्यांकन जारी छ। डब्लुएचओले अनुमती दिईनसकेपनि नेपाल सरकारले लोमस फर्मास्युटिकललाई ५० लाख डोज स्पुतनिक भी आयात गर्नलाई अनुमती दिईसकेको छ।