प्रधानमन्त्री ओलीद्वारा कोभिडको महामारीमा नेपाललाई साथ दिन जी-सेभेनलाई आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2021 | 11:08:47 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका धनि राष्ट्रहरुको संगठन जी सेभेनलाई कोभिड १९ को महामारीको लडाईमा नेपाललाई साथ दिन आग्रह गरेका छन्। बेलायतबाट प्रकाशित पत्रिका द गार्जियनमा प्रकाशित आलेख मार्फत प्रधानमन्त्री ओलीले यथाशिघ्र कोरोनाभाइरस विरुद्धको खोपको आपूर्तिको व्यवस्था मिलाउन जी सेभेनको वर्तमान अध्यक्ष बेलायतलाई आग्रह गरेका छन्।

नेपाल र बेलायतबीच अत्यन्त गहीरो सम्बन्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कोभिड १९ को दोस्रो लहरसँग लडिरहेको नेपाललाई जति सक्दो चाँडो सहयोग गर्नलाई बेलायतलाई आग्रह गरेका छन्। 

कोरोना भाइरसको नयाँ तथा खतरनाक भेरिएन्टको कारण कोभिड १९ को यो महामारीमा नेपालले संघर्ष गरिरहेको र आफु नेतृत्त्वको सरकारले यसको उपचार तथा नियन्त्रणको लागि हर सम्भव प्रयास गरेको प्रधानमन्त्रीले उक्त आलेखमा उल्लेख गरेका छन्। 

बढ्दो संक्रमितका कारण यसले फ्रन्टलाइनमा काम गर्ने डाक्टर, नर्स, सुरक्षाकर्मी, सहयोगी तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सबैमा जोखिम बढाएको घटना उल्लेख गर्दै प्रधानमन्त्रीले भाइरसबाट सबैजना सुरक्षित नहुँदासम्म कोही पनि सुरक्षित हुन नसक्ने पनि जनाएका छन् ।   

महामारीले नेपालको स्रोत र पूर्वाधारमा पीडा दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले खोप, परीक्षण किट्स, अक्सिजन उपकरण र अन्य स्वास्थ्य सामाग्री प्रदान गर्न पनि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका छन् ।

बढ्दो भाइरस संक्रमणले नेपालको स्वास्थ्य प्रणालीलाई चुनौति थपेको उल्लेख गर्दै प्रधानमन्त्रीले परिस्थितीलाई नियन्त्रणमा राख्न सरकारले भरमग्दुर प्रयास गरिरहेको पनि जनाएका छन् । अस्पतालमा बिरामीलाई शैय्या उपलब्ध गराउन पनि कठिन भएको जानकारी उनले दिएका छन् ।

भाइरस महामारीको कारण नेपालले आसन्न सगरमाथा संवाद स्थगित गर्नुपरेको बाध्यता आइलागेको समेत प्रधानमन्त्री ओलीले जानकारी गराएका छन् । आसन्न जलवायु सम्मेलन ९कोप–२६० आयोजकको नाताले पनि बेलायतले जलवायु प्रभावित नेपालजस्ता मुलुकलाई आर्थिक सहायता र क्षमता अभिवृद्धिमा सहयोग गर्नुपर्ने माग गरेका छन् ।

जलवायु परिवर्तनको कारण हिमनदी पग्लिँदा बाढी र सुख्खापन बढेको जानकारी दिँदै प्रधानमन्त्रीले सगरमाथा संवाद स्थगित गर्नुपरेको बाध्यता रहेको जनाएका हुन् ।पर्वतारोहीलाई अक्सिजन दिलाउन शेर्पा समुदायले भूमिका खेलेपनि, आज तिनै शेर्पाहरुको देशलाई अक्सिजन अभाव भएकाले अक्सिजनको लागि मद्दत गर्न पनि ओलीले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले जतिसक्दो चाँडो जीवनदायी औषधी र खोप उपलब्ध गराउन विदेशी मित्रहरुलाई आग्रह समेत गरेका छन् । महामारी र जलवायु परिवर्तन जुम्ल्याहा चुनौति भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले एकजुट भएर लड्नु नै समस्याको समाधान भएको जनाएका छन्।

यस महामारीले फेरी एक पटक धनि र गरिब देशहरुबीचको बिशाल खाडल उजागर गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले खोप, स्वास्थ्य सामग्री तथा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणलाई अत्यन्त सहज र सुलभ बनाएर यो खाडललाई कम गर्नुपर्ने बताएका छन्। धनि राष्ट्रहरुको संगठन जी सेभेनमा अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, इटाली, क्यानडा र जापान रहेका छन्।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved