सत्ता कब्जापछि तालिबानको पहिलो पत्रकार सम्मेलन: प्राथमिकतामा महिला अधिकार र आममाफी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2021 | 10:22:10 PM मा प्रकाशित

laxmi  sunrise bank

राजधानी काबुलसहित अफगानिस्तान नियन्त्रणमा लिन सफल भएसँगै तालिबानले पहिलो पत्रकार सम्मेलन आयोजना गरेको छ। तालिबानका  प्रवक्ता जबिहुल्लाह मुजाहिदले २० वर्षको सङ्घर्षपछि देशलाई मुक्त गरेको र विदेशीहरूलाई निकालेको बताएका छन्।

२० बर्षपछि तालिबानले अफगानिस्तानलाई नियन्त्रण लिनु पुरै देशका लागि गर्वको क्षण भएको प्रवक्ता मुजाहिदले पत्रकार सम्मेलनमा बताएका छन्। 

आफ्नो अधिकांश समय अफगानिस्तान अब शान्तिको बाटोतर्फ अगाडी बढेको र अब फेरी अफगानिस्तान अर्को द्वन्दको भुमरीमा नफस्ने कुरामा उनले जोड दिए। 

'अफगानिस्तान अब द्वन्द्वको रणभूमि नहुने सुनिश्चित गर्न चाहन्छौ' प्रवक्ता मुजाहिदले भने। 

त्यस्तै तालिबानले आफूहरू बिरुद्द लडेका सबैलाई आममाफी दिएको र आफुहरुले बाह्य वा आन्तरिक शत्रु नचाहेको  प्रवक्ता मुजाहिदले पत्रकार सम्मेलनमा सबैलाई जानकारी दिए।  

त्यस्तै तालिबानले अफगानिस्तान सम्हाले यता त्यहाँ महिलाहरुलाई कस्तो व्यवहार गरिन्छ भन्ने आम चाँसो रहेको बेला तालिबानक प्रवक्ता मुजाहिदले शरिया कानुनका आधारमा महिलाहरुलाई उनीहरुको अधिकार प्रदान गरिने प्रतिबद्दता जनाएका छन्।  

पत्रकार सम्मेलनमा मुजाहिदले कसैलाई पनि हानि नगर्ने अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहेको बताए। आफूहरू शरिया कानुनका आधारमा महिलाहरूको हक अधिकारप्रति प्रतिबद्ध रहेको उनले जानकारी दिए।

'उनीहरूले हामीसँग काँधमा काँध मिलाएर काम गर्नेछन्, हामी अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहन्छौँ कि भेदभाव गरिनेछैन' मुजाहिदले भने।

तालिबानको राजनीतिक कार्यालयका अन्य वरिष्ठ नेताहरूसहित कान्दहार क्षेत्रमा मुल्लाह बरादर आइपुगेको बताइएको छ।

निजी क्षेत्रका सञ्चारमाध्यम 'निष्पक्ष र स्वतन्त्र' हुन पाउने

तालिबानले आफ्नो सांस्कृतिक ढाँचाभित्र रहेर सञ्चारमाध्यमप्रति प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहेको जनाएको छ। पत्रकार सम्मेलनका क्रममा प्रवक्ता मुजाहिदले भने, 'निजी क्षेत्रका सञ्चारमाध्यमहरू स्वतन्त्र र निष्पक्ष रहिरहन पाउनेछन्।'

सञ्चारकर्मीहरूले गरेको प्रश्नको उत्तर दिँदै तालिबान नेतृत्वले विदेशी संस्थाहरूसँग काम गरेका ठेकेदार र दोभासेहरूसँग बदला नलिइने जनाएको छ।

'कसैप्रति बदलाको भाव देखाइने छैन' मुजाहिदले भने।

आफ्नो देशमा हुर्किएका युवाहरूले देश नछोडून् भन्ने आफूहरूले चाहेको र युवाहरू देशको सम्पत्ति रहेको प्रवक्ता मुजाहिदले बताए। कसले कसका लागि काम गरिरहेका छन् भन्ने कुरा सोध्न कसैको पनि ढोका नढकढकाइने उनले जानकारी दिए।

'हामी सरकार गठन गर्ने तयारीमा छौँ'

पहिलो पटक पत्रकार सम्मेलन गरेका तालिबानका प्रवक्ताले सञ्चारकर्मीहरूको प्रश्नको उत्तर दिँदै सरकार गठन भएपछि कस्तो कानुन ल्याउने भन्ने कुराबारे निर्णय गरिने जानकारी दिएका छन्।

आफूहरूले सरकार गठन गर्नका लागि गम्भीर रूपमा काम गरिरहेको र त्यो सकिए लगत्तै घोषणा हुने मुजाहिदले बताए।

'हामीले सबै सीमा नियन्त्रणमा लिएका छौँ' उनले थपे।

अलकायदालाई आश्रय दिन सक्ने जोखिम बारे सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा उनले 'अफगानिस्तानको भूमि कसैको विरुद्ध प्रयोग नहुने' बताए।

'अन्तर्राष्ट्रिय समुदायलाई हामी यस बारे विश्वास दिलाउन चाहन्छौँ' उनले भने।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved