भारतको शेयरबजारमा विज्ञ र पत्रकारलाई ८ करोड जरिवाना, धितोपत्र बोर्डलाई गतिलो पाठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2021 | 03:44:48 PM मा प्रकाशित

laxmi  sunrise bank

विभिन्न भिडियो कार्यक्रममा विज्ञ वा अतिथिलाई बोलाएर शेयर बजारको बारेमा बहस गर्नु नौलो होइन । तर कतिपय प्रस्तोताले भने सुझाव भन्दै कुराकानी कै क्रममा कुन शेयर खरिद बिक्रि गर्ने भन्दै विज्ञ वा अतिथिलाई नाम नै तोकेर शेयरको नाम भन्न दबाब दिन्छन् । र उनीहरुले सहजै नाम नै तोकेर भनिदिन्छन् ।

यो नेपालको लागि नौलो होईन । यसो गर्दा बजारलाई म्यानुपुलेट गरेको आरोप लागेपनि नेपालका नियामक निकायले यस्ता गतिविधिलाई वास्ता गरेको पाईदैन । 

नेपालमा पनि विशेषगरि युट्युबमा मात्र प्रसारण हुने कार्यक्रममा पत्रकारले कुनै विज्ञलाई बिलाएर शेयर खरिद बिक्रिको सिफारिस गरेर सो को मूल्य बढाएर लाभ लिने गरेका छन् । यद्यपि यसबारे नियामकले केहि पनि गर्ने गरेको छैन ।

तर भारतमा भने यस्तै प्रकृतिको घटनामा त्यहाँको शेयर बजारको नियामक निकायले प्रस्तोता र अन्तर्वाता दिने विज्ञ दुवैलाई कडा कारवाही गरेको छ । भारतको शेयर बजारको नियामक निकाय 'सेक्युरिटिज एण्ड एक्सचेन्ज बोर्ड अफ इण्डिया (सेबी)ले सीएनबिसीका पत्रकार तथा प्रस्तोता प्रदिप पान्ड्या र अतिथिको रुपमा उपस्थिति हुने लगानी विज्ञ अल्पस फुरियालाई कारवाही गरेको हो ।

सेबीले उनीहरुलाई सेबीले अर्को निर्णय नगरेसम्मको लागि शेयर बजारमा कारोबार गर्न रोक लगाउनुको साथै उनीहरुको बैंक खाता र डिम्याट खाता रोक्का गरेको छ । सेबीले उनीहरुलाई ८.४ करोड जरिवाना तिर्न आदेश दिएको छ । त्यस्तै उनीहरुलाई अर्को आदेश नभएसम्मको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा शेयर लगानी गर्न, सुझाव दिन , कुनै पनि माध्यमबाट रिसर्च रिपोर्ट छाप्न प्रतिबन्ध लगाईएको छ । उनीहरुलाई उनीहरुले सामाजिक संजालमा लेखेका सबै सामाग्रीको संरक्षण गर्न भनिएको छ । त्यस्तै सेबीले उनीहरुसँगबाट आफ्नो नाममा भएका सबै बैंक खाताको विवरण, डिम्याट खाताको विवरण र शेयरको विवरण माग गरेको छ । उनीहरुलाई आफ्नो नाममा रहेको कुनै पनि सम्पति बेच्न रोक लगाईएको छ । सेबीले सीएनबिसीलाई बजार समबन्धि प्रकाशन भएका सबै भिडियो र सामाग्री सुरक्षित रुपमा राख्न भनेको छ ।

गरेका के थिए ?

प्रदिपले सीएनबिसीमा शेयर बजार सम्बन्धि विभिन्न नाममा कार्यक्रम चलाउने गरेका थिए । त्यसमा उनले विज्ञको रुपमा अल्पस फुरियालाई बोलाउने गरेका थिए । प्रदिपले 'पान्ड्याका फन्दा', 'दश के दमदार ट्रेड', बजार सुरु हुनु अगाडी 'पहेले सौदा', बजार बन्द भएपछि 'आखिरी सौदा' लगायतका कार्यक्रम चलाउने गरेका थिए । यी कार्यक्रममा विज्ञको रुपमा उपस्थित हुने फुरियाले विभिन्न शेयर खरिदको लागि सुझाव दिने गरेका थिए ।

सेबीले गरेको अनुसन्धानमा उनीहरु दुवै जनाले सुरु मै शेयर खरिद गर्ने गरेको र कार्यक्रम मार्फत सोहि शेयर नै खरिद गर्न सुझाव दिने गरेको खुलेको छ । सुझाव दिएको कार्यक्रम प्रसारण भएपछि शेयर मूल्य बढ्ने र उनीहरुले शेयर बेच्ने गरेको खुलासा भएको हो । यसरी उनीहरुले ८.४ करोड नाफा कमाएकोले यो कानुन विपरित हुने हुने भन्दै सेबीले उनीहरुलाई ८.४ करोड नै जरिवाना तिर्न भनेको हो । सेबीले लामो समय अनुसन्धान गरेर यसबारे ८७पेजको प्रतिवेदन तयार पारेको छ । जसमा उनीहरु २ जनाबीचमा कुन दिन कति समय कुराकानी भयो, कुन दिन कति बजे कुन कम्पनीको कति कित्ता शेयर कुन समयमा खरिद बिक्रिमा राखेर कारोबार गरे भन्नेसम्मको विवरण उल्लेख छ ।

सीएनबिसी पाठकले विश्वास गरेको मिडिया भएकोले धेरैले सोहि कार्यक्रमको आधारमा शेयर खरिद गरेपछि मूल्य बढ्ने र उनीहरु बिक्रि गर्ने गरेको खुलेको हो। प्रदिपले भने हाल सीएनबिसी छाडेर छुट्टै बिजनेश च्यानल सुरु गर्ने तयारीमा छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved