नेपालमा ओमिक्रोन 'भेटिएको छैन', बाहिरबाट आउँन नदिन बन्दैछ यस्तो रणनीति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2021 | 11:15:00 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन फैलिन सक्ने भन्दै नेपालले पनि दक्षिण अफ्रिकाबाट आउने यात्रुलाई नेपाल प्रवेश गर्न रोक लगाउने निर्णय गरेको अधिकारीहरूले बताएका छन्।

तर नेपाली राहदानीवाहक तथा कूटनीतिक नियोगका कर्मचारीहरूमाथि त्यस्तो प्रतिबन्ध लागु नहुने अध्यागमन अधिकारीहरूले बताए। उनीहरूका अनुसार नेपाली राहदानी भएका र कूटनीतिक राहदानी बोक्ने अन्य देशका नागरिकले पनि नेपाल आएपछि १४ दिन अनिवार्य क्वारन्टीनमा बस्नुपर्नेछ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा उक्त भेरिअन्टको भाइरस देखा परेको पुष्टि भएको छैन।तर भाइरसको त्यो नयाँ प्रकारलाई दृष्टिगत गर्दै "आवश्यक सतर्कता अपनाइएको र प्राविधिक विश्लेषण पनि थालिएको" स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन्।

गृह मन्त्रालयको निर्देशन

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार उक्त भाइरसको नयाँ भेरिअन्ट दक्षिण अफ्रिकाबाट उत्पन्न भएको भन्ने कुराहरू आएकाले उक्त देशबाट आउने व्यक्तिलाई यात्रा प्रतिबन्ध लगाउन निर्देशन दिइएको हो।

पोखरेलले अध्यागमन विभागलाई अर्को व्यवस्था नहुन्जेल दक्षिण अफ्रिकाबाट आउने व्यक्तिहरूलाई यात्रा प्रतिबन्ध लगाउनका लागि निर्देशन दिइएको हो।

अध्यागमन विभागका प्रवक्ता तथा निर्देशक झङ्कनाथ ढकालले गृह मन्त्रालयको पत्रअनुसार सबै अध्यागमन कार्यालयहरूलाई निर्देशन दिइसकिएको बताए।

उनले भने, "दक्षिण अफ्रिकाबाट आउने नेपाली र कूटनीतिक राहदानीवाहकबाहेक अन्यलाई यात्रा 'अनुमति नदिनू' भन्ने निर्देशन आएकाले त्यसैअनुसार हामीले मातहतका कार्यालयलाई पनि निर्देशन दिइसकेका छौँ।"

उनले नेपाली र कूटनीतिक राहदानीवाहकले भने आउन पाउने तर उनीहरूले अनिवार्य रूपमा १४ दिन क्वारन्टीनमा बस्नुपर्ने व्यवस्था गरिएको बताए।

यो व्यवस्था हाललाई मात्र लागु गरिएको र पछि अर्को व्यवस्था पनि हुनसक्ने अधिकारीहरूको भनाइ छ।

स्वास्थ्य मन्त्रालय के भन्छ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले उक्त भाइरसको नयाँ प्रकारबारे आफूहरूले सूक्ष्म निगरानी गरिरहेको बताएका छन्।उनीहरूका अनुसार पहिलेदेखि नै भाइरसका नयाँ भेरिअन्टहरू आउँछन् कि भनेर सतर्कताका साथ हेरिएको र निगरानी गरिएको अवस्था थियो।

नयाँ भेरिअन्ट भेटिएपछि त्यो नेपालमा आएको छ कि भनेर थप सतर्कता अपनाइएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए।

"अहिले हामीले स्थल र हवाई मार्गबाट भित्रिने व्यक्तिबारे सरकारले लिनुपर्ने सावधानीबारे हामीले प्राविधिक विश्लेषण गरिरहेका छौँ," उनले भने।

उनका अनुसार सबै नाकामा रहेका हेल्थ डेस्कलाई विशेष सावधानी अपनाउन निर्देशन दिइसकिएको छ।

त्यस्तै ४८ घण्टाभित्र गरिएको पीसीआर परीक्षणमा सङ्क्रमण नदेखिएका व्यक्तिलाई मात्र यात्रा अनुमति दिइएको तथा पूर्ण मात्रा खोप नलगाएकालाई अनिवार्य क्वारन्टीनको व्यवस्था गरिएको अधिकारीले बताए।

खोप लगाएका व्यक्तिहरूले नेपाल आउँदा घरैमा क्वारन्टीन बस्न पाउने तर नलगाएकाहरूले आफ्नै खर्चमा होटलमा १४ दिन क्वारन्टीन बस्नुपर्ने व्यवस्था गरिएको उनी बताउँछन्।

त्यस्तै नेपाल भित्रिएपछि गरिएको परीक्षणमा कोरोनाभाइरस पुष्टि भएमा त्यसको जीन सीक्वन्सिङ गराइने उनले बताए।

'नेपालमा ओमिक्रोन अहिलेसम्म पुष्टि भएको छैन'

सहप्रवक्ता डा. अधिकारीका अनुसार नेपालमा पछिल्लो समय ठूलो मात्रामा नमुना लिएर जीन सीक्वन्सिङको काम भइरहेको छ।पहिले भाइरसका उत्परिवर्तित भेरिअन्टहरूको पहिचानका लागि विश्व स्वास्थ्य सङ्गठनको प्रयोगशालामा नमुना पठाइने गरिएको थियो।

तर अहिले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै कोरोनाभाइरसको आनुवंशिक पहिचान गर्न सकिने अधिकारीहरूले बताएका छन्।

अधिकारीले भने, "अहिले पछिल्लो समयलाई मध्यनजर गरेर हामीले ठूलो सङ्ख्यामा नमुनाहरू विभिन्न ठाउँहरूमा पठाएर, हाम्रै स्थानीय प्रयोगशालामा पनि परीक्षण गर्ने कामहरू अगाडि बढाएका छौँ।"

"अहिलेसम्म पुष्टि भएका हिसाबले हामीकहाँ जुन दोस्रो लहरमा सङ्क्रमण गराएको सक्रिय भाइरस त्यही नै देखिन्छ। नयाँ भाइरस हामीकहाँ अहिलेसम्म पुष्टि भएको अवस्था छैन।"

डा. अधकारीले नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट फेला परेको पुष्टि हुनेबित्तिकै सार्वजनिक रूपमा जानकारी गराउने बताए।

"अहिले त्यो भाइरस हुन सक्ने, सङ्क्रमण आउन सक्ने सम्भावनालाई उच्च सतर्कताका साथ लिएर हामीले लिनुपर्ने सावधानीहरू जनस्वास्थ्यका मापदण्डहरू...यी सबै कुराहरूलाई हामीले सँगै लिएर जानुपर्नेछ," अधिकारीले भने।

"निगरानी बढाउनु पर्नेछ। त्यसमा हामी निगरानी बढाउने पाटोलाई सुदृढ गरेर कामहरू गरिरहेका छौँ।"

सीसीएमसीसी के गर्दैछ?

कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले नयाँ भेरिअन्टलाई लिएर सम्बन्धित सबै निकायसँग छलफल अघि बढाएको जनाएको छ।

अधिकारीहरूका अनुसार विदेशबाट आउने र नेपालबाट प्रस्थान गर्नेहरूको यात्रा व्यवस्थापनबारे हाल लागु भएको आदेशलाई संशोधन गर्नेबारे पनि छलफलहरू अघि बढाइएका छन्।

तर अहिलेसम्म सीसीएमसीसीले थप निर्णयहरू गरी नसकेको अधिकारीहरू बताउँछन्। सीसीएमसीकी प्रवक्ता सहसचिव सुनिता नेपालले भनिन्, "हामीले गम्भीर रूपमा लिएर सबै निकाय सतर्क छौँ।"

"थप के गर्ने भन्नेबारे हामी छलफलकै चरणमा छौँ। यसलाई गम्भीर रूपमा लिएर सतर्कता अपनाउन नागरिकहरूलाई पनि आग्रह गर्छौँ।"

-बिबिसीबाट साभार 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved