युक्रेनमा रहेका नेपाली नागरिकको उद्धारका लागि के गर्दै छ नेपाल सरकार?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2022 | 10:44:42 PM मा प्रकाशित

laxmi  sunrise bank

युक्रेनमा सङ्कट गहिरिएसँगै परराष्ट्र मन्त्रालयले उक्त देशमा रहेका नेपाली नागरिकहरूको "विवरण लिन थालिएको र घटनालाई नजिकबाट नियालिरहेको" बताएको छ।

पूर्वी युक्रेनस्थित पृथक्तावादीहरूको पकड रहेका दुई वटा क्षेत्रलाई रुसले राज्यका रूपमा मान्यता दिएसँगै त्यहाँको सङ्कट थप गहिरिएको हो।ती क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सेनालाई युक्रेनी भूमिमा प्रवेश गर्न आदेश दिएका छन्।रुसी कदमको अमेरिका र युरोपेली देशहरूसहित पश्चिमा शक्तिले आलोचना गरेका छन्।

यस्तो अवस्थामा युक्रेनमा जुनसुकै बेला ठूलो युद्ध हुनसक्ने भन्दै त्यहाँ रहेका नेपाली नागरिकहरू "त्रसित अवस्थामा बसेको" बीबीसीको सम्पर्कमा आएका युक्रेनस्थित नेपाली विद्यार्थीले बताएका छन्।

परराष्ट्र मन्त्रालयको भनाइ

युक्रेनमा रहेका नेपालीबारे चिन्ता व्यक्त भइरहेका बेला त्यहाँ रहेका नेपालीहरूको यकिन विवरण लिन थालिएको परराष्ट्र मन्त्रालयको भनाइ छ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बीबीसीसँग भनिन्, "यसको बारेमा हामी जानकार छौँ। घटनालाई हामीले नजिकबाट नियाली रहेका छौँ।"

"युक्रेन हेर्ने जर्मनीस्थित दूतावासलाई पत्राचार गरेर हामीले कति नेपाली छन् भनेर बुझेका पनि छौँ।"

जानकार अधिकारीहरूका भनाइमा युक्रेनमा धेरै ठूलो सङ्ख्यामा नेपालीहरू रहेका छैनन्।त्यहाँ स्थायी हिसाबले बसोबास वा व्यवसाय गर्ने नेपालीहरू निकै कम छन्।

तर चिकित्सासहित व्यवस्थापन सङ्कायमा अध्ययन गर्न गएका विद्यार्थीको सङ्ख्या भने उल्लेख्य रहेको बताइन्छ।

त्यस्तै युरोपका अन्य देश वा अमेरिका जानका लागि युक्रेनलाई ट्रान्जिट बनाएर बसेका केही नेपाली पनि रहेको जानकारी आएको अधिकारीहरूको भनाइ छ।

जर्मनीस्थित दूतावासले युक्रेनमा रहेका एक सयभन्दा बढी नेपालीको विवरण लिएको बताइएको छ।

नेपालीहरूलाई उद्धार गर्नुपर्ने अवस्था आए त्यसका लागि सहजीकरण गर्न गैर आवासीय नेपाली सङ्घ लगायतका संस्थाहरूसँग पनि कुराकानी गरिएको प्रवक्ता लम्सालको भनाइ छ।

'हामी त्रासमा बाँचिरहेका छौँ'

युक्रेनको राजधानी किएभस्थित इन्टरन्याशनल युरोपियन युनिभर्सिटीमा व्यवस्थापनमा स्नातक अध्ययनरत एक जना नेपाली विद्यार्थीले "आफूहरू त्रासमा बाँचिरहेको" बताएका छन्।

नेपालको पोखरा घर भएका लोकेश मगरले टेलिफोनमा बीबीसीसँग कुराकानी गर्दै भने, "अहिले हामी विदेशी विद्यार्थीहरू त्रासपूर्ण अवस्थामा बसिरहेका छौँ। फ्रान्स, इटली, ब्रजिलजस्ता देशका साथीहरू गइसके। भारतका पनि जान लागेका छन्। अहिले अवस्था निकै त्रासपूर्ण छ।"

उनका भनाइमा रुसले युक्रेनमाथि हमला गर्छ भन्ने हल्ला भएपछि विदेशी विद्यार्थीहरूसहित उनले पनि किएभ छाडेका थिए।किएभ छाडेर केही दिन युक्रेनको पश्चिमी सहर लीभीभमा गएर बसेपछि दुई दिनअघि मात्र आफू किएभ फर्किएको उनको दाबी छ।

त्यस्तै पूर्वी युक्रेनको विवादित क्षेत्र नजिकका सहरमा अध्ययनरत नेपाली विद्यार्थीहरू पनि अहिले राजधानी किएभ र पोल्यान्ड नजिकैको लीभीभ सहरतर्फ सरेको आफूले थाहा पाएको उनको भनाइ छ।

किएभका स्थानीय ठूला व्यापारीहरूले देशै छाडेको खबरहरू आएको मगरले बताए। युक्रेनका नागरिकमा पनि त्रास देखिएको र अवस्था सामान्य जस्तो नलाग्ने उनले जानकारी दिए।

आफू जर्मनीस्थित नेपाली दूतावासको नियमित सम्पर्कमा रहेको र आवश्यक पर्दा उद्धार हुन्छ भन्ने आश्वासन पाएको उनले बताए।

पूर्वोत्तर युक्रेनको खर्किभ सहरस्थित खर्किभ पोलिटेक्निक इन्स्टिट्युटमा इन्जिनियरिङमा स्नातक गरिरहेका र हाल किएभमा रहेका अर्का नेपाली विद्यार्थीले चाहिँ "अवस्था खासै खतरनाक नभएको" बताए।

बीबीसीसँगको टेलिफोन कुराकानीमा लमजुङ घर भएका किशोर थापाले भने, "अहिले नै अवस्था धेरै खराब भएको छैन। त्यस्तो अवस्था आयो भने सरकारले पक्कै उद्धार गर्ला।"

उनका भनाइमा कतिपय नेपालीहरूले चाहिँ त्रासका कारण मध्यपूर्वका देशहरू हुँदै नेपाल फर्कन थालेका छन्।

केही साथीहरूले चाहिँ दुबईको भिसा लगाएर गए तर यहाँ पनि भारत र पाकिस्तानबीच कश्मीरमा भएजस्तै त हो," उनले भने, "अहिलेसम्म खतरा महसुस गरेका छैनौँ।" -बिबिसीबाट 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved