रुस–युक्रेन युद्धले बढायो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2022 | 12:03:06 PM मा प्रकाशित

laxmi  sunrise bank

रुस र युक्रेनबीच युद्धको अवस्था सुरु भएपछि त्यसको प्रत्यक्ष असर नेपालको अन्तराष्ट्रिय व्यापारमा पनि देखिएको छ । विशेषगरी बहुमूल्य धातुका बस्तुको आयात र तिनको मूल्यमा प्रभाव परेको हो ।

रुस र युक्रेन तनावले अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै यसको असर नेपालमा पनि परेको हो । नेपालमा बिहीबार एकैदिन सुनको मूल्य तोलामा २५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँ पुग्यो ।

यद्यपी, सुनको भाउको यो नै नयाँ उचाई भने होइन । करिब डेढ वर्षअघि सुनको भाउ १ तोलामा १ लाख नाघेको थियो । तर, अन्तराष्ट्रिय स्तरमा शक्ति राष्ट्रहरुबीच पुनः शक्ति संघर्ष चुलिएपछि सुन लगायतका गहनाको भाउको मूल्य बढेको हो ।

‘रुस र युक्रेनबीच अहिले भिडन्तकै स्थिती छ, अन्तराष्ट्रिय स्तरमा शक्ति राष्ट्रहरुबीच को बलियो भन्ने लडाईको असर सुनको भाउमा परेको छ’ सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियशरत्न शाक्य भन्छन् । बुधबार तोलाको ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक २५ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार रुपैयाँ पुगेको छ ।

तेजाबी सुनको भाउ पनि तोलामा २५ सय रुपैयाँले नै बढेर प्रतितोला ९८ हजार ५ सयमा कारोबार भईरहेको छ । 

आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर तोलाको १३ सय ५५ रुपैयाँ पुगेको छ ।

अझै भाउ बढ्छ

अन्तराष्ट्रिय बजारमै सुनको भाउ क्रमशः बढिरहेको छ । अहिलेको अवस्थाले तत्कालै सुनको भाउ घट्ने संकेत गरेको छैन । 

रुस र युक्रेनबीच सुरु भएको युद्धको अवस्था बढ्दै गए सुनको मूल्य अझै बढ्नेछ ।

अमेरिका सहितका नेटोमा आवद्ध शक्ति राष्ट्रहरुले युक्रेनलाई समर्थन जनाएका छन् । युक्रेन नेटोतिर ढल्किएपछि रुस आक्रोशित बनेको हो । रुसलाई विश्व व्यापारको महारथी मानिने चीनले भित्रि सहयोग गरिरहेको अनुमान हुने गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved