विदाको नयाँ प्रयोग: हप्तामा तीन दिन छुट्टी, कर्मचारीलाई १०० प्रतिशत तलब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2022 | 09:36:36 AM मा प्रकाशित

laxmi  sunrise bank

यूकेमा हजारौँ कर्मचारीहरूले परीक्षण स्वरूप सोमवारबाट हप्तामा चार दिन काम गर्न सुरु गरेका छन्। काम गर्ने ढाँचाबारे विश्वकै सबैभन्दा ठूलो ठानिएको परीक्षणमा आगामी छ महिनाका लागि ७० कम्पनीले भाग लिएका छन्।

ज्याला नघटाई हप्तामा काम गर्ने दिन कम गर्नेबारे अभियान सञ्चालन गरिरहेको समूहले यस्तो परीक्षण अभियान चालेको हो।

कर्मचारीहरूलाई बढी उत्पादनशील बनाउने लक्ष्य राखिएको यो परीक्षणकालभरि साधारण समयको तुलनामा ८० प्रतिशत मात्रै काम गरे पनि कर्मचारीले शतप्रतिशत ज्याला पाउँछन्।

अटोनोमी नामको थिङ्क ट्याङ्कसँगको सहकार्यमा अक्सफर्ड तथा क्याम्ब्रिज विश्वविद्यालयका प्राज्ञहरू र अमेरिकाको बोस्टन कलेजका विज्ञहरूले यो परीक्षणको व्यवस्थापन गरिरहेका छन्।

परीक्षणमा सफ्टवेयर बनाउने कम्पनीहरूदेखि कामदार भर्ती गर्ने कार्यालयहरू, स्थानीय माछा पसलहरू र पसलहरू सहभागी छन्।

उत्तरी लन्डनस्थित टोटेनहमको प्रेसर ड्रप ब्रुअरीका सह-संस्थापक साम स्मिथले फरक काम गर्ने ढाँचाको प्रयास गर्न आफ्नो कम्पनीलाई "राम्रो समय भएको" अनुभव सुनाए।

"महामारीले हामीलाई कामबारे सोच्न बाध्य बनायो र मानिसहरूले आफ्नो जीवन कसरी व्यवस्थापन गर्छन् भन्नेबारे पनि," उनले भने।

"हाम्रा कर्मचारीहरूको जीवनमा सुधार गर्न हामीले यसो गरिरहेका छौँ र मानिसहरूको मानसिक स्वास्थ्य र भलाइका लागि विश्वभरि भइरहेका अग्रगामी परिवर्तनमा सहभागी भएका छौँ।"

यो परीक्षणकालमा देखिएको चुनौती उनलाई एकदमै सामान्य छ। उनको नौ जनाको टोलीले यसअघि पाँच दिनमा जति मात्राका बियर उत्पादन र प्याकिङ गर्थे अब त्यही काम चार दिनमा सक्नुपर्ने हुन्छ।

"यो सबै तपाईँले कसरी समयको प्रयोग गर्नुहुन्छ भन्ने कुरा हो," उनले भने।

"उत्पादनशील हुने कुरा अहिले गरिरहेकै काम छिटोछिटो गर्ने भन्न खोजेको होइन। यो भनेको अर्को दिनको लागि राम्रोसँग तयार हुने भन्न खोजिएको हुनसक्छ।"

काममा अझ केन्द्रित

उक्त कम्पनीलाई कार्यालय सञ्चालनमा सहयोग गरिरहेकी क्लेयर डोहेर्टीले परीक्षण "रोमाञ्चक" भएको र काम गर्ने शैलीमा "प्राकृतिक प्रगति" को एक अङ्ग भएको बताइन्।

चार वर्ष काम गर्दा पनि उनले हप्तामा एक दिन बिदा थपेर पनि प्रभावकारी रूपमा काम गर्न सकिनेतर्फ ध्यान नगएको उनले बताइन्।

"अब इन्टरनेट हेरेर बस्ने अतिरिक्त समय पनि म काममै केन्द्रित गर्छु किनभने आफूसँग भएको समयमा हामीले काम सक्नुपर्ने हुन्छ," उनले भनिन्।

पसलमा काम गर्ने क्रिग कारमाइकलले बिदाको दिन थपिँदा आफूलाई थप मेहनतका साथ काम थप गर्न प्रोत्साहन मिल्ने बताए।

"थप एक दिन बिदाको मजा लिन मैले चार दिनमा काम सक्नुपर्छ। मलाई यो राम्रो प्रोत्साहन लागेको छ," उनले भने।

विश्वव्यापी रूपमा सुरु गरिएको यो परीक्षणमा यूकेका ३,००० कर्मचारीहरू सहभागी छन्। यस्तै तर केही सानो आकारका परीक्षणहरू अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्यूजील्यान्ड र आयरल्यान्डमा पनि चलिरहेका छन्।

"यूकेको परीक्षण ऐतिहासिक हो," बोस्टन कलेजका अर्थशास्त्री र समाजशास्त्री एवम् चार कार्यालय दिनबारे विश्वव्यापी परियोजनाका प्रमुख अनुसन्धाता जुलिएट स्करले भनिन्।

उनका अनुसार कार्य गर्ने दिन घटाउने कुरा सबै व्यक्ति र पेसामा लागु नहुन पनि सक्छ। उनका अनुसार स्वास्थ्य र शिक्षा क्षेत्रमा यसको कार्यान्वयन गर्न कठिन छ।

उनका अनुसार उत्पादनशीलता १० प्रतिशत मात्रै बढाउन सकियो भने अर्थतन्त्रमा ठूलो सहयोग पुग्छ, पर्याप्त बिदाले मानिसहरू बिरामी कम पर्ने, अन्य बिदा कम लिने मात्र नभई नयाँ कर्मचारीहरूलाई पनि आकर्षित गर्न सकिन्छ।

स्वतन्त्र अर्थशास्त्री जुलियन जेसोफले भने आफू परीक्षणको पक्षमा भए पनि त्यसले समग्र अर्थतन्त्रमा राम्रो नतिजा दिनेमा "शङ्का" भएको बताएका छन्।

"तपाईँ हरेक दिन २५ प्रतिशत थप उत्पादनशील हुनपर्छ" उनले भने।

"अरू पनि केही क्षेत्र छन् जहाँ हप्तामा चार दिन विकल्प देखिँदैन। डाक्टरहरू अहिले पनि बिरामीहरूलाई पर्याप्त समय दिन सकिरहेका छैनन्। उनीहरूले कसरी दैनिक २५ प्रतिशत बढी बिरामीहरू हेर्ने?" उनको प्रश्न छ।

'उत्पादनशीलता वृद्धि'

एक्सेरस्थित एक निर्माण क्षेत्रमा कामदार भर्ती गर्दै आएको कम्पनी गर्लिङ जोन्सले ज्यानुअरीबाटै चार कार्य दिन सुरु गरेको छ।

यो कम्पनीले अहिलेको परीक्षणमा पनि सहभागिता जनाएको छ।

"उत्पादनशीलता मात्रै बढेको छैन, नाफा पनि बढेको छ" कम्पनीका संस्थापक सिमोन गर्लिङले भने।

"हाम्रा सबै कामहरू फोन कल, बैठकहरू, अन्तर्वार्ताहरूको सङ्ख्या बढेको छ। सबै जनाले कम समयमा धेरै काम गरिरहेका छन्," उनले थपे।

यसबाट कर्मचारीहरू पनि खुसी छन्। एलेन एन्डरसन भन्छिन् उनी छुट्टीको दिन आराम गरेर बिताउँछिन्।

"म साँच्चिकै उत्प्रेरित भएकी छु। मैले याद गरेको कुरा निद्रा हो। म राम्रोसँग निदाएकी छु र उठ्न सजिलो भएको छ," उनले भनिन्।

उनका एक सहकर्मीले आफूले थपिएको बिदा छोरीसँग बिताउने गरेको सुनाए। जसले गर्दा उनकी छोरीको लागि नर्सरीमा हुने खर्च कम भएको छ।

कोरोना महामारीले काम गर्ने शैलीमा परिवर्तन ल्याएका कारण पनि व्यवसायहरूलाई नयाँ काम गर्ने शैलीमा अभ्यास गर्न सहज भएको छ।

"करिब तीन वर्षअघि नै चार दिन सुरु गर्ने भाग्यमानीमध्ये म थिएँ, जसले जीवनमा परिवर्तन ल्यायो," गर्लिङ भन्छन्।

"महामारीबाट काममा फर्किदा हामीले धेरै अनुसन्धान गर्‍यौँ र मैले यसको कुनै पनि घाटा देखिनँ।" -बिबिसीबाट

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved