मोदीसँगै उदाएका खर्बपति अडानीले ४ दिनमै गुमाए ७१ खर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2023 | 03:09:19 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाको एक कम्पनीले सार्वजनिक गरेको प्रतिवेदनका कारण भारतका खर्बपति गौतम अडानीले चार दिनमा ७१ खर्ब गुमाएका छन्। अमेरिकाको अनुसन्धान कम्पनी  'हिडेनबर्ग रिसर्च' को १०० पृष्ठको एक प्रतिवेदन सार्वजनिक भएपछि अडानी ग्रुपका कम्पनीहरुको सेयर मूल्यमा भारी गिरावट आउँदा गौतम अडानीले चार दिनमा ७१ खर्ब सम्पति गुमाएका हुन्।

भारतको टाइम्स अफ इन्डियाका अनुसार आज सोमबार पनि अडानी ग्रुपका अधिकांश कम्पनीको शेयर मूल्यमा भारी गिरावट आएको छ । हिडेनबर्गको प्रतिवेदनले गरेका खुलासा बारे अडानीले ४१३ पृष्ठको प्रष्टीकरण सर्वाजनिक गरेका थिए । लगानीकर्ताको मनोबल उकास्न ग्रुपले सो प्रष्टीकरण सार्वजनिक गरेपनि बजारमा त्यसको खासै असर नदेखिएको र शेयर मूल्य घट्ने क्रम जारी नै रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

हिडेनबर्गको प्रतिवेदनले अडानी समुहको संस्थागत सुशासन माथि प्रश्न उठाएको छ । नियम विपरित ठूलो कर्जा लिएको,  कर छल्ने गरेको, कानुन नमानेको , कम्पनीले प्रकाशन गर्ने वित्तीय विवरण तोडमोड गरेको, लगानीकर्तालाई सहि सूचना नदिने गरेको खुलासा प्रतिवेदनले गरेको थियो । तर अडानी ग्रुपले भने जवाफमा आफुले सबै नियम कानुनको पालना गरेको, संस्थागत सुशासन अब्बल रहेको, कर छली नगरेको, दाबी गर्दै हिडेनबर्गको प्रतिवेदन सम्पूर्ण भारतमाथिको आक्रमण भएको प्रतिक्रिया दिएको थियो।

उक्त फर्मको प्रतिवेदनका कारण अडानी समुहको कम्पनीहरुको शेयरमा आएको गिरावटका कारण संस्थागत लगानीकर्ता एलआईसीको मात्रै झन्डै एक हजार करोड रुपैयाँ डुबेको भारतीय संचारमाध्यम आजतकले उल्लेख गरेको छ।

अडानी समुहको अडानी इन्टरप्राइजेजको २० अर्बको एफपिओ निष्काशन हुनु ठिक अगाडी  हिडेनबर्गको प्रतिवेदन आएको छ ।यसले कम्पनीको एफपिओ बिक्री हुनेमा शंका पैदा गरेको छ । यद्यपि अडानी समुहले भने पूर्वनिर्धारित तालिका अनुसार नै एफपिओ निष्काशन गरिरहेको छ । दोस्रो दिनसम्म २ प्रतिशत मात्र एफपिओ बिक्री भएको बिजनेशटुडेले जनाएको छ । 

गौतम अडानी भारतको गुजरातमा सन् १९६२ मा जन्मिएका हुन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निकट रहेको मानिन्छन् । मोदी प्रधानमन्त्री भएसँगै अडानी चमत्कारिक ढंगले भारतमा अगाडी बढेका व्यवसायी हुन्। उनी एसियाका तेस्रो धनी व्यक्ति हुन् । उनी विश्वको शिर्ष १० जना धनी व्यक्तिको सूचीमा पर्दछन् । उनी अध्यक्ष रहेको अडानी ग्रुप अन्तर्गत हाल उर्जा, यातायात , पूर्वाधार क्षेत्रका आधा दर्जन ठूला कम्पनी छन् । उनको रियल स्टेटमा पनि लगानी रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved