सुडानको लागि कसरी अभिशाप बन्यो आफ्नै विशाल सुन भण्डार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2023 | 09:08:20 AM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वी अफ्रिकाको सबैभन्दा ठुलो देश सुडानमा पछिल्लो हप्ता मच्चिएको उथलपुथलको कारण अहिलेसम्म करिव १८० जनाको मृत्यु भएको छ भने ११०० भन्दा बढी मानिस घाइते भएका छन्। 

कयौँ अन्तर्र्राष्ट्रिय संस्थाहरुकाअनुसार सुडानको अर्धसैनिक बल 'र्यापिड सपोर्ट फोर्स' अर्थात आरएसएफ र त्यहाँको सेनाबीच लडाई  हुँदा यत्तिको ठूलो संख्यामा मानिसहरुको मृत्यु तथा घाइते भएका छन्। दुवै पक्षले सुडानको राजधानी खार्तुमलाई केन्द्रविन्दुमा राखेर लडाईं लड्दै आएका छन्।  

जब अप्रिल २०१९ मा ओमर अल बशीरको सरकार ढल्यो। त्यस दिन यता सुडानमा स्थिरता आउन सकेको छैन। वर्तमान संघर्ष, तनाव र राजनीतिक संघर्षको पछाडि एक लामो कथा रहेको छ। 

हिंसाको पछिल्लो घटनामा दुई मुख्य सैन्य नेताहरु बीच सम्बादको कमि देखिएको छ। जसकाकारण सुडानका नागरिकहरुको पुनर्बहालीको सम्भावना झनै कठिन हुँदै आएको छ। आरएसएफ प्रमुख मोहम्मद हमदान दगालो जसलाई हेमेदतीको नामले पनि चिनिन्छ भने सुडानका राष्ट्रपतिको हैसियतमा रहेका सेना प्रमुख जनरल अब्देल फतेह अल बुर्हान हुन्।

तर यस संघर्षको कयौँ कारणहरुमा सबैभन्दा ठूलो कारण ुसुनु रहेको जानकार बताउँछन्। पुरै अफ्रिकी महादीपमा सबैभन्दा ठूलो सुनको भण्डार सुडानमा रहेको छ। त्यहाँको सरकारको तथ्यांकअनुसार सन् २०२२ मा मात्रै सुडानले ४१.८ टन सुन निर्यात गरेर २.५ अर्ब डलरको आम्दानी गरेको थियो। 

देशको सबैभन्दा नाफा हुने सुनको भण्डारमा दगालो अर्थात हेमेदती र आरएसएफ मिलिसियाको कब्जा रहेको छ। यी दुवै समूह आफ्नो गतिविधि सञ्चालनका लागि यस सुनको प्रयोग गर्दछन्। दुवैले सुन छिमेकी मुलुकमा पनि निर्यात गर्ने गर्दछन्। 

सुडान संकटको बारेमा नजिकबाट जानकारी राख्ने जानकार शेविट वोल्डमाइकलले भनेका छन्, 'आर्थिक संकटसँग लडिरहेको देशका लागि सुनबाट हुने आम्दानी मुख्य स्रोत हो र यो संघर्षको समय रणनीतिक रुपमा पनि यसको महत्त्व विशेष छ।'

उनकाअनुसार लामो समयदेखि यो आरएसएफका लागि प्रमुख स्रोत बन्दै आएको छ र त्यहाँका सेनाले यसलाई शंकाको दृष्टिकोणले हेर्दै आएको छ।

अन्धाधुन्ध सुनको उत्खननका कारण भण्डार आसपासका क्षेत्रमा धेरै नकारात्मक असर परेको छ। त्यस्तै खानीको उत्खनन गर्ने क्रममा ठुलो संख्यामा मानिसहरुको मृत्यु भएको छ भने मर्करी र आर्सेनिकले खानी आसपास क्षेत्रलाई थप क्षति पुर्याएको छ। 

तर कसरी सुन सुडानको ताजा हिंसाको एक प्रमुख रणनीतिक कारण बन्न पुग्यो भन्ने प्रश्न आफैँमा महत्त्वपूर्ण विषय हो। 

सुडान र सुन अभिशाप

सन् १९६५ मा सुडान बेलायत शासनबाट मुक्त भयो। त्यसयता सुडानको एकीकरणको प्रक्रिया सुरु भयो। जुन उतार चढावले भरिपूर्ण रह्यो। यस बीच सुडानमा तेल भण्डार भएको पत्ता लाग्यो र त्यहाँको मुख्य वित्तीय स्रोत बन्यो।  

१९८० को दशकमा मध्ये देशको दक्षिणी क्षेत्रमा स्वतन्त्रताको लागि संघर्ष सुरु भयो। कडा संघर्ष पश्चात सन् २०११ मा रिपब्लिक अफ साउथ सुडान बन्न पुग्यो र यस संघर्षमा युद्ध विराम लाग्यो। 

दक्षिणी सुडान बन्ने वित्तिकै कच्चा तेलको निर्यातबाट हुने दुई तिहाइ आम्दानी सुडानको हातबाट खोसियो। साधन स्रोतको सिमितताका कारण सुडानमा उपस्थित विभिन्न समूह, हतियारधारी गुट र मिलिसियाबीच तनाव बढ्यो। 

सन् २०१२ मा सुडानको उत्तरी क्षेत्र स्थित जेबेल अमिरु क्षेत्रमा सुनको विशाल भण्डार भएको पत्ता लाग्यो। जुन सुडानको आर्थिक अवस्था सुधार्नलाई पर्याप्त थियो। टफट्स विश्वविद्यालय सुडानसँग जोडिएका एक्स्पर्ट एलेक्स डी वालले भनेका छन्, 'यसलाई इश्वरको कल्याणको रुपमा लिइयो, दक्षिण सुडानका कारण सुडानले जे गुमायो, त्यसको भरपाइ हुन सक्थ्यो।'

उनी भन्छन, 'तर सुनको खोजी छिट्टै अभिशाप बन्यो, यसमा नियन्त्रणको विषयलाई लिएर विभिन्न पक्षहरुबीच लडाईं सुरु भयो र सुनको अनियन्त्रित लुट सुरु भयो।'

डी वालका अनुसार सुनको खजानामा आफ्नो भाग्य परीक्षणका लागि हजारौँ मानिसको भिड यस क्षेत्रमा ओइरिए। केही मानिसलाई सुन हात लाग्यो र उनीहरु रातारात धनी भए भने केही त्यही खानीमा भासिएर ज्यान गुमाए भने केहीको विषालु आर्सेनिक र मर्करीको कारण मृत्यु भयो। 

सन् २०२१ मा वेष्ट कोर्ड़ोफान प्राप्तमा सुनको एक खानी भासिँदा ३१ जनाको मृत्यु भएको थियो भने गत मार्चमा पनि अर्को सुनको खानी भासिँन्दा थप १४ जनाको मृत्यु भएको थियो। 

सुडानमा सुनको खानी ४० हजारवटा क्षेत्रमा रहेको छ। सुडानको १३ प्रदेशमा सुनको उत्खनन गर्ने ६० कम्पनी छन्। जसमा  १५ कम्पनी मात्र दक्षिणी कोर्डाेफानमा छन्। यी कम्पनीहरु वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्दैनन्। 

अल बशीरको समर्थक एक चर्चित समूह नेचा मुसा हलीलले एक विशेष जनजातिको सामुहिक नरसंहार गरेर त्यो क्षेत्र नियन्त्रणमा लिएको थियो। उक्त नरसंहारमा त्यस क्षेत्रका ८०० मारिएको अन्तर्राष्ट्रिय एजेन्सीको दावी छ।  

हलीलले सुनको उत्खनन गर्ने र सुन निर्यात गर्ने गर्दथ्यो। यो समूहले खार्तुम सरकारलाई मात्र नभइ अन्य व्यक्ति तथा समूहलाई पनि सुन बिक्री गर्दथ्यो। यद्यपि सन् २०१७ मा मानवता विरोधी आरोपमा लिल हलीलको पतन भयो। यस पश्चात उक्त क्षेत्र आरएसएफको नेता हेमेदतीको नियन्त्रणमा रहेको छ। यही उपलब्धीले हेमेदती आजको अवस्थमा पुगेको डी वालको प्रतिवेदनमा उल्लेख छ। 

लोकतन्त्रको बाटो 

सन् २०१९ मा सेनाद्वारा भएको सत्ता कब्जाको कारण ओमर अल बशीरको सरकार ढलेपछि सुडान दुई प्रमुख मानिस हेमेदती र अल बुरहानको हातमा गयो।  आरएसएफसँग ७० हजार हतियारधारी मानिस र १० हजार पिकअप ट्रक रहेको बताइन्छ। र यस शक्तिको आडमा हेमेदतीले सुडानको राजधानी खार्तुम नियन्त्रणमा लिएको दावी गर्दै आएको छ। 

सन् २०२१ मा दुवै नेताले वार्ता गर्नमा सहमति जनाए। यस सहमतिले एक नागरिक सरकार गठनको बाटो बन्द हुनेवाला थियो। तर यी दुवै व्यक्तिबीचको व्यक्तिगत इगो र लडाईंका कारण यो सम्भव भएन। 

बशीरको ३० वर्षे शासन भत्काउन हेमेदती र बुर्हानले मिलेर काम गरे । सत्ताबाट बशीरको बर्खास्ती भएपछि सुनको भण्डारमा नियन्त्रण राखेर त्यसको वित्तीय स्रोतको आडमा को नेता बन्ने भन्ने विषयको लडाईं अहिले सुडानमा अर्को विर्द्रोह सुरु भएको जानकार बताउँछन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved