
नेपालका कम्युनिष्ट पार्टी निकट किसान संगठनहरुले भारतको संसदमा कोरिएको अखण्ड भारतको तस्विरमा लुम्बिनी र कपिलवस्तु पनि समेटिएको विषयलाई लिएर आपत्ति जनाएको छ। उनीहरुले आज एक विज्ञप्ती जारी गर्दै नेपालका प्रसिद्ध तथा ऐतिहासिक तीर्थस्थलहरू लुम्बिनी र कपिलवस्तुलाई अखण्ड भारतको तस्विरमा राखिएको प्रति आपत्ति जनाएका छन्।
नेपालका ६ कम्युनिस्ट पार्टी निकट किसान संगठनहरू अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन, अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्षहरुले यस सम्बन्धमा संयुक्त विज्ञप्ती जारी गरेका हुन्।
भारतको नयाँ संसद भवनको भित्तामा विश्व सम्पदा सूचीमा समावेश भएका नेपालका प्रसिद्ध तथा ऐतिहासिक तीर्थस्थलहरू लुम्बिनी र कपिलवस्तु समेत समेटिएको ‘अखण्ड भारत’ नामको भित्ते चित्र (मुरल) ले नेपालको सार्वभौमिक अखण्डता, राष्ट्रिय स्वाधीनता तथा नेपालको स्वाभीमानमाथि अपूर्व आँच पुर्याएको विज्ञप्तीमा उल्लेख छ।
भारतसंग उक्त भित्ते चित्रबाट नेपालका गौरवमय स्थलहरू लुम्बिनी र कपिलवस्तुसहितको नेपाली भूमि तत्काल हटाई नेपालको सार्वभौमिक अखण्डता, स्वाधीना र स्वतन्त्रताको सम्मान गर्न माग गरिएको छ।
नेपाल सरकारलाई समेत यसबारे आफ्नो स्पष्ट धारणा नेपाल सरकार समक्ष राख्न माग गर्दै किसान संगठनका अध्यक्षहरुले यो कदम नसच्चिए देशब्यापी आन्दोलन गर्ने घोषणा समेत गरेका छन्।