
बंगलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । चालू आर्थिक वर्ष २०२३ जुलाई देखि २०२४ जुन सम्ममा बंगलादेशको अर्थतन्त्र बढ्ने प्रक्षेपण गरिएको छ ।
गत आर्थिक वर्षको वृद्धिदर ५.७८ प्रतिशतको तुलनामा कुल गार्हस्थ्य उत्पादनको यो वृद्धि सामान्य हो भने अन्तरराष्ट्रिय मुद्रा कोष(आईएमएफ) को ५.७ प्रतिशत र विश्व बैकको ५.६ प्रतिशतको पूर्वानुमानसँग नजिक रहेको समाचार एजेन्सी बीएसएसले उल्लेख गरेको छ ।
यसैबीच, चालू आवको पहिलो सात महिनाको तथ्यांकमा आधारित अनुमानअनुसार प्रतिव्यक्ति आयको पूर्वानुमान अघिल्लो वर्षको २ हजार ७४९ डलरबाट बढेर चालू आर्थिक वर्षमा २ हजार ७८४ डलर पुगेको छ ।केहि वर्षअघिसम्म बंगलादेशको प्रतिव्यक्ति आय १ हजार ७५० डलर रहेको थियो ।
हालको मूल्यमा बंगलादेशको जीडीपी ४५९ अर्ब डलर रहेको छ, जुन अघिल्लो आर्थिक वर्षमा ४५२ अर्ब डलर थियो । तथ्यांकले कृषि र उद्योगमा कमी देखाएको छ भने सेवामा थोरै वृद्धि भएको देखाएको छ ।
बंगलादेशको आर्थिक वृद्धिमा उद्योग क्षेत्रको योगदान महत्वपूर्ण छ ।त्यहाँको आर्थिक सफलतामा रेडिमेड कपडा उद्योगको सबैभन्दा ठूलो भूमिका रहेको मानिन्छ । बंगलादेशको कपडा उद्योगले नै त्यहाँ सबैभन्दा बढी रोजगारी सृजना गरेका छन् ।
अहिले बंगलादेशले नपत्याउँदो तरिकाबाट हात पारेको सफलतालाई विश्व बैंक, आईएमएफ लगायतले पनि प्रशंसा गरेका छन् । एजेन्सी