सरकारले आगामी असार ७ गते प्रतिनिधि सभामार्फत् आगामी आर्थिक वर्ष २०८१/ ०८२ को बजेट पारित गर्ने तयारी गरेको छ ।
संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ ।
अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते आगामी आवका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। सो बजेटमाथि सामान्य छलफल भने यसअघि नै सकिएको छ ।
उता मंगलबारदेखि मन्त्रालयगत बजेटमाथि छलफल शुरु भएको छ । चारवटा मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय छन् ।
असार ७ गतेसम्म बजेटको शीर्षकगत छलफल चल्नेछ । सोही दिन बजेट पारित गर्ने संसदीय क्यालेन्डरमा उल्लेख छ ।