
भारतीय सेयर बजार नियामक सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (सेबी) ले शेयर बजारमा गैरकानूनी ढंगबाट चलखेल गरेको आरोपमा केहि व्यक्तिसहित ६ वटा फर्ममाथि प्रतिबन्ध लगाएको छ ।
सेबीले आर्थिक टेलिभिजन च्यानल ‘सीएनबीसी आवाज’ को शेयर बजार सम्बन्धी कार्यक्रमका पूर्वप्रस्तोता(एकंर) प्रदीप पाण्ड्या र धितोपत्र बजार सम्बद्ध अन्य सात वटा संस्थालाई धितोपत्र बजारमा ठगी कारोबार गरेको जरिवाना गरेको दी प्रिन्ट ले आफ्नो समाचारमा उल्लेख गरेको छ ।पाण्ड्या,सन् २०२१को अगस्टसम्म बिजनेस न्यूज च्यानल सीएनबीसी आवाजमा धितोपत्र बजार सम्बद्ध विभिन्न कार्यक्रमका प्रस्तोताको रुपमा कार्यरत थिए ।
पाण्ड्या बाहेक सेबीले अल्पेश फुरिया, मनिष फुरिया, अल्पा फुरिया, अल्पेश वासन्जी फुरिया एचयुएफ, मनिष वी फुरिया एचयूएफ, महान इन्भेष्टमेन्ट र तोशी ट्रेडमाथि पनि प्रतिबन्ध लगाएको छ । पाण्ड्या अगस्त २०२१ सम्म सीएनबीसी आवाजका विभिन्न कार्यक्रममा होस्ट तथा सह–होस्ट थिए । जबकि अल्पेश फुरिया टेलिभिजन च्यानलमा अतिथि वा बाह्य विशेषज्ञको रुपमा सहभागी हुृने गरेका थिए । उनले आफ्नो ट्विटर ह्यान्डलमा विभिन्न स्टक खरिदबिक्रीका लागि सर्वसाधारणलाई सिफारिस गर्ने गरेका थिए ।
प्रदिप पाण्ड्याले ‘पाण्ड्या का फण्डा’ नामक टिभी कार्यक्रममा दिएका स्टक सिफारिसहरु र अल्पेश फुरियाले सन् २०१९ नोभेम्बरदेखि २०२१ जनवरीसम्मको अवधिमा सञ्चालन गरेका ‘बाई टुडे–सेल टुमोरो’ ट्रेडहरु र इन्ट्राडे ट्रेडहरु बीच उच्च सम्बन्ध रहेको पाइएको सेबीले बताएको छ ।
सीएनबीसी आवाजको एकंरको रुपमा काम गर्दा पाण्ड्या र अतिथिको रुपमा सहभागी अल्पेश फुरियाले आगामी स्टक सिफारिसहरु सम्बन्धी गोप्य जानकारी एकअर्कालाई साझा गर्ने गरेको सेबीले जारी गरेको ५५ पृष्ठको आदेशमा उल्लेख छ ।
सेबीका अनुसार, यस्तो ती व्यक्तिहरुको आचरणले भित्री जानकारी दिएर फाइदा उठाउने मात्र नभई व्यक्तिगत लाभको लागि धोकाधडी गर्ने दृष्टिकोण पनि झल्काउँछ । २०२० को डिसेम्बरमा, नेशनल स्टक एक्सचेन्ज(एनएसई) ले एक प्रतिवेदनमा अल्पेश फुरिया र सम्बन्धित संस्थाहरूको व्यापारिक गतिविधिहरूको विश्लेषण गरेको थियो। त्यसपछि, सेबीले नोभेम्बर, २०२० र जनवरी, २०२१ को बीचमा यस विषयमा थप विश्लेषण गरेको थियो।
सेबीले पाण्ड्या, अल्पेश फुरिया र अन्य ६ संस्थालाई धितोपत्र बजारमा प्रवेश गर्न रोक लगाएको छ । यससँगै धितोपत्रको खरिदबिक्री वा अन्य कारोबार गर्न, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा वा धितोपत्र बजारसँग कुनै पनि हिसाबले आबद्ध हुन पाँच वर्षसम्म प्रतिबन्ध लगाइएको छ ।
सेबीले पाण्ड्या र फुरियालाई जनही १ करोड भारु र बाँकी ६ संस्थालाई १०/१० लाख रुपैयाँका दरले जरिवाना पनि गरेको छ । दी प्रिन्टबाट