विश्व बजारमा फेरि बढ्यो कच्चा तेलको मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2024 | 10:06:22 AM मा प्रकाशित

विश्व बजारमा कच्चा तेलको भाउ पुनः बढेको छ । दुई साताको अवधिमा एक ब्यारेलमै औसतमा १० प्रतिशतले कच्चा तेलको भाउ वृद्धि भएको छ ।

जेठ २२ गते प्रतिब्यारेल ७७.५२ डलर रहेको ब्रेन्ट कच्चा तेलको मूल्य ८१ डलर नाघेको छ । सोही अवधिमा डब्लूटीआई कच्चा तेलको भाउ ७३.२५ बाट ८१.५ डलर पुगेको छ । त्यसैगरी, दुई साताको अवधिमा मुर्बान तेलको भाउ पनि प्रतिब्यारेल ७८.०६ बाट ८४.६ डलर कायम भएको छ ।

बुधबार बिहानको कारोबारमा ब्रेन्ट क्रुडको भाउ ०.०४ प्रतिशत अर्थात् ३ सेन्टले बढेर प्रतिब्यारेल ८५ डलर ३६ सेन्टमा आएको थियो । वेस्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ पनि सोही समयमा ४ सेन्ट घटेर प्रतिब्यारेल ८१ डलर ५३ सेन्टमा आएको थियो ।

गत शुक्रबार अमेरिकामा उपभोक्ता माग कमजोर रहेको प्रतिवेदन र मे महिनामा चीनमा कच्चा तेलको उत्पादन बढेको आँकडा सार्बजनिक हुँदा कच्चा तेलको भाउ घटेको थियो ।  चीन विश्वको सबैभन्दा ठुलो कच्चा तेल आयातकर्ता देश हो ।

अमेरिकाले मौज्दात बढाउन थालेसँगै मूल्य वृद्धिमा टेवा पुगेको हो । अमेरिकी पेट्रोलियम इन्स्टिच्युट (एपीआई) को तथ्यांकअनुसार एक साताको अवधिमा घरेलु मौज्दात २२ लाख ब्यारेल बढेको छ । जसले गर्दा कच्चा तेलको भाउ बढ्न पुगेको आयलप्राइस डटकमले बताएको छ ।  यो मौज्दात सन् २०२३ को मार्च यताकै उच्चतम स्तर हो । 

उता ओपेक प्लसले पनि यो वर्षको अन्त्यतिर तेलको उत्पादन थप कटौती गर्ने संकेत गरेका कारण मूल्य बढेको हुन सक्ने बजार विश्लेषकहरुले बताएका छन् ।ओपेक प्लसले सन् २०२५ सम्ममा दैनिक २.२ मिलियन ब्यारेल कच्चा तेल स्वेच्छाकारी रुपमा कटौती गर्ने घोषणा यसअघि नै गरिसकेको छ ।एजेन्सी

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved