एनभिडिया बन्यो मूल्यवान कम्पनी, माइक्रोसफ्ट र एप्पलको स्तर खस्कियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2024 | 12:21:48 PM मा प्रकाशित

अमेरिकाको सेमीकन्डक्टर चिप निर्माता कम्पनी एनभिडिया विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ। कम्पनीले बजार पूँजीकरणका आधारमा माइक्रोसफ्टलाई पछि पार्दै शिर्ष स्थान हासिल गरेको हो ।

एनभिडिया माइक्रोसफ्टलाई उछिनेर विश्वको सबैभन्दा मूल्यवान पब्लिक ट्रेडेड कम्पनी पनि बनेको छ ।यसपछि अमेरिकाकै प्रविधि कम्पनीको रुपमा परिचित बहुराष्ट्रिय कम्पनी माइक्रोसफ्ट र एप्पलको स्तर भने खस्किएको छ। यी तीन कम्पनी बीच विश्वबजारमा कडा प्रतिस्पर्धा  छ।

मंगलबार एनभिडिया कर्पको बजार पूँजीकरण ३.३४ ट्रिलियन अमेरिकी डलर पुगेको छ । उता माईक्रोसफ्टको बजार पूँजीकरण ३.३२ ट्रिलियन डलर छ । केहि दिन अघिसम्म शिर्ष स्थानमा माईक्रोसफ्ट नै थियो । यी दुई कम्पनीको बजार पूँजीकरण ०.०२ ट्रिलियन डलर फरक छ । 

कम्पनीज मार्केट क्याप डटकममा अनुसार मंगलबार, एनभिडिया कर्पको शेयरमूल्य ३.५१ प्रतिशत बढेर प्रतिकित्ता १३५.५८ डलरमा अन्तिम कारोबार भएको थियो। सो वृद्धिसँगै कम्पनीको बजार पूँजीरकण ३.३३ ट्रिलियन डलर पुगेको छ। सोहि दिन माइक्रोसफ्टको शेयरमूल्य ०.४५ प्रतिशत घटेर प्रतिकित्ता ४४६.३४ डलरमा अन्तिम कारोबार भएको थियो। 

एनभिडिया कर्पले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सफ्टवेयरका लागि आवश्यक पर्ने कम्प्युटर चिपहरू बनाउने गरेको छ। उसका उत्पादनहरूको माग बढेपछि पछिल्ला केहि वर्ष यता यसको बिक्री र नाफा पनि उकालो लागेको छ।

माइक्रोसफ्ट, गूगल, मेटा, एप्पलजस्ता ठूला प्रविधि कम्पनीहरू बीच एआई प्रविधिमा प्रतिस्पर्धा बढिरहेकाले यसको फाइदा आगामी दिनमा एनभिडियालाई पुग्ने सम्भाबना छ ।धेरै लगानीकर्ताहरूले यसको आम्दानी अझ बढ्न सक्ने विश्वास गरेका छन्। जसले गर्दा यसको शेयर मूल्य पनि बढ्दै गएको देखिन् छ।  यस वर्षको शुरुदेखि हालसम्म कम्पनीको मूल्य लगभग दोब्बरले बढेको छ ।

त्यस्तै, तेस्रोमा आईफोन निर्माता कम्पनी एप्पलको बजार पूँजीकरण ३.२९ डलर  छ।  उक्त कम्पनीको शेयर पनि १.१० प्रतिशत घटेर २१४.२९ डलर कायम भएको थियो ।यसअघि गत जून ५ मा एनभिडिया एप्पललाई पछि पार्दै विश्वको दोस्रो ठूलो मूल्यवान कम्पनी बनेको थियो।

१० मूल्यवान कम्पनीको शिर्ष स्थानमा ८ वटा त अमेरिकी कम्पनीकै आधिपत्य छ ।  जसमा अधिकांश प्रविधिमा आधारित कम्पनी छन् ।१० शिर्ष स्थानमा साउदी अराम्को पनि छ । उक्त कम्पनी भने छैटौं स्थानमा १.७८ ट्रिलियन डलरका बजार पूँजीकरणका साथ कायम छ ।एजेन्सीहरु

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved