टोयोटा प्रमुखसहित शीर्ष १२ जापानी व्यापारीलाई रुसले लगायो प्रतिबन्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2024 | 02:17:20 PM मा प्रकाशित

 जापानी अटो निर्माता कम्पनी टोयोटाका प्रमुखलगायत अन्य १२ जना वरिष्ठ जापानी व्यापारीलाई रुसले प्रतिबन्ध लगाएको छ । बुधबार रुसले प्रतिबन्ध लगाउने निर्णय गरेलगत्तै टोकियो प्रशासनले पनि उक्त कदमको विरोध गरेको छ।

रुसी विदेश मन्त्रालयले सार्वजनिक गरेको प्रतिबन्ध सूचीमा टोयोटाका अध्यक्ष अकिओ टोयोडा, राकुटेन प्रमुख हिरोशी मिकितानी र सरकारसमर्थित जापान अन्तरराष्ट्रिय सहयोग एजेन्सी(जाईका) का अध्यक्ष अकिहिको तनाकाको नाम समावेश छ। 

‘जापानले विशेष सैन्य अप्रेसनको सम्बन्धमा हाम्रो देशविरुद्ध जारी गरेको प्रतिबन्धहरूको प्रतिक्रियामा यो निर्णय गरिएको हो’ रुसी विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ। रुसले मित्सुबिसी, होन्डा र सोनीजस्ता प्रमुख जापानी कम्पनीका प्रमुखको नाम समावेश नभएको उक्त सूचीका लागि व्यक्तिहरू कसरी छानिए भनेर व्याख्या गरेको छैन।

जापानले युक्रेनलाई आर्थिक र भौतिक समर्थन प्रदान गरेको छ भने रुसी व्यक्ति र संस्थाहरूलाई प्रतिबन्ध लगाएको छ। जापानको संविधानले हतियार निर्यात गर्न प्रतिबन्ध लगाएको छ। तर, डिसेम्बरमा टोकियोले घरेलु रूपमा निर्माण गरिएको प्याट्रियट मिसाइलहरू संयुक्त राज्य अमेरिकामा निर्यात गर्न आफ्नो हतियार निर्यात नियन्त्रणलाई खुकुलो बनाएको थियो।

युक्रेनमा आपूर्ति गरिएका कारण अमेरिकामा कम भएका हवाई रक्षा मिसाइलको संख्या बढाउने उद्देश्यले जापानले यो कदम चालेको थियो।

‘रुसको यस घोषणाले जापानी कम्पनीहरूको निष्पक्ष गतिविधिलाई प्रतिबन्धित गर्नेछ जुन पूर्ण रूपमा अस्वीकार्य छ’ जापानी सरकारका प्रवक्ता योसिमासा हयासीले बुधबार भने, ‘रुस–युक्रेन द्वन्द्वका कारण हामीमा लगाइएका प्रतिबन्ध अन्तर्राष्ट्रिय कानुनको स्पष्ट रूपमा उल्लंघन हो।’ एजेन्सीहरु

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved