बंगलादेशको प्रधानमन्त्री शेख हसीनाले पदबाट राजीनामा दिएको खबर सार्वजनिक भएको छ। प्रधानमन्त्री हसिनाले राजीनामा दिए लगत्तै देश छोडेको समाचार एजेन्सी अलजजिराले बीबीसी बंगलालाई उद्धृत गर्दै समाचार लेखेको छ।
राजीनामा दिनु अघिसम्म प्रधानमन्त्री शेख हसिनाले आगजनीमा संलग्नहरू विद्यार्थी नभई आतङ्कवादी भएको बताएकी थिइन् । आइतबारको राष्ट्रिय सुरक्षा समितिको बैठकमा प्रधानमन्त्रीले अराजक तत्त्वलाई कडाइका साथ पछाडि धकेल्न सुरक्षा निकायलाई निर्देशन दिएकी थिइन् ।
उनी मुलुकमा चर्किएको आन्दोलनले उग्ररुप लिएपछि आफ्नो बहिनि शेख रेहानालाई साथ लिएर भारततर्फ भागेकि छन् । उनले राजीनामा दिएको खबर बाहिरीए लगत्तै बंगलादेशको राजधानी ढाकामा हजारौं प्रदशनकारीहरुले प्रधानमन्त्रीको आधिकारिक निवास गणभवनमाथि आक्रमण गरेका थिए ।
बंगलादेशमा आरक्षणलाई लिएर लामो समयदेखि जारी आन्दोलन सोमबार झनै भड्किएको छ। बिद्यार्थी तथा नेताहरुको बिरोध र्याली कर्फ्युकायमै रहँदा पनि नरोकिएपछि उनले पदबाट राजीनामा दिएर देश छाडेको त्यहाँका संचार माध्यमले उल्लेख गरेका छन् ।सरकारी रोजगारीमा लागू भएको कोटा प्रणालीविरुद्ध विद्यार्थीहरुले आन्दोलन थालेका थिए ।
राजनीतिक संकटका बीच त्यहाँको शेयर बजार परिसूचक ओरालो लागेको छ ।त्यहाँको शेयर बजारका प्रमुख परिसूचकहरू ओरालो लागेर तीन वर्षकै न्यून विन्दुमा पुगेका छन् । ढाका स्टक एक्सचेन्ज(डीएसई) को बेन्चमार्क परिसूचक डिसेक्स अघिल्लो दिनको तुलनामा करिब १.९६ प्रतिशतले घटेर ५ हजार २२९ विन्दुमा बन्द भएको छ ।यो मे महिना,२०२२ पछिको सबैभन्दा ठूलो गिरावट हो।
अनिश्चितताको भूमरिका बीच चटगाउँ स्टक एक्सचेन्ज (सीएसई) पनि क्यास्पी सूचक पनि १.२७ प्रतिशतले घटेर १४ हजार ९२६ बिन्दुमा बन्द भएको छ ।
आन्दोलन चर्किएपछि अदालतले कोटा प्रणालीमा ठूलो सुधार गर्ने आदेश दिएको थियो । तर आन्दोलन जारी नै रह्यो । पछिल्लो समयमा भने प्रधानमन्त्रीको राजीनामा माग गर्दै आन्दोलन चर्किएको थियो । हिंसात्मक आन्दोलनका क्रममा हालैका दिनमा त्यहाँ ९१ जनाको मृत्यु भएको छ ।
योसँगै सेनाले अन्तरिम सरकार बनाउने तयारी गरिरहेको त्यहाँको सेना प्रमुख जनरल वाकर–उज–जमानले बताएका छन् । देशबासीको नाममा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।सेना प्रमुखले प्रदर्शनकारीहरूलाई संयम अपनाउन भनिरहेका छन् ।
साथै उनले सम्बोधनका क्रममा देशले निकै कष्ट भोगिसकेको, अर्थतन्त्र मारमा परेको र कयौंको ज्यान गइसकेकाले हिंसा अहिले नै रोक्नु पर्ने पनि बताएका छन् ।
भड्कीएको हिंसामा हालसम्म कम्तीमा ९० जनाको मृत्यु भएको बताइएको छ। ढाकाको मोहाली क्षेत्रमा उपस्थित बीबीसी बंगलाका संवाददाताका अनुसार हजारौं मानिस पैदल र रिक्सामा शाहबागतर्फ लागेका छन् । र्यालीमा महिलाहरुको बाक्लो संख्या छ ।
मिरपुर इलाकामा उपस्थित अर्का संवाददाताले पनि हजारौं मानिस शाहबागतर्फ मार्च गरिरहेको बताएका छन् । सडकमा सेना तैनाथ गरिए पनि र्याली रोक्न नसकेको र दिउँसोदेखि नै सडकमा प्रहरीको उपस्थिति न्यून देखिएको छ ।
त्यहाँको सरकारले आन्दोलन चर्किएपछि बन्द गरेको इन्टरनेट सेवा हाल आएर खुला गरिएको छ।
गत महिनादेखि आन्दोलन शुरु
गत महिना, १९७१ मा बंगलादेशको स्वतन्त्रताका लागि लडेका स्वतन्त्रता सेनानीका आफन्तहरूलाई निजामती सेवाका विभिन्न जागिरहरूमा आरक्षणको माग गर्दै विद्यार्थीहरू सडकमा उत्रिए।अहिले सरकारले निर्णय गरेपछि अधिकांश कोटा फिर्ता लिए पनि विद्यार्थीले आन्दोलन जारी राखेका छन् । विद्यार्थीहरुले मृतक र घाइतेहरुलाई न्यायको माग गरेका छन् । अब उनीहरु प्रधानमन्त्री हसिनाको राजीनामा चाहन्छन् ।
तर, हसिनाका समर्थकहरुले उनको राजीनामा अस्वीकार गरेका छन् । यसअघि प्रधानमन्त्री शेख हसिनाले हिंसा अन्त्य गर्ने इच्छा व्यक्त गर्दै विद्यार्थी नेताहरूसँग बिना शर्त वार्ताको प्रस्ताव राखेका थिए ।
तर विद्यार्थी आन्दोलनकारीले उनको प्रस्ताव अस्वीकार गरेका छन् । प्रदर्शनका क्रममा धेरै प्रहरी चौकी र सरकारी भवनमा आगो लगाइएपछि प्रधानमन्त्री हसिनाले गत महिना सेनालाई व्यवस्था गर्न बोलाएकी थिइन् ।
गत महिना, जुलाईमा भएको हिंसामा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो, जसमध्ये धेरैलाई प्रहरीले गोली हानेको थियो। विगत दुई हप्तामा सुरक्षा बलहरूले गरेको ठूलो क्र्याकडाउनमा विपक्षी समर्थक र विद्यार्थी प्रदर्शनकारीहरूसहित करिब १०हजार मानिसहरूलाई हिरासतमा लिइएको बताइएको छ।
केहि वर्ष अघि श्रीलंकाका राष्ट्रपति गोताबाय राजपक्ष आर्थिक सङ्कटलाई लिएर व्यापक प्रदर्शन भएपछि रातारात भागेर माल्दिभ्स पुगेका थिए ।तर उनी केहिसमयपछि स्वदेश फर्किए । -एजेन्सीहरु
*अद्यावधिक गरिएको
*७ बजे साँझ पुन: अद्यावधिक गरिएको