अमेरिकाले बंगालदेशको अन्तरिम सरकारलाई २० करोड २० लाख डलर अतिरिक्त आर्थिक सहायता दिने भएको छ । राजधानी ढाका भ्रमणको क्रममा अमेरिकी प्रतिनिधि मण्डलले आइतबार यस्तो आश्वासन दिएका हुन् ।
उक्त प्रतिनिधिमण्डलले बंगलादेशको समावेशी आर्थिक वृद्धि, संस्थागत निर्माण र विकासमा सहयोग गर्न अमेरिका प्रतिबद्ध रहेको बताएको छ । साथै उसले थप २०२ मिलियन डलर सहायता उपलब्ध गराउने बताएको भन्दै समाचार एजेन्सी रोयटर्स ले आफ्नो वेबसाइटमा समाचार छापेको छ ।
त्यहाँ नोबेल पुरस्कार विजेता तथा अर्थशासत्री मोहमद युनुसको नेतृत्वमा अन्तरिम सरकारले काम चलाउ शासन गरिरहेको छ । गत महिना मात्रै कडा विरोध प्रदर्शनपछि प्रधानमन्त्री शेख हसिनालाई पदच्युत भएकी थिइन् ।
उनी भागेर भारत पुगेकी थिइन् । युनुसको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भएपछि आधिकारिक रुपमा अमेरिकाको खजाना विभागका उप उपसचिव ब्रेन्ट नेइमनको नेतृत्वमा छ सदस्यीय प्रतिनिधिमण्डल ढाका आइपुगेको हो।
यतिखेर निरन्तरको आन्दोलन र रसिया र युक्रेन बीचको युद्धका कारण इन्धन र खाद्यान्न आयातको खर्च बढेर त्यहाँको अर्थतन्त्र धरापमा छ ।सबल अर्थतन्त्र कायम राख्नका लागि उनले गत सातामात्र ५ अर्ब डलर सहयताका लागि विश्वसमुदायलाई एक टेलिभिजन कार्यक्रमबाट अपिल गरेका थिए । बंगलादेशले गतको वर्षमात्रै बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष(आईएमएफ) बाट ४ अर्ब ७० करोड डलरको वित्तीय उद्धार लिन खोजेको थियो ।
संयुक्त राज्य अमेरिकाको अन्तरराष्ट्रिय विकास नियोग (यूएसआईडी) ले सुशासन, सामाजिक, मानवीय र आर्थिक अवसर र लचिलोपनलाई प्रवर्द्धन गर्न ढाकामा आइतबार भएको सम्झौतामा २० करोड २० करोड डलर अनुदान उपलब्ध गराउने बताएको छ ।
युनुससँगको भेटपछि आफ्नो फेसबुक पेजमा जारी गरिएको विज्ञप्तिमा अमेरिकी दूतावासले बंगलादेशलाई थप ‘न्यायपूर्ण र समावेशी भविष्य’ को खोजीमा सहयोग गर्न तयार रहेकोमा जोड दिएको छ।
युनुसले बंगलादेशको पुनर्निर्माण गर्न, न्यायपालिका, प्रहरी र वित्तीय संस्थाहरूमा आवश्यक सुधारहरू गर्न र अघिल्लो शासनद्वारा लुटिएको सम्पत्ति फिर्ता गर्न अमेरिकी सहयोग मागेको उनको कार्यालयको विज्ञप्तिमा उल्लेख छ।
भ्रमणमा रहेका अमेरिकी प्रतिनिधिमण्डलले यी सुधारका प्रयासहरूलाई प्राविधिक र आर्थिक सहायता प्रदान गर्न वाशिङ्टनले इच्छा व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ।वार्तामा आर्थिक सुधार, लगानी, श्रम समस्या, रोहिंग्या संकट र संयुक्त राष्ट्र संघको महासभाका लागि युनुसको आगामी न्यूयोर्क भ्रमणका विषयमा पनि छलफल भएको छ ।
उक्त प्रतिनिधिमण्डलले अन्तरिम सरकारका प्रमुख सदस्यहरू, परराष्ट्र मामिला सल्लाहकार मोहम्मद तौहिद हुसेन, वित्त तथा वाणिज्य सल्लाहकार सालेहुद्दीन अहमद र बंगलादेश बैंकका गभर्नर अहसान मन्सुरसँग पनि छलफल गरेका छन् । एजेन्सीहरु