
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ( यूएसएआईडी)ले विश्वभर रहेका आफ्ना कार्यलयमा कार्यरत अमेरिकी नागरिकलाई अमेरिका फर्किन आदेश दिएको छ । यूएसएआईडीले एक सूचना जारी गर्दै आवश्यक थोरै संख्यामा कर्मचारीलाई कार्यालमा राखिने र बाँकीलाई फर्किन आदेश दिएको हो ।
यस्तै, बाँकी करारका कर्मचारीलाई शुक्रबार रातिबाट विदामा राखिने यूएसएआईडीले जनाएको छ । “शुक्रबार, फेब्रुअरी ७, २०२५, राति ११ः५९ बजे मिसन–महत्त्वपूर्ण कार्यहरू, कोर नेतृत्व र विशेषरूपमा निर्दिष्ट कार्यक्रमहरूको जिम्मेवारी पाएका निश्चित कर्मचारीबाहेक सबै विश्वमा यूएसएआईडीले प्रत्यक्ष नियुक्त गरेका कर्मचारीहरूलाई प्रशासनिक बिदामा राखिनेछ । काम गरिरहने अपेक्षा गरिएका आवश्यक कर्मचारीहरूलाई एजेन्सी नेतृत्वले बिहीबार, फेब्रुअरी ६, दिउँसो ३ बजे सम्ममा सूचीत गर्नेछ,” यूएसएआईडीद्वारा जारी सूचनामा भनिएको छ ।
अमेरिका बाहिर नियुक्त भएका कर्मचारीहरूका लागि यूएसएआईडीले मिसनहरू र विदेश मन्त्रालयको समन्वयमा आवश्यकता र कानुनअनुसार योजना तयार गरिरहेको सूचनामा उल्लेख छ ।
जसअनुसार, यूएसएआईडीले ३० दिनभित्र अमेरिका फर्किने यात्रा व्यवस्था गर्ने र आवश्यक नभएका पीएससी र आईएससीको करार समाप्त गर्ने जनाइएको छ ।