
टेस्ला र एक्स (पहिलेको ट्विटर) का मालिक एलन मस्कको नयाँ नाम परिवर्तनले फेरि सामाजिक सञ्जाल र क्रिप्टो बजार तताएको छ। मस्कले आफ्नो एक्सको डिस्प्ले नेम ‘Harry Bōlz’ राखेपछि यसको असर क्रिप्टो बजारमा समेत देखिएको छ।
मस्कको नाम परिवर्तनसँगै Harry Bolz नामको क्रिप्टोकरेन्सीको मूल्य १२७ प्रतिशतले उकालो लागेको छ। यसअघि पनि मस्कले डोजक्वाइन (Dogecoin) जस्ता क्रिप्टोकरेन्सीहरूलाई आफ्नो ट्वीटहरू मार्फत उकास्दै आएका थिए। मस्कको हरेक गतिविधिले क्रिप्टो बजारमा ठूलो प्रभाव पार्ने भएकाले यो नयाँ नाम परिवर्तनले लगानीकर्ताहरूको ध्यान तानिएको छ।
किन ‘Harry Bōlz’ ?
‘Harry Bōlz’ वास्तवमा एक हास्यात्मक शब्द हो, जसको अर्थ ‘Hairy Balls’ अर्थात् ‘रौँयुक्त बल’ भन्ने हुन्छ। मस्क प्रायः यस्तो मजाक गर्ने प्रवृत्तिका छन्, र उनले अघिल्ला वर्षहरूमा पनि विभिन्न हास्यास्पद नामहरू प्रयोग गरेका थिए।
मस्कको यो नयाँ नाम परिवर्तनलाई लिएर ट्विटर/X मा चर्चा चुलिएको छ। कतिपय प्रयोगकर्ताहरूले यसलाई क्रिप्टो बजारमा जानाजान प्रभाव पार्ने चाल भन्दै आलोचना गरेका छन् भने अरूले मस्कको हास्य शैलीलाई रमाइलो मानिरहेका छन्।
मस्कको ट्वीट वा नाम परिवर्तन जस्ता साना गतिविधिहरूले पनि बजारमा ठूलो प्रभाव पार्ने कारण भनेको उनको विशाल फलोअर्स संख्या हो। मस्कसँग १७० मिलियनभन्दा बढी फलोअर्स छन्, जसले उनको हरेक पोस्टलाई बजार संकेतका रूपमा लिन्छन्।
यसअघि पनि मस्कले आफ्नो नाम परिवर्तन वा ट्वीटबाट विभिन्न क्रिप्टोकरेन्सीहरूलाई अस्थिर बनाएका थिए। अब, ‘Harry Bōlz’ नाम कति समयसम्म टिक्ने र यसले थप असर पार्ने हो, त्यो हेर्न बाँकी छ।