परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेकी छन् । झारखण्डस्थित बाबा बैद्यनाथ धाममा दर्शन तथा पूजाआजापछि उनि दिल्ली पुगेकी हुन् ।
परराष्ट्रमन्त्री राणालाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर तथा भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्माले स्वागत गरेका छन् ।
डा राणा भारतको विदेश मन्त्रालयको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ) द्वारा मार्च १७ देखि १९ सम्म आयोजना हुने ‘राइसिना डायलग’ कार्यक्रममा सहभागी हुने छिन् । मार्च १७ मा उद्घाटन हुने यस कार्यक्रममा जलवायु परिवर्तनको असर तथा दक्षिण एशियाको रणनीतिक प्राथमिकताका विषयमा हुने दुई फरक सत्रमा मन्त्री राणाले नेपालका तर्फबाट धारणा राख्ने कार्यक्रम तय भएको छ । साथै, ‘डिजिटल पब्लिक इन्फ्रास्टक्चर कन्क्लेभ’ मा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यस क्रममा परराष्ट्रमन्त्री राणाले भारतका विदेशमन्त्री डा एस जयशङ्करसँग भेटवार्ता गर्नेछिन् । नेपाल-भारत सम्बन्ध, व्यापार, लगानी, भौतिक पूर्वाधार तथा अन्य रणनीतिक मुद्दामा छलफल हुने अनुमान गरिएको छ ।
राइसिना डायलगमा विश्वका विभिन्न देशका प्रधानमन्त्री, विदेशमन्त्री, कूटनीतिक व्यक्तित्व तथा नीति निर्माता सहभागी हुने आयोजक ओआरएफले जनाएको छ । नेपालका परराष्ट्रमन्त्रीको यस कार्यक्रममा उपस्थिति नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउने अवसरको रुपमा हेरिएको छ ।