अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेका बेला अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ)ले संकटको बेलामा अन्य देशलाई डलर आपूर्ति गर्ने स्वाप संयन्त्रलाई निरन्तरता दिनेमा युरोपेली अधिकारीहरूमा शंका बढ्दो छ।
आर्थिक संकटका समयमा अमेरिकी फेडले विदेशी केन्द्रीय बैंकहरूसँग मिलेर डलर स्वाप लाइनमार्फत डलरको तरलता प्रदान गर्दै आएको छ, जसले विश्व बजारमा स्थायित्व ल्याउने महत्वपूर्ण भूमिका खेलेको छ। तर ट्रम्प प्रशासनको नीति र अमेरिका–युरोप सम्बन्धमा आएको तनावका कारण युरोपेली केन्द्रीय बैंकका अधिकारीहरू अब त्यति भर नपर्न सकिने अनुमान गर्न थालेका छन्।
रुसप्रति ट्रम्प प्रशासनको नरम र व्यवहार, युक्रेन युद्धबारे स्पष्ट प्रतिबद्धताको अभाव, मित्र राष्ट्रहरूमा समेत लगाइएका भन्सार शुल्क र बहुपक्षीय सहयोगप्रति उदासीनताले युरोपेली अधिकारीहरूमा असहजता पैदा गरिदिएको छ।
युरोपेली केन्द्रीय बैंक (ECB) का उपाध्यक्ष लुइस डे गिन्डोसले ट्रम्प प्रशासनका नीति र अनिश्चितताले कोभिड महामारीभन्दा पनि खराब आर्थिक परिस्थिति सिर्जना गरिरहेको टिप्पणी गरेका छन्। उनले बहुपक्षीय सहयोगबाट टाढा जाने अमेरिकी नीतिले मुद्रास्फीति र ब्याजदरमा नकारात्मक प्रभाव पारेको बताए।
युरोपेली बैंकहरू विशेष रूपमा डलरमा निर्भर हुने भएकाले स्वाप लाइन स्थिर नरहे डलर तरलताको अभावले वित्तीय प्रणालीमा अस्थिरता ल्याउन सक्छ। यदि राजनीतिक हस्तक्षेपका कारण फेडको स्वतन्त्र निर्णय प्रभावित भयो भने अन्तर्राष्ट्रिय वित्तीय संयन्त्र विखण्डनमा पर्ने सम्भावना देखिएको युरोपेली अधिकारीहरूको धारणा छ।
यद्यपि हालसम्म फेडले कुनै परिवर्तनको संकेत दिएको छैन, तर बढ्दो शंका र अमेरिकी नेतृत्वप्रति अविश्वासले विश्व आर्थिक स्थायित्वमा असर पार्न सक्ने चेतावनी अर्थशास्त्रीहरू दिइरहेका छन्।