
भारत–प्रशासित कश्मीरको पाहलगाममा भएको आक्रमणपछि भारत र पाकिस्तानबीचको सम्बन्ध थप चिसिएको छ। आक्रमणमा १५ जना मुस्लिम सहित २६ जनाको ज्यान गएपछि भारतले पाकिस्तानमाथि आक्रोश पोख्दै विभिन्न कूटनीतिक तथा व्यावहारिक प्रतिवन्धहरू लगाएको छ।
जवाफी कदमस्वरूप पाकिस्तानले पनि भारतीय नागरिक, कूटनीतिक स्टाफ तथा व्यापारमा कडा प्रतिबन्ध घोषणा गरेको छ।
भारतले पाकिस्तानमाथि आक्रमणमा संलग्नता रहेको आरोप लगाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले “गुनासोराहरूलाई पृथ्वीको अन्तिम छेउसम्म खोजिने” चेतावनी दिएका छन्। भारतले इन्डस जल सम्झौता स्थगन, मुख्य भू–सीमा बन्द र व्यापार रद्द गर्दै कडा प्रतिक्रिया जनाएको छ।
पाकिस्तानले भने भारतको दाबीलाई "एकतर्फी, राजनीतिक प्रेरित, गैरजिम्मेवार र कानुनी आधारविहीन" भन्दै खारेज गरेको छ। प्रधानमन्त्री शहबाज शरिफको कार्यालयद्वारा जारी विज्ञप्तिमा “विश्वसनीय प्रमाणबिनाको आरोप मूर्खता र तर्कहीनता हो” भनिएको छ।
वागाह नाका अप्रिल ३० सम्म खुला राखिने भए पनि त्यसपछि बन्द गरिने बताइएको छ। पाकिस्तानले भारतसँगको सबै व्यापार स्थगन गर्नुका साथै भारतीय वायुयानमाथि हवाई मार्ग बन्द, भारतीय उच्चायोगको कर्मचारी संख्या घटाएर ३० मा सीमित, तथा सार्क कार्यक्रमअन्तर्गत दिइएका सबै भिसा रद्द गरेको छ।
उता, भारतीय प्रहरीले तीन संदिग्ध आक्रमणकारीहरू – हाशिम मुसा, अली भाई र आदिल थोकर – को स्केच सार्वजनिक गर्दै पक्राउमा सहयोग पुर्याउनेलाई २० लाख भारु इनाम घोषणा गरेको छ। मुसा र अलीलाई पाकिस्तानी नागरिक भनिएको छ।
क्षेत्रीय तनावसँगै सुरक्षाको कडा व्यवस्था गरिएको छ। घटना भएको दुई दिनपछि व्यापारिक गतिविधि बिस्तारै सामान्य बन्दै गएको भए पनि आम जनमानसमा भयको वातावरण कायमै रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
जम्मु–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले “कश्मीरवासीहरूलाई दोष नलगाउन” आग्रह गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। “हामी पनि ३५ वर्षदेखि पीडामा छौं,” उनले प्रतिक्रिया दिएका छन्।