के बीमा बजार ओरालो लागेको हो ? यसो भन्छन् विज्ञ

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Feb 06, 2024 | 02:05:34 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आईपुग्दा नेपालको बीमा क्षेत्रको दायरा घटेको देखिएको छ। पछिल्लो समय बीमा त्याग गर्नेको संख्या बढिरहेको छ भने कम्पनीहरुले संकलन गर्ने बीमाशुल्कमा पनि गिरावट आएको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बीमाको पहुँचमा भएको जनसख्या पनि घटेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासम्मको तुलनामा चालु आवमा बीमा गर्ने जनसंख्या  १.२ प्रतिशतले घटेको। गत वर्षको दोस्रो त्रैमाससम्म ४४.२५ प्रतिशत जनसंख्या बीमाको दायरामा आएका आएका थिए । यो दायरा म्यादी , लघुम्यादी र वैदेशिक रोजगारी जीवन बीमालेख सहितको तथ्यांक हो । तर, चालु आवको सोहि अवधिका यस्तो दायरा घटेर ४३.०५ प्रतिशतमा झरेको छ । 

यसैगरी यो अवधिमा म्यादी र लघु म्यादी  जीवन बीमालेखको संख्या पनि ओरालो लागेको छ । गत वर्षको यो अवधिमा यस्तो बीमालेख गर्नेको संख्या ७३ लाख १३ हजार १२१ जना रहेको थियो । तर, अहिले १३.२५ प्रतिशतले घटेको छ । चालु आवको दोस्रो त्रैमाससम्म यस्तो संख्या ६३ लाख ४३ हजार ९८९ वटामा झरेको छ । 

त्यस्तै, कुल जीवन बीमालेख संख्या २.५१ प्रतिशत, प्रथम जीवन बीमाशुल्क संकलन २.५५ प्रतिशतले र कुल निर्जीवन बीमाशुल्क संकलन ३.३९ प्रतिशतले ओरालो लागेको छ । 

गत आवको दोस्रो त्रैमाससम्म कुल जीवन बीमालेखको संख्या १ करोड ४१ लख ९ हजार १५० रहेको थियो । यस्तो संख्या घटेर चालु आवको सोहि अवधिमासम्म आइपुग्दा १ करोड ३७ लाख ५५ हजार ३९६ वटामा झरेको छ । यसैगरी, गत वर्षको प्रथम जीवन बीमा शुल्क वापत १४ अर्ब १७ करोड ७९ लाख रुपैयाँ संकलन भएको थियो । हाल यस्तो संकलन घटेर १३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँमा झरेको छ । 

यसैगरी कुल निर्जीवन बीमाशुल्क गत वर्षको सोहि अवधिमा २० अर्ब ८२ करोड ५ लाख रुपैयाँ संकलन भएको थियो । तर, हाल १९ अर्ब ४४ करोड १० लाख रुपैयाँमा सिमित भएको छ । 

यसैगरी प्राधिकरणका अनुसार चालु आवको दोस्रो त्रैमाससम्म ५३ हजार ११३ वटा बीमालेख सरेण्डर अर्थात बिचैमा त्याग भएको छ। ५३ हजार बीमालेख त्याग हुँदा ६ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ बराबरको बीमालेख त्याग भएको हो। गत आर्थिक वर्षको सोहि अवधिमा ४३ हजार ७१० बीमालेख त्याग भएका छन् । गत आर्थिक वर्षको दोस्रो त्रैमाससँग तुलना गरेर हेर्दा चालु आवको सोहि अवधिमा २१.५१ प्रतिशतले बीमालेख  त्याग भएको देखिन्छ । गत मंसिर महिनामा मात्रै ९ हजार ७४४ जनाले १ अर्ब ८ करोड ७० लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका थिए ।

माथि उल्लेख गरेको तथ्यांकले  पछिल्लो समय बीमा क्षेत्र ओरालो यात्रामा लागेको स्पष्ट पार्छ । 

विज्ञ भन्छन् : आर्थिक मन्दी कारण 

बीमा विज्ञहरु पनि बीमाको दयारा घटेको देखिएको स्वीकार गर्छन् । तत्कालिन बीमा समितिका अध्यक्ष चिरन्जिवी चाँपागाँई सरेण्डर बढेर बीमाको दायरामा असर गरेको बताउँछन् । सरेण्डर बढेका कारण बीमाको दायर घटेको उनको भनाई छ। उनका अनुसार नेपालको बीमाको पहुँचलाई सन्तोषजनक नै मान्नु पर्छ । यसलाई स्टेबल बनाएर लैजान उनी सुझाउछन् । तर, बढ्दो सरेण्डरले भने अवस्था गम्भिर भएको उनको भनाई छ । 

उनले देशको आर्थिक अवस्थाले पनि पछिल्लो अवस्था उब्जिएको उल्लेख गरे । उनका अनुसार आर्थिक मन्दीले मानिसहरुमा रकमको अभाव हुने गरेको र त्यस कारणले बीमा पनि गर्न नसकिने अवस्थासँगै गरिएको बीमा पनि त्याग बढेको हो । उनले रकमको अभाव हुने गरेको र त्यस कारणले बीमा पनि गर्न नसकिने अवस्थासँगै गरिएको बीमा पनि त्याग बढेको बताए। उनले भने 'पैसा भयो भने बीमा गर्ने हो । पैसा नभएपछि त गरेका बीमा पनि सरेण्डर गर्छन् ।’

यस्तै उनले सबैभन्दा पहिला सरेण्डर रोक्नुपर्नेमा जोड दिए। अन्तरराष्ट्रिय हिसाबले पनि कुनै कम्पनीको सरेण्डर २ प्रतिशत हुनुलाई नर्मल मानिने बताउँदै उनले त्यो भन्दा बढी सरेण्डर हुने कम्पनीका सीईओहरुलाई प्राधिकरणले सचेत गराउनु पर्ने बताए ।

आर्थिक शिथिलता नै कारण : प्राधिकरण

नियामक निकाय नेपाल बीमा प्राधिकरणका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक राजुरमण पौडेल पनि आर्थिक शिथिलताका कारण बीमाको दायरा घटेको बताउछन् । उनले आर्थिक शिथिलताले मानिसहरुमा क्रय क्षमता घटेको र त्यस्को असर बीमामा देखिएको उल्लेख गरे । आर्थिक सुधार हुँदै जाँदा आगामी दिनमा बीमाको दायरा बढ्ने विश्वास उनले व्यक्त गरे । 

यस्तै उनले बीमा कम्पनीहरुले आकर्षक प्रोडक्टहरुमा ध्यान नदिएको, दूर दराजमा कम्पनीका मानिसहरु नगएको लगायत कारणले दायरा घटेको उनले बताए ।  

राज्यले बीमालाई वेवास्ता गर्यो: अभिकर्ता

यता बीमा अभिकर्ताहरु भने पछिल्लो समयको आर्थिक अवस्था र राज्यले बीमालाई वेवास्ता गरेकाले बीमा क्षेत्रको बजार ओरालो लागेको बताउँछन् । पेशागत बीमा अभिकर्ता संघको अध्यक्ष केदारनाथ अधिकारीले पछिल्लो समय आर्थिक स्थित शिथिल भएकाले मानिसहरुमा पैसा नभएकाले बीमाको दायरा घटेको बताउँछन् । त्यसैगरी उनले राज्यले बीमाबारे जनतालाई सचेत नगराएका कारण पैसा भएका मानिसले पनि बीमा नगरेको दाबी गरे । 

उनले राज्यले बीमालाई पुँजी निर्माणको अंगका रुपमा लिनुपर्नेमा जोड दिए । तर, उनले देशको अधिकांश वस्तुहरुको माग पनि घटेकाले बीमा बजार घट्नुलाई सामान्य तरिकाले हेर्न सकिने उल्लेख गरे । उनले बीमा बजार अभिकर्ताको बलबुताले नै चलेको बताउँदै राज्यले पनि यस क्षेत्रको विकासकालागि आवश्यक पहल गर्नुपर्ने माग राखे ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved